२०८१ आश्विन २८ सोमबार

ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको भवन उद्घाटन

काँकरभिट्टा । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको नवनिर्मित भवनको आइतवार उद्घाटन गरिएको छ ।

पोष्ट परिसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि रहेका युवा व्यवसायी प्रदीप मित्तलले रिबन काटेर भवनको उद्घाटन गरेका हुन् । मेचीनगर–६, मा पुरानो भन्सार रहेको सरकारी स्वामित्वको जग्गामा भवनको शिलान्यास गरिएको खबर सुनेर उनले स्वेच्छिकरुपमा आर्थिक सहयोग गरेका थिए ।

झापा बिर्तामोड निवासी समाजसेवीे मित्तलले सो भवन निर्माणका लागि गठित समितिलाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए । सो अवसरमा कार्यक्रमका सभापति तथा समितिका अध्यक्ष मुक्ति पौडेलले भवन निर्माण गर्नुको औचित्यबारे प्रकाश पारेका थिए ।

त्यसक्रममा उनले परिस्थिति आर्थिकरुपमा प्रतिकूल बनिरहँदा ट्राफिक भवनको अपरिहार्यता महसुस गर्दै गच्छेअनुसारको नगद तथा जिन्सी सहयोग गर्ने दाताहरुलाई आभारसहित धन्यवाद ज्ञापन गरे ।

त्यस्तै, समितिका कोषाध्यक्ष तथा आर्थिक संयोजक सुभाष गुरुङले भवन बनाउन मेची सामुदायिक सेवा केन्द्रले लिएको चासो र सर्वदलीय एवं सर्वपक्षीय निर्णयलाई स्वीकार्दै सहयोग गर्ने सम्पूर्ण दातालाई आभार व्यक्त गरे ।

कार्यक्रममा भवन निर्माण समितिका सल्लाहकार संयोजक डिल्लीराम घिमिरे, महिला नेतृ राधा कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरुले २६ वर्षदेखि सडकपेटीको घुम्तीबाट सेवा प्रवाह गरिरहँदा ट्राफिक प्रहरीले झेल्नुपरेका कठिनाईबारे आफ्नो बुझाई व्यक्त गरेका थिए ।

उनीहरुले सुविधायुक्त भवन निर्माण भएसँगै अब ट्राफिक प्रहरीको कामकाज क्रमशः सरल, सहज र व्यवस्थित बन्ने विश्वास व्यक्त गरे ।

पञ्चेबाजा बजाएर गरिएको उद्घाटन कार्यक्रममा प्रहरी नायव उपरीक्षक दीपक भारती, ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपाने, समितिका उपाध्यक्ष खडानन्द भण्डारी, सल्लाहकार, भवन निर्माणमा सहयोग गर्ने दातालगायतको उपस्थिति थियो ।

भवन उद्घाटन कार्यक्रमको सञ्चालन समितिका सदस्य सचिवसमेत रहेका पोष्टका इञ्चार्ज ट्राफिक प्रहरी नायव निरीक्षक लिलाकुमार श्रेष्ठले गरेका थिए ।

२०८० माघ ७, आईतवार प्रकाशित 0 Minutes 222 Views

ताजा समाचार