२०८२ बैशाख २७ शनिबार

हात्तीलाई अभिसाप नभई अवसरका रुपमा लिन सकिन्छ ः मन्त्री उप्रेती

बाहुनडाँगी । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले बाहुनडाँगीमा हात्ती करिडोर क्षेत्र निर्माणका लागि गृहकार्य सुरु गरिएको बताएका छन् ।

झापाको बाहुनडाँगी बजारमा ऐतिहासिक मेचीनगर तरुल उत्सवको आइतवार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । “बाहुनडाँगीवासी जंगली हात्तीबाट वर्षौंदेखि प्रताडित छन्” कार्यक्रमका प्रमुख अतिथि मन्त्री उप्रेतीले भने, “मानव–हात्ती द्धन्द्धलाई रणनीतिक ढंगले दीर्घकालीन रुपमा समाधान गर्न अभियान अघि बढाउँछौं ।”

पर्यटकीय दृष्टिले प्रचुर सम्भावनायुक्त बाहुनडाँगीमा हात्ती अभिसाप होइन अवसर हो भन्ने नजिर स्थापित हुनेमा उनले विश्वास व्यक्त गरे । हात्तीका कारण उत्पन्न समस्याको स्थायी समाधानका लागि उसको आहारविहार, रहनसहन र जीवनशैलीलाई ख्याल गर्दै ठीक ढंगले दिगोे व्यवस्थापन गर्नुपर्नेमा मन्त्री उप्रेतीले जोड दिए ।

बाहुनडाँगीलाई पर्यटकीय ‘हब’को रुपमा स्थापित गर्न हात्ती करिडोर क्षेत्र, होमस्टे, ग्रामीण कृषिजन्य उत्पादनमा टेवा पुर्याउन आवश्यक बजेट उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए ।

उत्सवको उद्घाटन सत्रमा विशिष्ट अतिथि भारतका ग्रामीण पर्यटन अभियन्ता राज वशुले उत्सवले स्थानीय अर्गानिक कृषिजन्य उत्पादनको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उत्सव कृषिलाई पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन अनुकरणीय बन्ने उनको भनाई थियो ।

त्यसक्रममा स्वागत भाषण गर्दै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले विषादीयुक्त तरकारीलाई विस्थापन गरी अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न उत्सवले विशेष महत्व राख्ने बताइन् ।

जनधनको क्षति हुन नदिन र पर्यटकीय ‘हब’ पनि बनाउन वडा नं. १, २, ३ र ४ मा होमस्टेलाई प्रवद्र्धन गर्दै वडाका धार्मिक तथा पर्यटकीय गन्तव्यलाई विकास गर्न सकिने उनको धारणा थियो ।

उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, विभिन्न राजनीतिक दल, संघ संस्था, सुरक्षा निकाय, सरकारी निकायलगायतका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । सो अवसरमा भारत बागडोग्राका कलाकारहरुले मगर समुदायको लोक संस्कृति उजागर गर्ने स्वागत नृत्य प्रस्तुत गरेका थिए ।


त्यस्तै, मेचीनगरको संगीनी टोलीबाट संगीनी नृत्य, इष्ट होराइजन अंग्रेजी माविका विद्यार्थीबाट मुसहर जातिको लोक नृत्यलगायत नेपाल तथा भारतका सांस्कृतिक टोलीबाट जातिय तथा सांस्कृतिक पहिचान झल्काउने नृत्य प्रस्तुत भएको थियो ।

मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य एवं कार्यक्रम संयोजक हृदयसिंह राजवंशीको अध्यक्षतामा आयोजित दुई दिवशीय उत्सवको सञ्चालन वडा नम्बर ४ का अध्यक्ष अर्जुनकुमार कार्कीले गरेका थिए ।

मेचीनगर नगरपालिकाले आयोजना गरेको उत्सवको सहआयोजकमा पर्यटन कार्यालय काँकरभिट्टा, र्यापिड रेस्पोन्ड टीम मेचीनगर, बाहुनडाँगी जेसीज र सहारा नेपाल चारपाने छन् । उत्सवमा स्थानीयस्तरमा उत्पादीत तरुललगायत पूर्वी नेपालका कृषिजन्य उत्पादनका दर्जनबढी स्टलहरु राखिएका छन् ।

उत्सवमा नेपाल रेडक्रश सोसाइटी भद्रपुरको प्राविधिक सहयोग र बाहुनडाँगी जेसीजको सहकार्यमा रक्तदान तथा काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोग र बाहुनडाँगी जेसीजको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ ।

“स्वस्थ जीवनको आधार, मौलिक तथा जैविक आहारविहार” भन्ने मूल नाराका साथ सुरु उत्सव माघ १ गतेसम्म चल्नेछ ।

२०८० पुष २९, आईतवार प्रकाशित 0 Minutes 298 Views

ताजा समाचार