झापा । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि कुटपिट भएको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै उनीहरूले चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्।
कर्मचारीका अनुसार बिहीबार बिहान करिब ११ बजे शेखर ओली नाम गरेका व्यक्ति कृष्ण मगरसँग सम्बन्धित विद्युत चुहावटको फाइल लिएर वितरण केन्द्र पुगेका थिए। फाइलको विषयमा विवाद भएपछि कार्यालयका कर्मचारीमाथि हातपात भएको आरोप कर्मचारी पक्षको छ।
घटनाबारे छलफल गर्न पीडित कर्मचारीसहित अन्य कर्मचारी इलाका प्रहरी कार्यालय धुलाबारी जाने क्रममा प्रहरी कार्यालयको गेटमै अर्को समूहले आक्रमण गरेको कर्मचारीले बताएका छन्। मेचीनगर–११ का शम्भू राजवंशीसहित १४–१५ जनाको समूहले आफूहरूमाथि साङ्घातिक आक्रमण गरेको उनीहरूको आरोप छ।
आक्रमणबाट केही कर्मचारीको टाउको, आँखा, छाती र गर्दनमा चोट लागेको जनाइएको छ। घाइते कर्मचारीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय, मेचीनगर नगरपालिका, नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय र कोशी प्रादेशिक कार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमार्फत उनीहरूले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न तथा कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन्।
कर्मचारीले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमअनुसार माग सम्बोधन नभए साउन ३० र ३१ गते हातमा कालोपट्टी बाँधेर नियमित काम गर्ने, भदौ १ गते बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिने कार्यक्रम तय गरिएको छ।
भदौ २ गते पनि माग पूरा नभए बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रशासन कार्यालयमा धर्ना दिने कर्मचारीले बताएका छन्। त्यसबाट समेत समस्या समाधान नभए अत्यावश्यक सेवामा कार्यरत कर्मचारीसमेत कामबाट अलग हुन सक्ने चेतावनी दिइएको छ।
कर्मचारीहरूले विद्युतजस्तो अत्यावश्यक सेवा प्रवाहमा खटिएका कर्मचारीमाथि कार्यालय तथा सार्वजनिक स्थानमै आक्रमण हुनु गम्भीर विषय भएको भन्दै दोषीमाथि तत्काल कारबाही गर्न माग गरेका छन्। माग पूरा नभए सेवा प्रवाहमा आउन सक्ने समस्याको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने उनीहरूको भनाइ छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


