झापा । एउटा नेपालीमा उखान नै छ, ‘चाइनीज सामान लामो समय टिक्दैन’ । न कुनै ग्यारेन्टी हुन्छ, नत टिकाउ नै । यस्तै भएको छ, चीनबाट खरिद गरी ल्याइएका जहाजको अवस्था । ती जहाज ल्याएको केही वर्षमै काम नलाग्ने भएपछि कवाडीमा बेच्नु पर्ने अवस्था सिर्जना भएको छ । अन्ततः चिनियाँ विमान नेपाल वायुसेवा निगमका लागि ‘भालुको कन्पट’ नै बनेको छ ।
कामै नलाग्ने भएपछि नेपाल वायुसेवा निगमको पाँचवटा (२ वटा एमए-६० र ३ वटा वाई-१२) चिनियाँ जहाज बिक्रीका लागि प्रक्रिया सुरु गरिएको छ । चिनियाँ जहाजहरू २०७७ साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।
चीनबाट ल्याएर सञ्चालन सुरु गरेदेखि अर्बौं रुपैयाँको घाटा भएपछि बिक्रीका लागि बोलपत्र आह्वान गरिएको छ । एयरलाइन्सले २ वटा एमए-६० जहाज र ३ वटा वाई-१२ विमान बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो । आह्वान गरिएको बोलपत्रमा आवेदन दिने अन्तिम मिति २०२४ को फेब्रुअरी ४ सम्म छ ।
चिनियाँ जहाज ल्याएपछि निगमलाई ५ जहाजले कूल १ अर्ब ९० करोडभन्दा धेरै घाटा दिइसकेको छ । सञ्चालन गर्दा आम्दानीभन्दा धेरै खर्च आउने भएपछि उडान भरिएको छैन ।
निगमले २०७७ साउनदेखि चिनियाँ जहाजको उडान नगर्ने उद्घोष गर्दै ग्राउन्डेड गरेको थियो । तत्कालीन समयमा निगम व्यवस्थापले अध्ययन गरेर चिनियाँ जहाजबाट निगमलाई आर्थिक बोझ थपिएको र उडानमा समेत समस्या रहेको भन्दै जहाज उडान नगर्ने निणर्य गरेको थियो ।
निगमको निणर्यलाई त्यतिबेला अर्थ मन्त्रालयले समेत सहमति दिएको थियो । अर्थ मन्त्रालयले चिनियाँ जहाज व्यवस्थापन गर्न २०७७ फागुनमै सहमति दिएको थियो । अर्थले चिनियाँ जहाज सकेसम्म भाडामा दिन र भाडामा दिन नसकेको अवस्थामा बिक्री गर्न सहमति दिएको थियो ।
नेपाल सरकार र चिनियाँ सरकारको दुईपक्षीय सहमतिमा ४ वटा वाई-१२ र २ वटा एमए-६० जहाज सफ्ट लोन र अनुदानमा खरिद गरिएको थियो । चिनियाँ जहाज खरिद प्रक्रिया २०६८ सालबाट सुरु भएको थियो । चिनियाँ जहाज खरिदको सम्झौता भने २०७० मंसिरमा भएको थियो । सम्झौतामा एउटा एमए-६० र एउटा वाई-१२ जहाज अनुदानमा र एउटा एमए-६० र ३ वटा वाई-१२ जहाज भने ऋण अनुदानमा लिने सम्झौता भएको थियो ।
सोही सम्झौतापछि २०७१ बैशाखमा पहिलो अनुदानको एउटा एमए-६० जहाज नेपाल आएको थियो । साथै सोही वर्ष २०७१ को कात्तिकमा अर्को अनुदानबापतको एउटा वाई-१२ जहाज नेपाल आएको थियो । अनुदानका २ सहित कुल ६ जहाज नेपाल आएपछि निगमले तत्कालीन समयमा जहाज नल्याउन सरकारलाई सुझाएको थियो ।
तर, सरकारले जबरजस्ती बाँकी जहाज नेपाल ल्याएको थियो । त्यसपछि बाँकी जहाज भने क्रमशः २०७३ मा एउटा एमए-६० र एउटा वाई-१२ ल्याइएको थियो । यसैगरी, निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई-१२ जहाज नेपाल ल्याएको थियो । जहाज उडानबाट तथा खरिदबाट नेपाललाई १० अर्ब रूपैयाँ भन्दा बढी घाटा भएपछि व्यवस्थापनको विषय सुरू भएको थियो ।
विमान खरीदमा भएको सम्झौताअनुसार विमान मर्मतमा चिनियाँँ पक्षको सहयोग नभएको विवरण पनि पारदर्शी रूपमा बाहिर आएका छन् । त्यही भएर अहिले चिनियाँ विमान निगमका लागि घाँडो भएका छन् । अहिले चीनको सरकारले त्यहाँका वायु सेवा कम्पनीहरूलाई चीनमै बनेका विमान प्रयोग गर्न दबाब दिइरहेको बताइन्छ ।