२०८१ बैशाख १४ शुक्रबार

बार्सिलोना सुपर कपको फाइनलमा

एजेन्सी । ला लिगा प्रतिद्धन्द्धी रियल बेटिसलाई टाइब्रेकरमा पराजित गर्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोनाले रियल बेटिसलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै फाइनलमा रियल म्याड्रिडसँगको भेट पक्का गरेको हो । निर्धारित समयमा १–१ र अतिरिक्त समयमा २–२ गोलको बराबरीपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । जसमा बार्सिलोनाले बाजी मार्यो ।

टाइब्रेकरमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, फ्रान्क केस्सी, अन्सु फाती र पेड्रीले गोल गरे । रियल बेटिसका विलियम जोश र लोरेन मोरोनले गोल गर्दा तेस्रो पेनाल्टीमा जुआनमी र चौथो पेनाल्टीमा विलियम कार्भाल्हो चुके ।

त्यसअघि साउदी अरबको किङ फाद इन्टरनेसनल स्टेडियममा बिहीबार राति भएको खेलको निर्धारित समयमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र अतिरिक्त समयमा अन्सु फातीले गोल गरेका थिए । रियल बेटिसका नविल फेकिर र लोरेन मोरोनले गोल गर्दै खेललाई टाइब्रेकरसम्म लम्ब्याएका थिए ।

२३औं मिनेटमा पेड्रीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । ४०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । ७७औं मिनेटमा नविल फेकिरले लुइस हेनरिकको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८१औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

९३औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाए । १०१औं मिनेटमा लोरेन मोरोनले गोेल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ११८औं मिनेटमा रियल बेटिस १० खेलाडीमा समेटिन पुग्यो । आन्द्रेस गुआरडाडो ७ मिनेटको अन्तरमा दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।

अब बार्सिलोनाले उपाधिका लागि रियल म्याड्रिडसँग खेल्नेछ । रियलले बुधबार राति भ्यालेन्सियालाई टाइब्रेकरमै ४–३ ले पराजित गरी फाइनलमा स्थान बनाइसकेको छ । फाइनल १५ जनवरीमा हुनेछ ।

२०७९ पुष २९, शुक्रबार प्रकाशित 0 Minutes 186 Views

ताजा समाचार