२०८१ माघ ६ आईतवार

यसरी फैलाइँदैछ नेपालमा ‘सौम्य शक्ति’

झापा । चीनसँग नेपालको सम्बन्ध प्राचीन कालदेखिकै हो । पछिल्लो समय भने यो सम्बन्धमा खासगरी चिनियाँ सौम्य शक्तिको नीति हावी भएको देखिन्छ । सन् २०१५ को भूकम्प र संविधान जारी भएपछिको अवस्थामा नेपालमा प्रभाव ह्वात्तै बढाएको चीनको सौम्य शक्ति यहाँका विभिन्न क्षेत्रमा कार्यान्वयन भइरहेको छ । अनि त्यो संस्कृति, शिक्षा, पहिले कम्युनिस्ट अनि अहिले सी चिनफिङ विचारधारा, धर्म, व्यापार, भाषा, पर्यटन, अध्ययन-अनुसन्धान, प्राज्ञिक तह, चीन अध्ययन केन्द्र, विश्वविद्यालय, पुस्तक प्रकाशनदेखि सामान्य दैनिक जीवनसम्मका आयाममा प्रतिविम्बित छ ।

होउ यान्छी राजदूत भएर आएको दुई महीनामै चिनियाँ दूतावासद्वारा १०७औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले ‘चरी जस्तै उड्न पाए, गगनको तलतिर’ बोलको नेपाली गीतमा नृत्य गरेर नेपालीको ध्यान तानिन् । यो सौम्य शक्तिको उत्कृष्ट प्रयोग हो ।

चीनले नेपालमा उच्च शिक्षाका माध्यमबाट पनि काम गर्दैछ । अनुसन्धाताका अनुसार चीनले नेपालमा ‘साना हातहरू’, ‘नोइङ चाइना बेटर’, ‘शैक्षिक रेशम मार्ग’ र ‘बीआरआई छात्रवृत्ति’ जस्ता कार्यक्रम चलाएको छ । चीनका विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने सरकारी कार्यक्रम प्रभावकारी हुँदै गएको निष्कर्ष छ । उदाहरणका लागि सन् २०१८ मा ६ हजार ४०० नेपाली विद्यार्थीले चिनियाँ विश्वविद्यालयमा पढ्न त्यहाँको सरकारबाट छात्रवृत्ति पाएका थिए ।

चीन सरकारले सन् २००४ देखि संसारभर कन्फ्युसियस इन्स्टिच्यूट स्थापना गरेर चिनियाँ संस्कृति र मन्डारिन भाषालाई प्रोत्साहन गरिरहँदा नेपालमा पनि काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय मार्फत काम भइरहेको छ । काठमाडौंका विद्यालयमा मन्डारिन भाषा पढाइन थालेको छ । भाषा शिक्षकको सेवासुविधा चिनियाँ दूतावासले नै उपलब्ध गराउँछ ।

बीआरआईलाई चिनियाँ सौम्य शक्तिकै रूपमा लिने गरिन्छ । नेपालले सन् २०१७ मै हस्ताक्षर गरेको बीआरआई अन्तर्गतका परियोजना यहाँ सञ्चालनमा छन् । चिनियाँ पक्षले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि बीआरआई अन्तर्गतको परियोजना भनी विज्ञप्ति निकालेको थियो । यद्यपि नेपाली पक्षले यसलाई स्वीकार गरेको छैन ।

चाइनिज एकेडेमीले केही वर्षअघि नै नेपाल प्रज्ञा प्रतिष्ठानसित सहकार्यको औपचारिक सहमति गरिसकेको छ । प्रज्ञा प्रतिष्ठानमा दुई देशका संयुक्त साहित्यिक कार्यक्रम समेत सञ्चालन हुँदै आएका छन् । दुईतर्फी आदानप्रदान र भ्रमणका कार्यक्रम भइरहन्छन् । गत वर्ष प्रतिष्ठानकै आयोजनामा भएको ‘रेशम मार्ग साहित्य’ को विमर्शमा विद्वान्हरूले कार्यपत्र समेत प्रस्तुत गरेका थिए । अहिले चीन अध्ययन केन्द्रले सी चिनफिङः द गभर्नेन्स् अफ चाइना पुस्तकको पहिलो भागको नेपाली अनुवाद प्रकाशन गरिसकेको छ भने बाँकी दुई भाग अनुवादको चरणमा छन् ।

यस बाहेकका थुप्रै चिनियाँ पुस्तक पनि नेपालीमा अनुवाद तथा प्रकाशनको काम हुँदैछ । चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषा र साहित्य पढाइन्छन् । त्यस मार्फत भाषिक दक्षता हासिल गरेका र नेपाल बुझेकाहरूलाई त्यहाँको सरकारले नेपाल मामिला हेर्ने जिम्मा दिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीले यहाँका कम्युनिस्ट पार्टीहरूलाई ‘सी विचारधारा’ को प्रशिक्षण दिँदै आएको छ । प्रत्येक वर्ष यहाँ चिनियाँ चलचित्र महोत्सव पनि गरिन्छ ।

समग्रमा चीनले यतिवेला आफ्नो कूटनीति सफल बनाउन यहाँ सौम्य शक्तिको भरपूर उपयोग गरिरहेको छ । विश्वशक्तिका रूपमा उदाउँदै गर्दा ऊ आफ्नो छरछिमेकमा के भइरहेछ भन्नेमा निकै चनाखो देखिन्छ । यसबाट चीन आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आँच नआओस् भनेर नेपालमा बढिरहेको भूराजनीतिक खिचातानी र चलखेलप्रति सचेत रहेको थाहा हुन्छ ।

विश्वशक्तिका यहाँ आआफ्नै स्वार्थ छन् । तिनलाई नेपालले आफ्नो हित प्राथमिकतामा राखेर व्यवस्थापन गर्न जरुरी छ । नेपालले कुनै विश्वशक्तिको गठबन्धनमा सहभागी नभई देश विकासका लागि सरसहयोग लिन र आफ्नो क्षमतामा व्यापक सुधार गर्न आवश्यक छ । यसरी नै आफ्नो सौम्य शक्तिको भरपूर उपयोग गर्न सके नेपाललाई विकासको चोला फेर्न दुई-तीन दशक नै पर्याप्त छ ।

२०८० मंसिर २८, बिहीबार प्रकाशित 1 Minute 329 Views

ताजा समाचार