२०८१ बैशाख २१ शुक्रबार

जाडोमा बालबालिकाको स्याहार कसरी गर्ने ?

काठमाडौं : काठमाडौं लगायत देशभर नै जाडो  बढीरहेको छ।  चिसो बढेसँगै मानिसहरुमा रुघाखोकी, श्वासप्रस्वासको समस्याले धेरैलाई सताउने गर्छ।

जाडो याममा ठूला मानिसलाई भन्दा बालबालिकाका लागि सबैभन्दा संवेदनशील मौसम हो।  बालबालिकालाई रुघाखोकी लाग्ने, स्वासप्रश्वासको समस्या देखिने हुँदा बालबालिकालाई विशेष हेरचाह गर्नुपर्ने हुन्छ।​

विशेषगरी, पाँच महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई रुघाखोकी, निमोनियाजस्ता श्वासप्रश्वासजन्य रोगले सताउने बालरोग विशेषज्ञ डाक्टर गणेश राई बताउँछन्।

उनका अनुसार पाँच महिनापछि बालबालिका बाहिरी वातावरणमा रमाउँन थाल्छन् तर उनीहरू बाहिरी वातावरणमा घुलमिल हुन सक्दैनन्। जसका कारण बालबालिकालाई विभिन्न समस्या देखा पर्न सक्छ।

६ महिनाभन्दा कम उमेरका बालबालिकाको बढी नै हेरचाह गर्ने, आमाको दूध मात्र खाने र बाहिरी वातावरणमा नजाने हुँदा उनीहरुमा धेरै समस्या नदेखिने डाक्टर राईको भनाइ छ।  जाडो याममा बालबालिकाको हेरचाह गर्नका लागि केही सुझाव पनि दिएका छन्। ​

बाक्लो लुगा नलगाइदिने 

अभिभावकले जाडोको बेलामा बालबालिकालाई चिसो नलागोस् भनेर धेरै लुगा लगाइदिने गर्छन्। यसले बालबालिकालाई न्यायो भन्दा थप समस्या ल्याउन सक्छ। धेरै लुगा लगाइँदिदा बालबालिकालाई पसिना आउन सक्छ र उक्त पसिना शरीरमा नै सुकेपछि बालबालिकालाई चिसो लाग्छ, जसले रुघाखोकी, निमोनिया जस्ता समस्याले सताउन सक्छ। बाक्लो लुगा लगाइदिएको अवस्थामा बेला(बेलामा पसिना आएनआएको हेर्नुपर्छ। यस्तै, बालबालिकालाई न्यायो होस् भन्नका लागि कपास भएको लुगा पनि लगाइदिने गरिन्छ। त्यसले पसिना सोस्छ र कपडा चिसो नै रहिरहन्छ।

बिहानको घाममा सुताउने

बालबालिकाहरुलाई जाडो मौसममा बिहानीपखको घाममा सुताउने गर्नुपर्छ। १२ बजे अगाडीको घाममा सुताउँदा बालबालिकाको शरीरलाई आवश्यक पर्ने भिटामिन डि पर्याप्त मात्रामा पुग्छ।

घाममा सुताइरहेको अवस्थामा शुद्ध तोरीको तेल, नरिवलको तेल वा ध्युकुमारीको तेलले मालिस गरिदिनु राम्रो हुन्छ। तर, बालबालिकालाई तेल लगाउँदा कान, नाक, नाइटोमा तेल लगाइदिनु हुँदैन। यसले संक्रमण निम्त्याउन सक्छ।

बेला बेलामा नुहाइदिने

धेरै अभिभावकले बालबालिकालाई रुघाखोकी लाग्छ भनेर लामो समयसम्म बच्चालाई ननुहाइदिने गर्छन्। यो बालबालिकाको स्वास्थ्यको लागि झन् घातक हुन्छ।

बालबालिकाको नियमित सरसफाइ गर्ने गरिएको छ भने जतिपटक नुहाउँदा पनि रुघाखोकी लाग्ने सम्भावना रहँदैन। तर, सानो हुँदा कम नुहाइदिने गरिएको छ भने पछिसम्म पनि नुहाउँदा समस्या देखिन्छ। बालबालिकाको नियमित सरसफाइ गरिएन भने विभिन्न खालका खटिराजन्य संक्रमण पनि हुन सक्छ। त्यसैले बालबालिकालाई नियमित नुहाउने र सरसफाइमा ध्यान दिने गर्नुपर्छ। ​

सिजन अनुसारका फलफूल नियमित खुवाउने

धेरै अभिभावकहरुले बालबालिकालाई चिसो हुन्छ भनेर फलफूल खुवाउँदैनन् तर, बालबालिकाहरुलाई मौसम अनुसार पाइने फलफूलहरु नियमित खुवाउनु पर्दछ। फलफुल खुवाउँदा भने फलफूललाई तातो पानीमा पखालेर खुवाउने गर्नुपर्छ।

यसले फलफूलमा हुने केमिकल पखालिन्छ। यस्तै, साना बालबालिकालाई स्याउ वा अन्य फलफुल खुवाउँदा पकाएर मिचेर खुवाउनु राम्रो हुन्छ।

आमाले पनि सरसफाइमा विशेष ध्यान दिने

जाडो महिनामा बालबालिकालाई स्वस्थ राख्नका लागि बालबालिकालाई मात्र स्याहारसुसार गरेर पुग्दैन। आमाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्छ। आमालाई संक्रमण भएको अवस्थामा बालबालिकालाई पनि सर्ने सम्भावना रहन्छ।

विशेषगरी दूध खाने बालबालिकाका आमाले सरसफाइमा ध्यान दिनुपर्छ। स्तन र स्तनको निप्पल फोहोर भएमा बालबालिकाको मुखमा घाउ आउने सम्भावना हुन्छ।

२०८० पुष १७, मंगलवार प्रकाशित 0 Minutes 85 Views

ताजा समाचार