२०८० फाल्गुन १८ शुक्रबार

कांग्रेसमा सिटौला कसरी भए सर्वसम्मत ?

२४ पुस, काठमाडौं । राष्ट्रिय सभाको उम्मेदवार चयनका लागि नेपाली कांग्रेसमा यो पटक निक्कै रस्साकस्सी भयो । नेताहरु रातभर पार्टी कार्यालयमा बसे, बिहानपख सहमति जुटेपछि बल्ल उम्मेदवारहरुको नाम तय भयो ।

त्यसका बाबजुद दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माका साथै कार्यसम्पादन समितिका सदस्यद्धय अर्जुनरसिंह केसी र बलबहादुर केसीले फरक मत राखेका छन् ।

तर यो अपवाद रहे कृष्णप्रसाद सिटौला । उनले पार्टीभित्र नामबारे छलफल चल्दा नचल्दै उनको हातमा भने राष्ट्रियसभा सदस्यको टिकट पाएका थिए ।

जबकी उनी एक वर्षअघि मात्र २०७९ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा झापा क्षेत्र नम्बर ३ मा उम्मेदवार थिए, र राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भए ।

संविधान निर्माणका क्रममा मस्यौदा समितिको सभापति भएका उनले आफैंले पनि भर्खर चुनाव हारेका कारण आफू राष्ट्रियसभामा जान्न भन्नुपर्ने हो । तर उनले इच्छा देखाए, देउवाले साथ दिए ।

संस्थापन इतर समूहका नेताहरुले अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनुपर्ने मत राख्दै आएका थिए । तर उनीहरुले पनि मन्त्री सांसद भइसकेका सिटौलालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउनु हुन्न भन्ने आँट गरेनन् । ‘उहाँ पहिल्यै सर्वस्वीकार्य जस्तो भइसक्नु भएको थियो’ एक नेता भन्छन्, ‘पदाधिकारीदेखि डा. शेखर सबैले अपवाद बाहेक भन्नु थाल्नुभयो । त्यसैले उहाँको नाममा कुनै बहस नै गर्नु परेन ।’

कसरी जुट्यो सहमति ?

कांग्रेसको भागमा परेका १० मध्ये अरु ९ जनाको टिकटका लागि छलफलमा नेताहरु नबस्दै सिटौलाको टिकट निश्चित भइसकेको थियो । आफ्नो उम्मेदवारी दर्ता गर्न आइतबार नै सिटौला विराटनगर लागे ।

संस्थापनइतरका नेताहरुका अनुसार शनिबार बालुवाटार जानु अघिसम्म डा. शेखर कोइराला, पूर्वमहामन्त्री सिटौलाको पक्षमा सकारात्मक थिएनन् । उनकै समूहका डा. मिनेन्द्र रिजाल पनि आकांक्षी थिए । सिटौलालाई रोक्न सकेको अवस्थामा डा. रिजालको सम्भावना हुन्थ्यो ।

सत्ता गठबन्धनमा कुन दलले कति सिट लिने छलफल चलिरहेको थियो, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेता शेखरलाई बालुवाटार बोलाए । प्रधानमन्त्री प्रचण्डले शेखरलाई बोलाउनुको एउटा मात्रै उद्देश्य सिटौलालाई उम्मेदवार बनाउन उनलाई सहमत बनाउनू ।

किनकी राष्ट्रपतिको आकांक्षी रहेका सिटौलालाई रोकेर रामचन्द्र पौडेललाई अघि बढाउने बेलामै एकखालको समझदारी भएको समेत कतिपयको दाबी छ । शनिबार प्रचण्ड–शेखर संवाद एक घण्टा बढी चल्यो । शेखर पक्षीय एक नेताका अनुसार शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन राष्ट्रिय सभामा सिटौला उपयुक्त पात्र हुने प्रचण्डको जिकिर थियो ।

पूर्वसभापति गिरिजाप्रसाद र सुशील कोइरालाका विश्वासपात्र सिटौलाको पछिल्लो समय कोइराला परिवारसँग निकट सम्बन्ध रहेन ।

१३ औं महाधिवेशनमा सभापति लडेका उनले दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए । १४औं महाधिवेशनमा सभापतिमा लडेनन्, देउवा समूहसँग मिलेर प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाए । पछिल्लो समय पौडेलले समेत छाडेपछि सिटौलाको समूह कांग्रेसमा निरन्तर कमजोर बन्दै गएको छ ।

तर सिटौलाले राष्ट्रियसभामा गएपछि अध्यक्ष हुने र शक्तिको अभ्यास गर्ने कतिपय नेताहरु बताउँछन् । अझ कोशी प्रदेशको राजनीतिमा दुई समूहको टकराब भएकाले पनि शेखरले सिटौलालाई समर्थन नगर्ने विश्लेषण थियो । कोशीको संसदीय दलको चुनावमा पनि दुई समूहले प्रतिस्पर्धा गरेका थिए भने सरकार गठनमा पनि त्यो टकराब देखिएको थियो ।

आफू निकट संसदीय दलका उद्धव थापालाई कोशीको मुख्यमन्त्री बनाउन नसक्ने भएपछि सिटौलाले माओवादीलाई सरकारको नेतृत्व दिएको शेखर समूहको आरोप थियो । त्यही कारण शेखर निकट केदार कार्कीले पार्टीमा विद्रोह गर्दै एमालेको समर्थनमा सरकार बनाएका थिए ।

तर शेखरले पनि सिटौलालाई राष्ट्रियसभा सदस्य बनाउने प्रस्तावको विरोध गरेनन् । कदाचित्, सिटौला पराजित भए अपजस भोग्नुपर्ने र पार्टी राजनीतिमा क्षति हुनसक्ने देखेपछि डा. शेखरले जोखिम नलिएको नेताहरु बताउँछन् ।

नेताहरुका अनुसार गृहजिल्ला झापाको राजनीतिका कारण महामन्त्री विश्वप्रकाश शर्माले सिटौलाको विरोध गर्ने अवस्था थिएन । अर्का महामन्त्री गगनकुमार थापा पनि लामो समय सिटौलाकै समूहमा थिए ।

१३ औं महाधिवेशनमा उनकै समूहबाट महामन्त्री लडेका गगन पनि सिटौलाको विपक्षमा उभिने अस्वस्था थिएन । अनि जति विरोध गरेपनि पार्टी सभापति देउवाले सिटौलालाई उम्मेदवार बनाइछाड्ने संकेत गरेका थिए ।

उम्मेदवार भए पनि डा. शेखरले विरोध गर्दा कोशीको सिटौलाको मत भने तलमाथि हुनसक्थ्यो । किनकी कोशीमा सत्ता गठबन्धन र एमालेको मतभारको अन्तर अन्य प्रदेशको तुलनामा कम छ । राप्रपा र एमाले मिल्ने, अनि कांग्रेसकै एउटा पक्षले साथ नदिने हो भने सिटौलाले राष्ट्रियसभा चुनाव हार्न सक्ने विश्लेषण शेखर पक्षका नेता कार्यकर्ता सुनाउँथे ।

स्रोतका अनुसार यो समूहको विश्वास जित्न सिटौलाले उम्मेदवारी दर्ताका लागि बिराटनगर जाने क्रममा डा. शेखरलाई पनि साथमा लैजान चाहेका थिए । तर पार्टीको बैठक बस्न नसकेकाले शेखर बिरानगर गएनन् ।

काठमाडौंमा बसे पनि शेखरले सिटौलालाई राष्ट्रियसभा उम्मेदवार बनाउने प्रस्तावको विरोध गरेनन् ।

बरु उम्मेदवारी दर्ताको दिन सोमबार बिराटनगरमा पुगेर राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी सिटौलाई उम्मेदवार बनाएको प्रतिक्रया दिएका छन् । उनले अघि भनेका छन्, ‘शान्ति प्रक्रिया र संविधान निर्माणमा उहाँले खेलेको भूमिका र योगदान हेरेर हामी सहमत भयौं ।’

राष्ट्रिय सभालाई गतिशील बनाउन सिटौलाको अनुभव सहयोगी हुने ठानेर सबैको स्वीकार्य उम्मेदवार भएको शेखर निकट केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल बताउँछन् ।
उनले भने, ‘सबैको चाहानामा पार्टीले निर्णय गरेको हो । उहाँ (सिटौला)राष्ट्रिय सभामा जाँदा देशका लागि फाइदा हुनेछ ।’

२०८० पुष २५, बुधबार प्रकाशित 0 Minutes 63 Views

ताजा समाचार