विश्वास दाहाल, मेचीनगर । २६ वर्षदेखि सडकपेटीमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह गर्दै आएको काँकरभिट्टा अस्थायी ट्राफिक प्रहरी पोष्टको आवाससहितको सुविधासम्पन्न कार्यालय भवन निर्माण सम्पन्न भएसँगै बिहीबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिने भएको छ ।
स्थानीय संघ संस्था र जन सहयोगमा निर्मित भवन २०८० भदौ ६ गते शिलान्यास गरिएको थियो । ४ महिनाको अवधिमा निर्माण सम्पन्न गरी भवन ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्न लागिएको हो । काँकरभिट्टा खानेपानीको सभा हलमा बिहीबार एक कार्यक्रमकाबीच सयबढी दाताहरुलाई सम्मान पत्र प्रदान गरिने भवन निर्माण समितिका अध्यक्ष मुक्ति पौडेलले बताए ।
नवनिर्मित भवन मेचीनगर-६, स्थित काँकरभिट्टाको पुरानो भन्सारमा करिब २६ फुट चौडाई तथा ४६ फुट लम्बाई क्षेत्रफलमा निमार्ण भएको भवनको कूल लागत २२ लाख रुपैयाँ रहेको निर्माण समितिका आर्थिक संयोजक सुभाष गुरुङले जानकारी दिए । भवन निर्माणका लागि सहयोग पुर्याउने दाताहरुको नामावली शिलालेखमा लेखिएको भवन निर्माण समितिका सचिव तथा ट्राफिक प्रहरी नायव निरीक्षक लिलाकुमार श्रेष्ठले बताए ।
ट्राफिक कार्यालयको भवनमा ब्यारेक, इञ्चार्ज कक्ष, कार्यालय, सार्वजनिक शौचालय, चमेना गृहलगायतका संरचना निर्माण गरिएको छ ।