२०८१ बैशाख १८ मंगलवार

प्रेरक प्रसंग : लिंकनको पुस्तक प्रेम

अब्राहम लिंकनको परिवार निकै गरिब थियो । त्यसैले उनको बाल्यकाल चर्को अभावमा बितेको थियो । उनी कठोर परिश्रम गर्थे । घाँस काट्थे, दाउरा बटुल्थे ।

बाल्यकालमा उनी पुस्तक पढ्न औधि रुचाउँथे । तर, परिवारले उनलाई पुस्तक किनिदिन सक्दैनथ्यो । त्यसैले, उनी पढाइको भोक मेटाउन कहिले छिमेकबाट मागेर पुस्तक ल्याउँथे भने कहिले कसैको घरमा गएर काम गरेर पारिश्रमिकको बदलामा पुस्तक ल्याउँथे र पढेर पुनः जस्ताको तस्तै फिर्ता गरिदिन्थे । उनको स्मरण क्षमता बेजोडको थियो । एकपटक पढेका कुरा सितिमिती बिर्संदैनथे । एकपटक उनले छिमेकको एक घरबाट जर्ज वासिंटनको जीवनीसम्बन्धी एउटा पुस्तक मागेर ल्याए ।

उनले त्यो पुस्तक पढिसकेर फिर्ता गर्न नभ्याउँदै घनघोर वर्षा भयो । वर्षाका कारण उनले छिमेकीबाट ल्याएको पुस्तक भिजेर कामै नलाग्ने भयो । त्यो देख्दा उनलाई ज्यादै नरमाइलो लाग्यो । पानी रोकिएपछि उनी छिमेकीकहाँ पुगे । उनले हात जोडेर भने– मलाई माफ गर्नुहोला, मैले हजुरसित मागेर लगेको पुस्तक वर्षाका कारण काम नलाग्ने गरी भिज्यो । मैले त्यसलाई जोगाउन सकिनँ । मबाट निकै ठूलो अपराध भयो । म हजुरलाई नयाँ किताब किनेर फिर्ता गर्न पनि सक्दिनँ । त्यसैले, म हजुरको खेतमा काम गर्छु, मलाई काम दिनुहोस् । म किताब किन्न पुग्ने रकमबराबरको श्रम गर्छु । अनि, हजुरले सोही रकमबाट नयाँ पुस्तक किन्नुहोला ।

लिंकनको प्रस्ताव सुनेर उनका छिमेकी प्रभावित भए । उनले भने– तिमीले जानीजानी पुस्तक भिजाएका होइनौ । भीषण वर्षाका कारण त्यो भिजेको हो । भैगो, तिमीले फिर्ता गर्नुपर्दैन, छाडिदेऊ । तर, लिंकनले काम नगरी नफर्किने जिद्दी गरिरहे । अन्त्यमा, केही नलागेर छिमेकीले उनलाई खेतमा काम दिए । लिंकनले किताब किन्न पुग्ने ज्याला आउनेजति काम एकै दिनमा पूरा गरे र सन्तुष्ट हुँदै घर फर्किए । नयाँ पत्रिका

२०८० पुष १८, बुधबार प्रकाशित 0 Minutes 179 Views

ताजा समाचार