२०८१ माघ ७ सोमबार

लागुपदार्थ नियन्त्रण गर्न प्रदेश सरकारको विशेष रणनीति छ : मन्त्री राई

काँकरभिट्टा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले लागुपदार्थ नियन्त्रणका लागि विशेष रणनीति अपनाइएको बताएका छन् ।

काँकरभिट्टाबाट शुक्रवार लागुऔषध, मादकपदार्थ प्रयोग तथा चालकको आँखा जाँच कार्यक्रमको शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन् । प्रदेश सरकारले झापाको काँकरभिट्टा तथा मोरङको विराटनगरका दुई स्थानबाट प्रदेशभर चल्ने अभियान एकैसाथ सुरु गरेको हो ।

अभियानको उद्घाटन गर्दै मन्त्री राईले सुरक्षित सडकका लागि सवारी चालकको विशेष निगरानी बढाइएको जानकारी दिए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीसँगको समन्वयमा सुरु अभियान निरन्तररुपमा अघि बढ्ने उनले बताए ।

“कार्वाही गरेर मात्र सुधार हुँदैन” मन्त्री राईले भने, “समस्या समाधानका लागि पुनस्र्थापना केन्द्रको व्यवस्थापन गरी प्रयोगकर्ता घटाउने सरकारको सोच छ ।”

‘भारतसँग खुल्ला सीमा जोडिएकाले पनि यहाँ लागुऔषधको सेवन एवम् कारोबार बढी छ’ ‘लागुऔषधको सेवन रोक्नका लागि त्यसको चेकजाँच हुन आवश्यक छ र त्यसका लागि किट आवश्यक छ भन्ने सोचेर हामीले यो योजना बनाएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । सार्वजनिक यातायातका चालकले लागू पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको गुनासो बढेसँगै ट्राफिक कारबाही तीव्र पारेको उनको भनाइ छ ।

लागूऔषध सेवन गरेर सवारीसाधन चलाउँदा दुर्घटना हुने तथा मानवीय र भौतिक क्षति बेहोर्नुपर्ने अवस्था आउने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए । चेकजाँच अभियानबाट दुर्घटना न्यूनीकरणमा मद्धत पुग्नुका साथै लागूऔषध सेवन गर्नबाट यातायात क्षेत्रमा कार्यरत रहेकाहरु निरुत्साहित हुने उनको भनाइ छ ।

लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीले बताए ।

मापसे अभियान सफल भएको र त्यसैलाई मध्यनजर गर्दै लागु पदार्थ सेवन (लापसे) चेकजाँच पनि प्रभावकारी हुने ट्राफिक प्रहरी झापाका प्रमुख नवराज न्यौपाले विश्वास व्यक्त गरे ।

पूर्वी सीमावर्ती शहर भएकाले ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको ट्राफिक प्रहरी पोष्टका प्रहरी नायव निरीक्षक लिलाकुमार श्रेष्ठले बताए ।

अभियान सुरु भएसँगै १० चालकमा गरिएको परीक्षणमा ९ जनामा लागुपदार्थ सेवन गरेको पाइएको छ । त्यस्तै, सडक सुरक्षा अन्तर्गत नै चालकको आँखा जाँचसमेत गरिएको छ ।

काँकरभिट्टा आइ केयर सेन्टरको प्राविधिक सहयोगमा भएको जाँचका क्रममा १९ महिलासहित ७५ जना सहभागी थिए ।

सो अवसरमा कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपक भारती, जिल्ला ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपाने, काँकरभिट्टा बस पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरे, ट्राफिक प्रहरी नायव निरीक्षक लिलाकुमार श्रेष्ठ, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, यातायात सम्बद्ध संघसंगठनका प्रमुखहरुको उपस्थिति थियो ।

२०८० माघ ५, शुक्रबार प्रकाशित 0 Minutes 201 Views

ताजा समाचार