२०८१ चैत्र १३ बुधबार

पहिचानवादीलाई राज्यले दमन गर्यो ः उपाध्यक्ष शंकर लिम्बू

काँकरभिट्टा । आदिवासी जनजाति अधिवक्ताहरुको समूह(लाहुरनिप नेपाल) का उपाध्यक्ष शंकर लिम्बूले राज्यपक्षबाटै पहिचानवादीहरु असुरक्षित बन्नुपरेको बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् मेचीनगरको ५ औं नगर अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । “संविधानले नेपालका आदिवासी जनजातिहरुलाई सम्मानपूर्वक बाँच्न र पहिचानको पक्षमा बोल्न पाउने अधिकार दिएको छ” प्रमुख अतिथि लिम्बूले भने, “तर पहिचान माग्दा किन गोली हानेर मारियो, घाइते बनाइयो, यस्को जवाफ हामिलाई चाहिएको छ ।”

प्रदेश नं. १ को नाम ‘कोशी’ मान्दैनौ भन्न पाउने अधिकार कानूनमै हुँदाहुँदै पनि खारेजीको माग गर्दा पहिचानपक्षधरहरुले गोली खानुपरेको अधिवक्ता लिम्बूको भनाई थियो । “हामिले गैर कानूनी काम गरेका छैनौं” उनले भने, “सबैको पहिचान मान्नुपर्छ, त्यसका लागि कोशी नाम परिवर्तन हुनुपर्छ ।”

न्याय, समानता र स्वतन्त्रताका लागि गरिएको विद्रोहको प्रतिफलस्वरुप वर्तमान व्यवस्था आएको उल्लेख गर्दै अधिवक्ता लिम्बूले फेरि पछाडि फर्किने प्रयत्न भइरहेको बताए । त्यस्तै, महासंघ झापाका वरिष्ठ उपाध्यक्ष केवलराम राईले विश्व बैंकले आदिवासी जनजातिहरुका लागि पठाएको बजेट खर्च गर्दा नगरले आदिवासी जनजातिहरुसँग स्वीकृति नलिएको आरोप लगाए ।

अधिवेशनको उद्घाटन सत्रका विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले आगामी वर्ष सबैको जातिय तथा सांस्कृतिक पहिचान झल्किने र संस्कृतिको जगेर्ना हुने एउटा बृहत् सांस्कृतिक कार्यक्रम गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा नगर उपप्रमुख मीना उप्रेतीले बहुजातिय संग्रहालयको स्थापना गरिएको अवगत गराउँदै सबै जाति, भाषि, धर्म र सम्प्रदायको सम्मानका लागि नगरले गौरवका योजना अघि बढाएको बताइन् । काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान प्रमुख विमल आचार्य, महासंघका जिल्ला, नगर तथा वडाका प्रमुख एवं प्रतिनिधिलगायतको आतिथ्यता थियो ।

आयोजक महासंघका नगर अध्यक्ष ओमप्रकाश खापुङको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष राम वाइबा तथा सञ्चालन सचिव चिरञ्जीवी खवास र फोनिज जिल्ला अध्यक्ष भूमिका सुब्बाले गरेका थिए । “स्थायी शान्तिका लागि जातिय सद्भाव कायम गरौं” भन्ने मूल नाराका साथ आयोजित अधिवेशनमा महासंघ नगरमा आबद्ध १९ वटा जातिय संस्थाको सहभागिता थियो ।

अधिवेशनअघि जातिय संस्थाका प्रतिनिधिहरु सहभागी र्यालीले काँकरभिट्टा बजारको परिक्रमा गरेको र त्यसपछि जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा मेचीनगर क्षेत्रबाट जातिय पहिचानसहित हजारौंको सहभागिता रहेको थियो ।

२०८० पुष २८, शनिबार प्रकाशित 0 Minutes 519 Views

ताजा समाचार