२०८१ जेष्ठ ६ आईतवार

गजलकार जीवन धितालको ‘तिम्रा केशराशी´ रिलिज हुँदै

झापा । शिक्षक जीवन धितालको म्यूजिक भिडियो ‘तिम्रा केशराशी´ सार्वजनिक हुने भएको छ । दसैंको फूलपातीको अवसर पारेर उनको आफ्नै स्वरमा रहेको सांगीतिक गजल विमोचन हुने बताइएको छ । गजलमा शब्द उनी आफैको रहेको छ भने संगीत जीवन अधिकारीले भरेका हुन् । म्यूजिक भिडियोमा मोडल उर्मिला योञ्जनले अभिनय गरेकी छिन् । भिडियोको छायांकन मेचीनगरका पर्यटकीय क्षेत्रमा गरिएको धितालले बताए ।

शनिश्चरे मावि अर्जुनधारा झापामा मावि विज्ञान शिक्षकको रुपमा कार्यरत रहेका धिताल संगीत र साहित्यमा रुचि राख्छन् । उनका साहित्यिक कृतिसमेत प्रकाशोन्मुख रहेको उनले जानकारी दिए । भौतिक शास्त्रमा स्नातकोत्तर गरेका धिताल डेढ दशकबढी समयदेखि शिक्षण पेशमा छन् । उनकै स्वर, शब्द तथा अभिनय रहेको गजल रिलिज भएसँगै उनको परिचय अब गायकको रुपमा थपिने छ ।

उनका थुप्रै गजल तथा कविता पत्रपत्रिका तथा सञ्चारमाध्यममा प्रकाशित र प्रासारित भइसकेका छन् । उनी साहित्य चौतारी झापाका सदस्यसमेत हुन् । म्यूजिक भिडियो कात्तिक ४ गते शनिबार दिउँसो २ बजे मेचीनगर ८, इटाभट्टास्थित आदर्श माविको स्रोत केन्द्र भवनमा रिलिज गरिने भएको छ संगीतमा रुचि राख्ने आँफू जस्ता नवप्रवेशी गायक तथा संगीततर्फ आकर्षित हुन खोज्ने सबैलाई साथ सहयोग गरेर हौसला बढाइदिन उनले सबैमा अनुरोध गरेका छन्।

म्यूजिक भिडियोलाई उनको आफ्नै  यूट्युव च्यानलबाट सार्वजनिक गरिने उनले बताए । लाईक, शेयर र च्यानल सब्सक्राइब गरी गजल हेरेर र सुनेर प्रतिक्रिया दिन उनले सबैमा आग्रह गरेका छन् । गजल ऐडी म्यूजिक स्टुडियो काँकरभिट्टा तथा प्रज्ञा स्टुडियो काठमाण्डौंमा संयुक्तरुपमा रेकर्ड गरिएको छ । ध्रुव शर्माले एरेञ्ज गरेको गजलका मिक्स मास्टर शम्भू तन्डुकार रहेका छन् । भिडियो छायांकन तथा सम्पादन तिलक रिजालले गरेका हुन् ।

२०८० आश्विन ३०, मंगलवार प्रकाशित 0 Minutes 306 Views

ताजा समाचार