२०८१ चैत्र ८ शुक्रबार

समाचार टिप्पणी : अवैध नियन्त्रण भएको प्रहरी दावी, बजारमा भारतीय सामान छ्यापछ्याप्ती, राजश्व घट्दोक्रममा

झापा । जिल्ला प्रहरी कार्यालय झापा र मातहतका सबै युनिटहरुको सक्रियतामा ५ करोड रुपैयाँ बढीको अवैध सवारीसाधन तथा सामान बरामदपछि भन्सार दाखिला गरिएको छ ।

पूर्वको नेपाल–भारत सीमावर्ती १ सय ४४ दशमलव २ किलोमिटर खुल्ला नाका हुँदै लुकाईछिपाई नेपाल भित्र्याइएका उक्त मूल्य बराबरका सवारीसाधन र सामान मेची भन्सार कार्यालयमा बुझाइएको हो ।

एकवर्षको अवधिमा जिल्लाका विभिन्न स्थानबाट ५ करोड ४२ लाख ६६ हजार रुपैयाँ बराबरको सवारीसाधन र सामान भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

रेग्मीका अनुसार २०७९ को पुसदेखि २०८० को पुस मसान्तसम्ममा जिल्लाका सीमावर्ती नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सार दाखिला गरिएको हो ।

चालु आर्थिक वर्षको छ महिनामा २ करोड ८२ लाख ९ हजार ७ सय १६ रुपैयाँ बराबरको भन्सार छलीको सामानसहित ओसारपसारमा प्रयोग गरिएका सवारीसाधन आवश्यक कार्वाहीका लागि भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रमुख भन्सार तथा छोटी भन्सार कार्यालयबाट प्रक्रिया नपुर्याई आयात गरिएका सामान ल्याउने १० जनालाई नियन्त्रणमा लिई आवश्यक कारर्वाहीका लागि भन्सार बुझाइएको छ ।  त्यस्तै, चोरीमा संलग्नता पाइएका ४० वटा सवारीसाधन नियन्त्रणमा लिएर भन्सार बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतका ईलाका प्रहरी कार्यालय काँकरभिट्टा, प्रहरी चौकी तिरिङ, प्रहरी चौकी बाहुनडाँगी, प्रहरी चौकी नकलबन्दा, प्रहरी चौकी सतिघट्टा, प्रहरी चौकी ज्यामिरगढीलगायत ४१ वटा युनिटको सक्रियतामा जिल्लाभरबाट अवैध सामान नियन्त्रण गरिएको हो ।

अवैध गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले सादा पोशाकका प्रहरीसमेत खटाउँदै आएको छ । सीमाक्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण कार्यमा खटिएका प्रहरीहरुलाई बेला–बेला तस्करीमा संलग्नसँगै साँठगाँठ गर्ने गरेको आरोप पनि लाग्दै आएको छ ।

यसै अवधिमा सांगठानीक उद्देश्य विपरीतका गतिविधिमा संलग्न रहेका दर्जनौं प्रहरी कर्मचारीमाथि कार्वाही भएको कार्यालय स्रोतले जनाएको छ ।

यता, ठूलो परिमाण र रकमका सामान भन्सार दाखिला गरिएता पनि भन्सार स्रोतका अनुसार बजार मूल्यभन्दा दोब्बर मूल्यांकन राखी बुझाएका कारण समयमा उक्त सामान डाक बढाबढ नभएपछि भन्सार प्रशासन र प्रहरीबीच आरोपप्रत्यारोप चल्दै आएको छ ।

जसका कारण राज्यको करोडौंको राजश्व रकम गुमेको छ भने सम्बन्धित पक्षले राज्यबाट तोकिएको पुरस्कार रकम नपाएको गुनासो बढ्दो छ ।

सीमावर्ती क्षेत्रबाट हुने चोरी पैठारी नियन्त्रण गर्दै आएको दावी प्रहरीले गर्दै आए पनि भन्सार राजश्वमा अपेक्षाकृत सुधार नदेखिनु र नेपाली बजारमा प्रतिबन्धित भारतीय सामानसमेत छ्यापछ्याप्ती पाइनुले प्रहरीको दावीलाई कमजोर बनाइदिएको छ ।

२०८० माघ ८, सोमबार प्रकाशित 0 Minutes 638 Views

ताजा समाचार