काँकरभिट्टा । काँकरभिट्टा माविको एसएलसी ब्याच–२०५८/०५९ ले बृहत खुत्रुके अभियान सुरु गरेको छ ।
उक्त ब्याचको बनभोज कार्यक्रममा गठित समितिको पद हस्तान्तरण तथा सम्मान कार्यक्रममा सो अभियानबारे जानकारी गराइयो । यही माघ १ गते धार्मिक तथा पर्यटकीयस्थल टोकला/पातालगंगामा बनभोज कार्यक्रम गरेको सो ब्याचले शनिवार काँकरभिट्टा खानेपानी संस्था परिसरमा उक्त कार्यक्रम गरेको हो ।
मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङको प्रमुख आतिथ्य एवं काँकरभिट्टा माविका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेको विशेष आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । त्यसक्रममा प्रमुख अतिथि तामाङले ज्ञाननाथ गौतमको संयोजकत्वमा गठित ९ सदस्यीय समितिका सबैलाई अविर र खादा पहिर्याएर बधाई तथा शुभकामना दिए ।
उनले बनभोजका क्रममा विभिन्न शीर्षकमा विशेष सहयोग गर्ने सो ब्याचका चेतन धिताल, बद्री घिमिरे, यादव पौडेल, सञ्जु थापा र नवराज दाहाललाई सम्मान गरे ।
सो अवसरमा वडा अध्यक्ष तामाङले सो अभियानका लागि ५ हजार रुपैयाँ सहयोग गर्दै अभियान सफलताको शुभकामना व्यक्त गरे ।
समितिका संयोजक गौतमका अनुसार शोकको घडीमा ब्याचीको एकाघरमा सबैजना अनिवार्य पुग्नेलगायत थप विषयमा आवश्यक छलफल गर्न बनभोजलाई माध्यम बनाइएको हो ।
विशेषगरी उक्त ब्याचका विद्यार्थीको घरका सदस्यलाई क्यान्सर, मिर्गौलालगायत दीर्घरोग लागे उपचारमा सघाउ पुर्याउन अभियान थालनी गरिएको समितिका सल्लाहकार मुकुन्द शिवाकोटीले बताए ।
उनका अनुसार कमजोर आर्थिक अवस्थाका साथीहरुले समितिलाई सहयोगको अपील गरेमा गच्छेअनुसारको सहयोग उपलब्ध गराइनेछ ।
समितिले मासिक बैठकमा खुत्रुकेमा समितिसहित ब्याचीहरुले स्वेच्छिकरुपमा रकम जम्मा गर्ने, बैठकमा खुत्रुके फुटाई अभियानको कोषमा जम्मा गर्ने, १ हजारभन्दा कम दिनेले सिधै खुत्रुकेमा र सोभन्दा बढी दिनेले क्यूआर कोर्ड वा नगदबाट जम्मा गर्ने, सीप तथा कला भएका ब्याचीलाई व्यवसाय प्रवद्र्धन गर्दै सहयोग आदान–प्रदान गर्नेलगायत निर्णय गरेको छ ।
समितिका संयोजक गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन समितिका सल्लाहकार शिवाकोटीले गरेका थिए । “सुखमा पनि साथी, दुःखमा पनि साथी, हाम्रो सम्बन्ध युगौं युग रहनेछ साथी” भन्ने मूल उद्घोषसहित गठन गरिएको समितिले रचनात्मक गतिविधि गर्ने जनाइएको छ ।