२०८१ बैशाख १३ बिहीबार

कांग्रेस नजाने गाउँको बाटो सोध्दैन : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सरकार गठनको अभ्यास नगरेको भन्दै आफूहरूले ‘नजाने गाउँको बाटो’ सोधेर आफ्नो भूमिकामा अलमल नगर्ने बताएका छन् ।

‘अहिले बाहिर जे चर्चा भइरहेको छ, त्यो बिल्कुलै अफवाह मात्रै हो । कांग्रेसले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन । कांग्रेस नजाने गाउँको बाटो सोध्दैन, कांग्रेसले आफ्नो भूमिका बिर्सिएको छैन,’ उनले भने, ‘भर्खर बनेको समीकरणलाई भत्काउन लागेको कुरामा कुनै सत्यता छैन ।’

शुक्रबार सभापति शेरबहादुर देउवासँग छलफलपछि महामन्त्री शर्माले पार्टीको केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको बैठकको तयारीका विषयमा छलफल भइरहेको बताए ।

‘हामी हिजो सत्तामा थियौँ, त्योबेलासम्म सभापतिजीसँग संवादमै थियौँ, अन्तिम चरणका छलफलमा मात्रै हाम्रो संलग्नता भएन, गराइएन,’ शर्माले भने, ‘पाइलटले को-पाइलटलाई सहभागी नगराई जहाजको कुशल अवतरण गराए त्यसको जस पाउने हो, होइन दुर्घटना भयो भने त्यसको दोष पनि को-पाइलटमाथि भिराउन मिल्दैन ।’

उनले पार्टीका सभापति र महामन्त्रीहरूबीचको भेटलाई सामान्य रुपमा लिन समेत आग्रह गरे ।

सभापति देउवाले पार्टीका बैठकका विषयमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र शर्मासँग छलफल गरेका हुन् । कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दैछ भने २८ पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।

२०७९ पुष २२, शुक्रबार प्रकाशित 1 Minute 191 Views

ताजा समाचार