
(टिकाराम बास्तोला) बिर्तामोड । भारतीय एक युवाले जातीय पहिचान र खोजका लागि साइकल यात्राको क्रममा झापा आएका छन् । ७ महिनाअघि साइकल यात्रा सुरु गरेका भारतको आसाम राज्यस्थित बाक्सा जिल्लाका २६ वर्षीय राजीव बोडोले नेपालको महाकालीबाट यात्रा सुरु गरी झापाको हल्दीबारी आइपुगेका छन् । नेपालमा मेचे जातिको बसोबास रहेको हल्दीबारीमा उनीहरूको पहिचान, कला र संस्कृतिको खोज गर्ने उद्देश्यले साइकल यात्रा गरेको उनले बताए । हल्दीबारीमा सञ्चारकर्मीसँग कुरा गर्दै बोडोले नेपाल र भारतको कला, संस्कृति मिल्दोजुल्दो रहेको बताएका छन् ।
उनले सांस्कृतिक पहिचानका लागि नेपाल र भारतबीच पर्यटकीय सम्भावना रहेको बताएका छन् । उनले भारतीय नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गर्नेसमेत बताएका छन् । उनलाई हल्दीबारी गाउँपालिकाका जनप्रतिनिधिले बुधबार सम्मान गरेका थिए । हल्दीबारी ४ का वडाध्यक्ष सन्तकुमार थापाले सम्मान गर्दै बोलोलाई नेपालको पर्यटकीय सम्भावनालाई उजागर गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै बोडोले नेपालको आतिथ्य उत्कृष्ट रहेको बताए । उनले नेपाल र आसामका नागरिकको जीवनस्तर मिल्दोजुल्दो भएको भन्दै यहाँ आउँदा आफ्नै घरमा पुगेको अनुभूति भएको जिकिर गरे । नेपालमा पर्यटकीय सम्भावना धेरै रहेको अनुभव उनले सुनाए । आगामी दिनमा नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा सहयोग गर्ने भ्लगरसमेत रहेका बोडोले प्रतिबद्धता जनाए ।