झापा । झापामा दिनहुँजसो बस्तीमा हात्तीको हुल छिरेर घर टहरा भत्काउन थालेपछि स्थानीय समस्यामा परेका छन् ।
झापाको कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न ठाउँमा हात्तीले दिनहुँजसो घर भत्काउन थालेका हुन्। घर भत्किएपछि चिसोमा रात कटाउन बाध्य स्थानीयवासी धन जोगाउने कि ज्यान भन्ने चिन्तामा परेका छन् ।
हात्तीले कचनकवल गाउँपालिका–३ का ईश्वरसिंह राजवंशी, फाकताल राजवंशी, देवलाल राजवंशीको टिनको छानो भएको घर भत्काएर एकैदिन भण्डारण गरेको अन्नसमेत खाएको छ । घर भत्काएपछि माघको जाडोमा रात कटाउन कठिन भएको पीडितको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा हात्तीले ५९ वटा घर र दुई वटा गोठ भत्काएको छ । यो अवधिमा जङ्गली जनावरबाट ४८ लाख ५० हजार छ सय ४० रुपैयाँको क्षति भएको छ । हात्तीले घर भत्काएमा सरकारले १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।