२०८३ असार १७ बुधबार

झापामा नागरिकता वितरणका लागि टोकन प्रणाली

झापा । नागरिकता लिनेको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले पालिका अनुसार आलोपालो प्रणाली लागु गरेको छ। जन्मसिद्ध नागरिकका सन्तानबाहेकले लिने नयाँ नागरिकताका लागि आलोपालो कायम गरिएको सो कार्यालयले जनाएको छ ।

नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपश्चात् जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु गरिएपछि जिल्ला प्रशासन कार्यालय झापामा भिड बढेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार झापामा २६ हजार ४३० जनाले जन्मसिद्ध नागरिकता लिएका छन्।

सो कार्यालयका अनुसार औसत रूपमा विश्लेषण गर्दा एक जना व्यक्तिका दुई सन्तानका दरले हिसाब गर्दा जम्मा ५२ हजार ८६० जना नागरिकताका लागि आउन सक्ने अनुमान छ। तीमध्ये बाबु र आमा दुवैको नागरिकता भएकाहरू ४५ हजारलाई नागरिकता वितरण गर्नुपर्ने हुन आउँछ, पोखरेलले भने।

अहिलेकै जनशक्ति र क्षमताका आधारमा कार्य गर्दा दैनिक बढीमा १५० वटा नयाँ नागरिकता जारी गर्न सकिने अवस्था छ। जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण कार्यको टोकन वितरण गर्दा २०८० भदौ दोस्रो हप्तासम्मका लागि पाँच दिनमै वितरण भइसकेको पनि बताइएको छ।

नियमिततर्फको नयाँ नागरिकता (जन्मसिद्धका सन्तान बाहेक) वितरण कार्यलाई पालो लगाई जन्मसिद्धका सन्तानको नागरिकता वितरण सङ्ख्या वृद्धि गर्नुपर्ने देखिएकाले असार १७ गतेदेखि लागु हुने गरी प्रत्येक स्थानीय तहलाई पालो लगाइएको र सो विषयमा सार्वजनिक सूचना गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।

२०८० असार १६, शनिबार प्रकाशित 0 Minutes 333 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।