२०८१ बैशाख १४ शुक्रबार

चीनमा कोभिड संक्रमितको संङ्ख्या ९० करोड पुग्यो

बेइजिङ । पेकिंग विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार ११ जनवरी सम्ममा चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या करिब ९० करोड पुगेको छ । पछिल्लो प्रतिवेदनअनुसार चीनको कूल जनसङ्ख्याको ६४ प्रतिशत भाइरस संक्रमित रहेको अनुमान गरिएको छ ।

गान्सु प्रान्तमा ९१ प्रतिशत जनता भाइरस संक्रमित रहेको बताइएको छ । यसैगरी युनान र क्विन्गहाइ प्रान्तमा संक्रमितको प्रतिशत क्रमशः ८४ र ८० रहेकोे बताइएको बीबीसीले लखेको छ ।

चीनका एकजना वरिष्ठ महामारीविद्ले चान्द्रिक नयाँवर्षको अवधिमा चीनको ग्रामीण क्षेत्रमा अझै संक्रमणको घटना बढ्न सक्ने चेतावनी दिएका छन् । चिनियाँ रोग नियन्त्रण केन्द्रका पूर्वअध्यक्ष जेङ गुआङले चीनमा कोभिड लहरको चरम स्थिति दुईदेखि तीन महिनासम्म रहन सक्ने अनुमान गरेका छन् ।

कोरोना महामारी सुरु भएयता पहिलोपटक करोडौँ चिनियाँ जनता २३ जनवरीको चान्द्रिक नयाँवर्ष मनाउन आफ्ना परिवार रहेका सहरहरुमा भ्रमण गर्ने भएका छन् । मुलुकमा “शून्य कोभिड” नीतिको अन्त्य गरिएयता चीन सरकारले दैनिक रुपमा कोभिड संक्रमित तथ्यांक दिन पनि बन्द गरिसकेको छ ।

तर, मुलुकभर भाइरस फैलिरहेकाले ठूला ठूला सहरका राम्रा अस्पतालहरुमा कोभिड संक्रमित बिरामीहरुको भिड लागिरहेको छ ।

जेङलाई उद्धृत गर्दै काइसिन न्युज आउटलेटले अहिले ग्रामीण क्षेत्रमा विशेष ध्यान दिइनुपर्ने जनाएको छ । जेङका अनुसार ग्रामीण क्षेत्रका धेरै वृद्ध, बिरामी र अशक्तहरु पहिलेदेखि नै कोभिड उपचारको सन्दर्भमा पछाडि परेका छन् ।

चीनको मध्य हेनान प्रान्तले मात्र यसै महिनाको सुरुमा संक्रमण दरबारे विस्तृत विवरण सार्वजनिक गरेको त्यहाँका एकजना स्वास्थ्य अधिकारीले बताएका छन् । त्यहाँको झण्डै ९० प्रतिशत जनसङ्ख्या संक्रमित रहेको बताइएको थियो ।

चीनमा चान्द्रिक नयाँवर्षको बिदा औपचारिक रुपमा २१ जनवरीदेखि सुरु हुँदै छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंगलबारदेखि कोभिडबाट मर्नेको खबर सार्वजनिक गर्न छोडेका चीनले मृतकको अत्यन्तै कम सङ्ख्या मात्रै बाहिर ल्याइरहेको जनाएको छ । बाह्रखरी

२०७९ पुष २९, शुक्रबार प्रकाशित 0 Minutes 245 Views

ताजा समाचार