२०८० फाल्गुन १४ सोमबार

‘काठमाडौंले के गर्यो भन्नेतिर नलागौं- राम कार्की

मेचीनगर, ६ माघ । नेकपा माओवादी केन्द्रका सचिव राम कार्की ‘पार्थ’ ले माओवादी पार्टी विभिन्न कारणले थाकेको भन्दै पुनः निर्माण जरुरी रहेको बताएका छन् ।

माओवादी केन्द्र मेचीनगर कमिटीले शनिबार पर्यटकीय स्थल मिनी माउन्टेनमा आयोजना गरेको जनतासँग माओवादी रुपान्तरण अभियान समापन तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले यस्तो बताएका हुन् । ‘हामी धेरै थाकिसक्यौं,’ उनले भने, ‘अब पनि हिँड्न जानेनौं भने परिवर्तनको आन्दोलन मरेर जान्छ ।’

माओवादी भित्रका प्रखर नेता मानिएका कार्कीले हाम्रै नेताका कारण माओवादीलाई कांग्रेस र एमालेजस्तो पार्टी बनाइदिएको आरोप लगाए । उनले अब पनि परिवर्तनका लागि नलड्ने हो भने जनताले नयाँ पार्टी बनाउने चेतावनी दिए ।

नेता कार्कीले परिवर्तन आफैंबाट सुरु गर्नुपर्ने बताए । ‘काठमाडौंले के गर्यो भन्नेतिर नलागौं,’ पूर्व सञ्चारमन्त्रीसमेत रहेका कार्कीले भने, ‘हाम्रो बाहुनडाँगी, धुलाबारी, काँकरभिट्टा, चारआली कसरी राम्रो बनाउनेतिर लागौं । परिवर्तन अवश्य सम्भव छ । उनले स्थानीय आवश्यकताको पहिचानलाई स्थापित गर्न सबै लाग्नु पर्नेमा जोड दिए ।

बौद्धिक नेताको छवि बनाएका नेता कार्कीले काममा दत्तचित्त भएर लाग्न सुझाव पनि दिए । ‘आठ घण्टा आराम, आठ घण्टा काममा ध्यान दिन सक्यौं भने परिवार तथा समाज आफैं बन्छ,’ उनले भने, ‘तर, हाम्रो लगनशीलता, मेहनत गर्ने बानी खतम भएको छ ।’

माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा पुराना कम्युनिस्ट योद्धाहरुलाई सम्मान गरिएको थियो । कम्युनिस्ट आन्दोलनलाई अहिलेसम्म मार्गनिर्देश गर्ने दुई दर्जन योद्धाहरुलाई ट्रयाक सुट, दोसल्ला तथा टोपी लगाइदिएर सम्मान गरिएको हो । यस्तै, शहिद परिवारलाई पनि सम्मान गरिएको थियो ।

माओवादी केन्द्र मेचीनगर सहइन्चार्ज पनिता अधिकारीले स्वागत तथा मेचीनगर सचिव ज्ञानेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सांसद गोङ्बु शेर्पाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्य, प्रदेश कमिटी सदस्य, जिल्ला सदस्य, क्षेत्रीय कमिटी इन्चार्ज लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागी सबैलाई वनभोज खुवाइएको थियो ।

२०८० माघ ६, शनिबार प्रकाशित 0 Minutes 98 Views

ताजा समाचार