२०८१ चैत्र ८ शुक्रबार

आदिवासी जनजातिको मेचीनगर अधिवेशन पहिचानको आन्दोलनकै रुपमा हुने

काँकरभिट्टा, पुस २७ । आदिवासी जनजाति महासंघ मेचीनगरको अधिवेशन पहिचानको आन्दोलनकै रुपमा आयोजना गरिने भएको छ । पुस २८ गते शनिवारका दिन हुने महासंघको पाँचौ नगरसम्मेलनलाई प्रदेश नामाकरणको बिरोधका रुपमा सम्पन्न गर्ने महासंघ मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङले बताए ।

अधिवेशनका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अधिवेशनका प्रमुख अतिथिका रुपमा रहेका विद्वान व्यक्तित्व शंकर लिम्बुले आदिवासी जनजातिको अधिकार र पहिचानको बिषयलाई स्पष्ट पार्ने महासंघका झापा उपाध्यक्ष केवलराम राईले बताए । दक्षिण एसियाबाट संयुक्त राष्ट्र संघमा प्रतिनिधित्व गरिसकेका लिम्बुले आदिवासीको अधिकार र प्रदेश नामाकंनमा आदिवासीहरुले उठाएको पहिचानको अधिकारको बिषयमा जानकारी गराउनु हुने पत्रकार सम्मेलनमा राईले बताए ।

काँकरभिट्टाको सामुदायिक भवनमा आयोजना हुने अधिवेशनमा अग्रजहरुको सम्मान, साँस्कृतिक कार्यक्रम र र्यालीको समेत आयोजना गरिएको अध्यक्ष खापुङले बताए । अधिवेशनले आगामी कार्यकालका लागि आदिवासी जनजाति महासंघ मेचीनगरको नयाँ कार्यसमिति समेत चयन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

मेचीनगरमा रहेका १९ वटा जातिय संगठनका तर्फबाट एक जना प्रतिनिधि र पाँच जना पर्यवेक्षक सहित करीब एक हजार जनाको सहभागिता हुने महासंघ मेचीनगरका सचिव चिरञ्जीवि खवासले जानकारी दिए ।

पहिचान बिरोधी भएर प्रदेश नामाकरणमा सहभागि भएकाले प्रदेश सांसद गोपाल तामाङलाई बहिस्कार गरिएकोसमेत पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । ‘पहिचानको बिरुद्धमा लागेकै कारण हामीले प्रदेश सांसद गोपाल तामाङलाई कार्यक्रमको निम्तो दिएनौं,’ महासंघ झापाका उपाध्यक्ष केवलराम राईले भने, ‘प्रदेश नामाकरणमा उनले पहिचानकोबिरुद्धमा हस्ताक्षर गरेकाले उनकै आँगनमा हुने कार्यक्रममा हामीले उनलाई सहभागि नगराउने निणर्य गरेका हौं ।’ काँकरभिट्टा निवासी तामाङ झापा क्षेत्र नं. १ प्रदेशसभा क बाट निर्वाचित सांसद हुन् ।

२०८० पुष २७, शुक्रबार प्रकाशित 0 Minutes 234 Views

ताजा समाचार