२०८१ फाल्गुन ३ शनिबार

आफ्नै सरकारलाई कांग्रेस-एमालेको ध्यानाकर्षण

नेकपा (एमाले) को नेतृत्वमा नेपाली कांग्रेस सहभागी रहेको कोशी प्रदेश सरकारलाई दुवै पार्टीले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन् । प्रदेशभित्र बाढी पहिरोले प्रभावित बनेकाहरूलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै एमाले-कांग्रेसले सरकारलाई पालैपालो ज्ञापनपत्र बुझाएका हुन् ।

शनिबार कोशीका पूर्वमुख्यमन्त्री तथा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईको नेतृत्वमा एमालेले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको थियो । लगत्तै आइतबार कांग्रेस प्रदेश सभापति उद्धव थापाको नेतृत्वमा कांग्रेसले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएको हो ।

गत असोज ९ देखि १२ सम्मको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा कोशी प्रदेशमा २० जनाको मृत्यु भएको थियो । भने ७ जना अझैसम्म बेपत्ता छन् । त्यस्तै: विपदमा परी ६२१ परिवार विस्थापित भएका छन् । प्राकृतिक विपत्तिले ३४ वटा पुलमा क्षति पुर्‍याएको छ । भौतिक पूर्वाधारतर्फ करिब १ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

कांग्रेसले ज्ञापनपत्रमा मृतकका परिवारलाई राहत, घाइतेलाई निःशुल्क उपचार, बेपत्ताको खोजी, विस्थापितको पुनर्स्थापना र बाली नष्ट भएकाहरूलाई राहतको माग गरेको छ । साथै क्षतिग्रस्त पूर्वाधारहरूको मर्मत र पुनर्निर्माण गरी यातायात सुचारु गर्न तत्काल माग गरेको छ ।

प्रदेश सरकारले गत आइतबार नै प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरूको परिवारलाई तत्काल जनही एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो । मुख्यमन्त्री कार्कीले राहत वितरण गर्ने निर्णय भइसकेको र अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको बताए ।

२०८१ आश्विन २०, आईतवार प्रकाशित 1 Minute 166 Views

ताजा समाचार