२०८१ मंसिर २५ मंगलवार

हराएका तीन बालबालिका ३ महिनापछि अभिभावकलाई बुझाइयो

काँकरभिट्टा । तीन महिनाअघि बेपत्ता भई भारतमा भेटिएका झापा र मोरङका तीनजना बालबालिकाको सकुशल उद्दार गरी शुक्रवार नेपाल ल्याइएको छ ।

उद्दार गरिएकाहरुमा झापाको मेचीनगर–७, भान्साखोलाका ७ वर्षीय सुजन लिम्बू, मोरङको सुन्दर हरैंचा–६, गछियाकी १४ वर्षीया आयुष्का पोखरेल र १२ वर्षीया राधिका दर्जी छन् । काँकरभिट्टा माविको कक्षा १ मा अध्ययनरत् लिम्बू सीमावर्ती भारतीय बजार पानीट्याङ्कीमा लागेको दशैं विशेष मेला हेर्न गएका थिए ।

मेला पुगेर घर नफर्किएका उनलाई त्यतै घुम्दै गरेको अवस्थामा भारतीय प्रहरीले फेला पारेको थियो । घरैबाट हराएको ४ दिनपछि लिम्बू सकुशल भेटिएको खबर इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई आएको थियो ।

त्यस्तै, गएको मंसीर २७ गते विद्यालय गएको भनी घरबाट हिंडेका पोखरेल र दर्जी बेलुकासम्म पनि घर नफर्किएपछि परिवारले खोज्न सुरु गरेको थियो ।

गछियास्थित साजिलाल सेकेन्डरी स्कूलको कक्षा ८ की छात्रा पोखरेल जिल्लास्तरीय परीक्षा लेख्न र सोही विद्यालयको कक्षा ४ की छात्रा दर्जी पढ्न भन्दै विद्यालय गएका पारिवारिक स्रोतको भनाई छ । नजिकै घर भएका मिल्ने साथीसमेत रहेका दुवैजना त्यसैदिन भारत पश्चिम बंगाल राज्यको दार्जिलिङ पुगेका थिए ।

घुम्न निस्किएका उनीहरुलाई राति ८ बजे मोजा किन्दै गर्दा शंका लागेर त्यहाँको प्रहरीले कहाँबाट र कोसँग आएको भनी सोधपुछ गरेको थियो । त्यसक्रममा उद्दार भएका उनीहरुलाई त्यहाँस्थित बालबालिका उद्दार गर्ने संस्था इजिट दार्जिलिङलाई बुझाएको थियो ।

उक्त संस्थाले एक सातासम्म आफ्नो संरक्षणमा राखेर आवश्यक सोधपुछ तथा परामर्शपछि उनीहरुका बारेमा कोलकातास्थित महावाणिज्य दूतको कार्यालयलाई पत्राचार गरेको थियो ।

त्यसपछि उक्त कार्यालयका सचिव सतिश थापा नेतृत्वको एक टोलीले उद्दार गरिएका तीनैजना बालबालिकालाई नेपाल ल्याएको हो । सकुशल अवस्थामा उद्दार गरी ल्याइएका तीनैजनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाएको छ ।

घर छोडेर सम्पर्कविहीन हुनुको कारण खुल्न नसकेकामध्ये पोखरेलले सुन्दर हरैंचास्थित एक सुन पसलमा आफूले कानमा लगाएको सुनको मुन्द्रा राखेर ७ हजार रुपैयाँ लिएको खुलेको छ ।

उनीहरु बेपत्ता भएसँगै परिवारजनले नेपाल तथा भारतका प्रहरी र उद्दारमा क्रियाशील संस्थाहरुलाई जानकारी गराएपछि खोजीकार्य तीव्र पारिएको थियो ।

२०८० माघ ५, शुक्रबार प्रकाशित 0 Minutes 370 Views

ताजा समाचार