काँकरभिट्टा । मेचीनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीले राजस्व संकलन प्रभावित भए राज्यलाई असर गर्छ भन्ने चेत विद्यार्थीमा भरिनु सकारात्मक सन्देश भएको बताएका छन् ।
मेची भन्सार कार्यालयले बुधवार काँकरभिट्टामा आयोजना गरेको “राजस्व संकलनमा भन्सार” विषयक वक्तृत्वकला प्रतियोगितामा उनले यस्तो बताएका हुन् ।
७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवशलाई लक्षित गरी आयोजित सो कार्यक्रमका प्रमुख अतिथि भण्डारीले भने, ‘राजस्व देश विकासको मेरुदण्ड हो भन्ने अभिव्यक्ति विद्यार्थीबाट अभिव्यक्त हुनु सुखद पक्ष हो ।’
विद्यार्थीका अन्तरनिहित प्रतिभा पहिचान गरी उजागर गर्न यी र यस्ता कार्यक्रम शिक्षा क्षेत्रबाट हुनुपर्नेमा भन्सारले अगुवाई गरेकोमा उनले आभार व्यक्त गरे ।
मेचीनगरका शिक्षा शाखा प्रमुखसमेत रहेका भण्डारीले सहभागी सबै प्रतियोगीको प्रस्तुतिकरण शैली प्रशंसायोग्य रहेको चर्चा गर्दै वक्तृत्वकलाको नियमबारे अवगत गराएका थिए ।
मेचीनगरस्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगितामा हिमालयन अङग्रेजी माविका प्रिन्सिपल जगत तामाङले कर्मचारीलाई गाली गरेर, नेताको भाषण सुनेर मात्रै उपलब्धि हासिल नहुने विचार प्रतियोगीबाट प्रकट भएको बताए ।
उनले विद्यार्थीलाई भन्सारबारे विद्यालयस्तरमै ज्ञान दिइनुपर्नेमा जोड दिँदै भन्सार अधिकृत र विद्यार्थीबीच अन्तक्र्रिया भएमा भन्सारको महत्व, राजस्व संकलनको अवस्था, सम्भावना र चुनौतिबारे विद्यार्थीको सिकाईको दायरा फराकिलो बन्ने धारणा राखे ।
कार्यक्रमका सभापति एवं आयोजक भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले दिवशको उपलक्ष्यमा विद्यालयमा भन्सारबारे सचेतना अभिवृद्धि गर्न गरिएको अन्तक्र्रिया उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरे ।
“जनतासँग भन्सार के हो भन्नेबारे कार्यक्रम गरिएको हो” उनले भने, “विद्यार्थीमा भन्सारसम्बन्धी गहिरो अध्ययन रहेको पाइयो ।” वर्तमानलाई हेरेर निराशावादी नबन्न विद्यार्थीमा ऊर्जा भर्दै प्रमुख भन्सार अधिकृत रेग्मीले भने, “सुखद भविष्य बनाउन आशावादी बन्नुपर्छ ।”
विद्यार्थीले आग्रह गरे विद्यार्थी र आफू दुवैको अनुकूल समयमा भन्सारसँग सम्बन्धित प्राप्त ज्ञान बाँड्ने उनले प्रतिबद्धता जनाए । मेची सामुदायिक सेवा केन्द्र मेचीनगरको संयोजनमा भएको प्रतियोगितामा चिरञ्जीवी कोइराला प्रथम, रमेश नेपाल द्धितीय र उषा निरौला तृतीय भए ।
कोइराला सरस्वती बाल कल्याण माविको कक्षा १२, नेपाल बाल सुवोधिनि माविको कक्षा १० र निरौला कविशिरोमणि माविको कक्षा १२ का विद्यार्थी हुन् ।
ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि मेचीनगरले प्रायोजन गरेको प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीलाई यही शुक्रवार हुने भन्सार दिवश समारोहमा पुरस्कार राशी जनही क्रमशः ५, ४ र ३ हजार रुपैयाँ र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।
सो प्रतियोगितामा सहप्राध्यापक एवं बाल जागरण मञ्च झापाका अध्यक्ष मणिकुमार लिम्बू र सहप्राध्यापक तथा सञ्चारकर्मी स्वस्तिका आचार्य सिटौलाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
सो अवसरमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपक भारती, ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि मेचीनगरका प्रमुख राजेश तिवारी, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, भन्सार कार्यालयका कर्मचारीलगायतको आतिथ्यता थियो ।
प्रतियोगितामा नगरका सामुदायिक तथा संस्थागत गरी १५ वटा विद्यालयबाट प्रतियोगीसहित प्रतिनिधिमूलकरुपमा शिक्षकहरुको उपस्थिति थियो ।
मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा प्रेस क्लव मेचीनगरका उपाध्यक्ष जीआर धितालले गरेका थिए ।