झापा । कोशी प्रदेशको पुनः नामकरणको माग सहित आन्दोलित बनेका पहिचानवादीहरूले झापाका सरकारी कार्यालयहरूको बोर्डमा लेखिएको कोशी प्रदेश नाम मेटाउँदै हिँडेका छन् ।
पहिचानवादीहरूले आइतबार बिर्तामोड नगरपालिका, नगरका विभिन्न वडा कार्यालय, यातायात व्यवस्था कार्यालय, खानेपानी तथा सरससफाई डिभिजन कार्यालय झापा, कृषि ज्ञान केन्द्र, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, कृषि विकास बैङ्क, भूमिसुधार तथा मालपोत कार्यालय, जिल्ला आयुर्वेद कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कलबलगुडीस्थित अनुसन्धान केन्द्र कार्यालयको साइन बोर्डमा लेखिएको कोशी प्रदेश नामलाई मेटाएका छन् ।

पहिचानवादीहरूले बिर्तामोड नगरपालिका कोशी लेखिएको ठाउँमा कालो रङले पोतेर १ नम्बर प्रदेश लेखेका छन् । कालो झन्डासहित आइतबार बिहान १० बजे पहिचानवादीहरूको एउटा समूहले बोर्डको नाम मेटाउन नगरपालिकाको कार्यालय पुगेका थिए । त्यस्तै आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष तथा प्रदेश नम्बर १ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरीको नेतृत्वमा कालो झन्डा बोकेर आएको टोली सदरमुकाम भद्रपुरस्थित सरकारी कार्यालयहरूमा जाँदै कोशी प्रदेश लेखिएको बोर्डमा ‘किराँत–लिम्बुवान’ प्रदेश लेख्दै फर्किएका थिए ।
कार्यालयहरूको भित्तामा टाँसिएको कोशी प्रदेश लेखिएको जनचेतनामूलक पोस्टर समेत सो समूहले च्यातेर फालेका थिए । प्रदेशसभाको बहुमतले कोशी प्रदेश नामकरण गरेपछि पहिचानवादीहरू निरन्तर आन्दोलन गरिरहेका छन् । आन्दोलनरत उनीहरूले स्वरूप फेर्दै सरकारी कार्यालयको बोर्ड संशोधन अभियानमा जुटेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



