२०८१ चैत्र ८ शुक्रबार

अन्तर्राष्ट्रिय भन्सार दिवस लक्षित विविध कार्यक्रम : उत्कृष्टलाई पुरस्कार, विपन्नलाई न्यानो कपडा

काँकरभिट्टा । ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर मेची भन्सार कार्यालय काँकरभिट्टाले साताव्यापी विविध कार्यक्रम गरिरहेको छ ।

जनवरी २६ तारिख अर्थात् माघ १२ गते पर्ने दिवशलाई लक्षित गरी कार्यालयले यही माघ ६ गतेदेखि सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिएको हो । यसैक्रममा कार्यालयले मंगलवार विभिन्न संघ–संस्थासँग संयोजन र सहकार्य गरी सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगरका विभिन्न संघ संस्थालाई सहयोग गरेको छ ।

सोही सिलसिलामा मेचीनगर–७, इटाभट्टास्थित समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समितिलाई २० थान कम्बल वितरण गरिएको छ ।

प्रदान गरिएको कम्बल समितिका अध्यक्ष धर्मराज घिमिरेले ग्रहण गरेका थिए । त्यस्तै, मेचीनगर–९ स्थित स्वबोध साधना केन्द्र (अनाथ असहाय आश्रित बाल आश्रम) लाई १३ थान कम्बल हस्तान्तरण गरियो । उक्त कम्बल केन्द्रका अध्यक्ष बालकृष्ण थपलियाले ग्रहण गरेका थिए ।

उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत र उद्योगी दिनबन्धु गोयलबाट प्राप्त ५१ थान कम्बल भन्सार कार्यालयले संयोजन गरी वितरण गरेको हो । उक्त कम्बल चिया मजदूर, विपन्न परिवार तथा जाडोबाट प्रभावित समुदायलाई वितरण गरिएको थियो ।

यसैगरी, विनायक ट्रेड लिङ्क जनकपुरबाट प्राप्त १५ थान कुर्सी भन्सार कार्यालयले संयोजन गरी मेची सामुदायिक सेवा केन्द्रलाई हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएको कुर्सी केन्द्रका अध्यक्ष मुक्ति पौडेलले ग्रहण गरेका थिए ।

कम्बल तथा कुर्सी हस्तान्तरण कार्यक्रममा मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, ट्रान्स नेपाल ट्रेड सर्भिसका प्रमुख राजेश तिवारी, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, उद्योगी दिनबन्धु गोयललगायत सहभागी थिए ।

कार्यालयले यसअघि सोमवार(हिजो) काँकरभिट्टामा सरसफाई र रक्तदान कार्यक्रम गरेको थियो । जारी कार्यक्रम अन्तर्गत भन्सार परिसरभित्र सरसफाई र रक्तदान कार्यक्रम गरिएको कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।

रोटरी क्लव अफ काँकरभिट्टाको संयोजन र नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रगत दिएका थिए ।

सो अवसरमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपक भारतीसहित सशस्त्र प्रहरी, नगर प्रहरी, उद्योगी, व्यवसायीलगायतले रक्तदान गरेका हुन् ।

रक्तदाताहरुलाई कार्यालयका प्रमुख भन्सार अधिकृत रेग्मी, रोटरी क्लव अफ काँकरभिट्टाका अध्यक्ष रुद्र मैनालीलगायतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

दिवसको पूर्वसन्ध्यामा कार्यालयले सोमवारै मेची ब्याडमिन्टन क्लवको प्राविधिक सहयोगमा काँकरभिट्टास्थित मेची सामुदायिक भवनको कभर्ड हलमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता गरेको थियो ।

प्रतियोगितामा बिर्तामोडका चाणक्य पाठक र उत्सव उप्रेतीको जोडीले मेचीनगरका दीपक घिमिरे र दमकका विशाल राईको जोडीलाई पराजित गरेको थियो ।
२१–१८ र २१–१६ को सोझो सेटमा जीत हात पारेको मेची ब्याडमिन्टन क्लवका उपाध्यक्ष दीपक घिमिरेले बताए ।

प्रथम हुनेले नगद २५ हजार तथा उपविजेताले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछ । दमकका जुनुन राई र कुशल बस्नेत र दमककै सुदेन राई र प्रकाश राईको जोडीले तेस्रो स्थान हासिल गर्दै नगद ५/५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

पुरस्कार माघ १२ गते शुक्रवार ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका दिन वितरण गरिने जनाइएको छ । दिवशको सन्दर्भ पारेर कार्यालयले भोलि(बुधवार) मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा मेचीनगरस्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता गरिने भएको छ ।

त्यस्तै, कार्यालयले यही माघ ११ गते मेची उद्योग वाणिज्य संघको संयोजनमा व्यवसायीहरुसँग अन्तक्र्रिया गर्नेछ भने प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई माघ १२ गते शुक्रवार भन्सार दिवसका दिन औपचारिक कार्यक्रममार्फत पुरस्कृत गरिने प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।

दिवशका अवसरमा उत्कृष्ट भन्सार एजेन्टलाई समेत पुरस्कृत गरिने कार्यक्रम छ । विश्व भन्सार संगठनको निर्णय अनुरुप प्रत्येक वर्षको जनवरी २६ तारिखमा यो दिवस संसारभर मनाइँदै आइएको छ ।

२०८० माघ ९, मंगलवार प्रकाशित 0 Minutes 513 Views

ताजा समाचार