२०८१ मंसिर २५ मंगलवार

विराटनगरका युवाको भारतमा हत्या, व्यापारिक साझेदारमाथि परिवारको आशंका

विराटनगर । सीमावर्ती भारतको बथनाहामा अस्पताल सञ्चालन गर्दै आएका एक नेपाली युवा व्यवसायीको रहस्मय मृत्यु भएको छ ।

परिवारले उनको स्वाभाविक मृत्यु नभई हत्या भएको आशंका गरेका छन् । विराटनगर–१०, तीनटोलिया शान्तिचोक घर भएका रविनकुमार रायको शनिवार बथानाहा वीरपुर चोकमा हत्या भएको परिवारले आरोप लगाएका छन् ।

रायले भारतको अररिया जिल्लाअन्तर्गतको बथनाहा वीरपुर चोकमा ‘विराट दिव्य दृष्टि जनेरल हस्पिटल’ नामको अस्पताल सञ्चालन गर्दै आएका थिए । उक्त अस्पताल उनले श्रीमती रानीकुमारी रायको नाममा दर्ता गरी सञ्चालन गर्दै आएका थिए ।

अस्पतालमा अन्य केही व्यक्ति पनि साझेदार रहेको बुझिएको छ । मृतक रविनकी श्रीमती रानीकुमारीले अस्पतालमा विराटनगरकै इमरान शेख भन्ने व्यक्ति पनि साझेदार रहेको बताएकी छिन् ।

उनका अनुसार इमरानको १८ लाख रुपैयाँ फिर्ता गरेर अस्पताल एकल साझेदारीमा सञ्चालन गर्ने क्रममा विवाद सुरु भएको बुझिन्छ । फिर्ता गर्ने रकम आफूसँग नभएपछि रविनले विराटनगरकै खेम भनिने खगेन्द्र थापासँग महँगो दरमा मिटर ब्याजमा पैसा लिएका थिए ।

घटना भएको दिन शनिवार खगेन्द्र भनिने खेम थापासहित १० जना एउटा स्कार्पियोमा बथनास्थित आफ्नो हस्पिटलमा आएका मृतक रविनकी श्रीमती रानीकुमारी बताउँछिन् ।

‘उनीहरू हस्पिटलमा आएपछि मेरो ‘हसब्याण्ड’लाई छलफलमा लैजाने भन्दै हस्पिटलको चौथो तलामा लिए गए । हामीलाई भने तेस्रो तलामा ढोका लगाएर थुनिदिए’ रानीकुमारीले भनिन्, ‘त्यसपछि हामीले तत्कालै प्रहरीलाई खबर गर्‍यौं, प्रहरी पनि आए, तर आएको केहीबेरपछि नै चौथो तलाबाट मेरो हसब्याण्डलाई तल झारिदिए ।’

शनिवार साँझ ५ बजेतिर यस्तो घटना भएको उनले बताइन् । श्रीमानलाई तलको तलामा झारेपछि अर्को अस्पताल लिएर जाँदा चिकित्सकले मृतः घोषणा गरेको उनको भनाइ छ ।  उनले आफ्नो श्रीमानलाई कुटपिट गरेर छतबाट खसाएर हत्या गरेको दावी गरेकी छन् ।

‘मेरो हसब्याण्डलाई तिनै मान्छेले मारे जसले माथिल्लो तलामा लिएर गएका थिए’ उनले भनेकी छिन् । उनले आइतवार  नै घटना भएको स्थान भारतको अररिया जिल्लाअन्तर्गतको बथनाहा प्रहरी पोस्टमा किटानी जाहेरी दिएकी छिन् ।

परिवारको तर्फबाट भारतमा प्राथमिक रिर्पोट गर्नेलगायतको काम सकिएको मृतकका आफन्त तथा छिमेकी सन्तोषकुमार रायले बताए । मृतक रविनकुमारले फर्मासिस्ट र जनस्वास्थ्यमा स्नातक गरेका थिए । केही समय उनले विराटनगरकै अस्पताल चोकमा आस्था फार्मेसी पनि सञ्चालन गरेका थिए ।

उक्त फार्मेसीलाई उनले डा। उत्तर मैनालीको सम्पर्क केन्द्र बनाएका थिए । तर, डा। मैनाली थप अध्ययनका लागि बाहिर गएपछि भने उनको क्लिनिक चल्न कम हुँदै गएको उनका नातेदार तथा छिमेकी  सन्तोषकुमार राय बताउँछन् ।

यता घटना भारतमा भएकाले नेपाल प्रहरीले कुनै किसिमको उजुरी लिन नमानेको परिवारले जनाएको छ । मृतक रायको सोमबार विराटनगरको हाटखोला सिंघिया घाटमा अन्तिम संस्कार गरिएको छ । कोशी अनलाइन

२०८० माघ १०, बुधबार प्रकाशित 0 Minutes 170 Views

ताजा समाचार