झापा । कोशी प्रदेशकी सांसद लक्की गणेशले महिलाहरु आर्थिकरुपमा दर्बिलो बन्दै हक, अधिकार पाउन एकताबद्ध हुनुपर्नेमा जोड दिएकी छन् ।
प्रदेशस्तरीय बाल विवाह न्यूनीकरण तथा महिला सशक्तिकरण कार्यशालाको बुधवार बिर्तामोडमा उद्घाटन गर्दै उनले सो कुरामा जोड दिएकी हुन् ।
काँकरभिट्टामा प्रधान कार्यालय रहेको महिला जनचेतना केन्द्रद्धारा आयोजित तीन दिवशीय कार्यशालामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट ६० जनाले सहभागिता जनाएका छन् ।
उक्त कार्यशालालाई अधिवक्ता वीरबहादुर मगर र महिला अधिकारकर्मी सुनिता मैनालीले सहजीकरण गरिरहेका छन् ।
तालिमको उद्घाटन सत्रमा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गाराज रेग्मीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
संस्थाकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको औचित्यबारे केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले प्रष्ट पारेकी थिइन् । उक्त कार्यशालाको उद्घाटन सत्रको सञ्चालन सञ्चारकर्मी सुष्मा राजवंशीले गरेकी थिइन् ।
आयोजक संस्थाले महिला अधिकारका क्षेत्रमा क्रियाशील रहि जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।