इटाभट्टा । बाक्लो हुस्से र शितलहरसँगै जाडो बढिरहँदा न्यानो कपडाको अभावमा कष्टकर जीवन बिताइरहेका अतिविपन्न वर्गलाई ब्ल्याङ्केट वितरण गरिएको छ ।
मारवाडी सेवा समिति काँकरभिट्टाले सोमबार इटाभट्टामा कार्यक्रम गरी मेचीनगरको ७ नम्बर वडामा बसोबास गरिरहेका एक सय अतिविपन्न परिवारलाई ब्ल्याङ्केट दिएको हो ।
समितिका अध्यक्ष रोशनलाल अग्रवालको अध्यक्षता एवं मेचीनगर–७ का वडाअध्यक्ष प्रल्हादमणि ओलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त समुदायका वडावासीले ब्ल्याङ्केट पाएका हुन् ।
त्यसक्रममा वडाअध्यक्ष ओलीले जाडोयाममा न्यानो कपडाको जोहो गर्न नसक्दा कष्ट झेलिरहेको वर्गलाई ब्ल्याङ्केट उपलब्ध गराएर समितिले पुण्यकर्म गरेको बताए ।
लक्षित वर्ग छनौट कार्यको संयोजन टोल विकास समितिबाट भएको थियो । वडाअध्यक्ष ओलीले टोल विकास समितिले सो कार्यका लागि प्रशंसनीय भूमिका निर्वाह गरेको बताए । पारदर्शी छनौट प्रक्रियाबाट छानिएर ब्ल्याङ्केट पाएपछि वडाका नागरिकले खुशी व्यक्त गर्दै समितिलाई धन्यवाद दिएका थिए ।
सो अवसरमा वडासदस्य अर्जुन कार्की, पुनलाल राजवंशी, मिनमाया लिम्बू, टोल विकास समिति अध्यक्षहरु पीताम्बर शर्मा (पौडेल), विष्णु भेटवाललगायतको उपस्थिति थियो ।
युवा व्यवसायी तथा समाजसेवीसमेत रहेका समितिका अध्यक्ष अग्रवालको अग्रसरतामा वर्षेनी अतिविपन्न वर्ग लक्षित विभिन्न सामाजिक कार्य हुँदै आएको छ ।