२०८१ बैशाख १७ सोमबार

प्रतिनिधिसभा सदस्यभन्दा प्रदेश १ का सांसदलाई बढी सुविधा

बिराटनगर । प्रदेश १ सभाका नवनिर्वाचित ९३ जना प्रदेश सांसदहरुलाई यही साता शपथ ग्रहण गराउने तयारी भइरहेको छ । उनीहरुले शपथ ग्रहण गरेकै दिनदेखि पारिश्रमिक तथा सुविधा पाउने छन् । प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ अनुसार उनीहरुले शपथ ग्रहण गरेका दिनदेखि पारिश्रमिक र सुविधा पाउने हुन् । उक्त ऐनमा भएको व्यवस्थाबमोजिम प्रतिनिधिसभाका सांसदभन्दा प्रदेश सांसदले बढी सुविधा पाउने देखिएको छ ।

उक्त ऐनको प्रदेश मत्रिपरिषद्‍द्वारा संशोधित अनुसूची १ अनुसार प्रदेश सांसदले प्रतिनिधिसभाका सांसदभन्दा फर्निचरबापत प्राप्त गर्ने एकमुष्ट रकममा ५ हजार र आवास सुविधा एक हजार बढी पाउँछन् । प्रतिनिधिसभाका सांसदले फर्निचरबापत १५ हजार र घर नभएकालाई आवास सुविधा मासिक १८ हजार दिने संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ मा उल्लेख छ ।

तर प्रदेश १ का सांसदले फर्निचरबापत २० हजार र विराटनगरदेखि १५ किलोमिटरभित्र उपयुक्त घर नभएकालाई आवास सुविधाबापत मासिक १९ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ । घर भएकालाई वार्षिक एक्मुष्ट मर्मत खर्च ६० हजार उपलब्ध गराउने व्यवस्था छ । तर पहिलो प्रदेशसभाका सांसद तथा हालका स्वास्थ्यमन्त्री जयराम यादवले विराटनगरमा घर भए पनि आवास सुविधाबापतको रकम प्रदेशसभा सचिवालयबाट बुझेका थिए ।

प्रदेश सांसदले प्रतिमहिना पारिश्रमिक ५३ हजार १ सय, बैठक भत्ता एक हजार, टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि २ हजार ५ सय, प्रदेशसभा र संसदीय समितिको बैठकमा सहभागी भएका दिन यातायात खर्च २५० रुपैयाँ पाउने व्यवस्था छ । प्रदेश सांसदलाई सुब्बासरहका स्वकीय सचिव, बिजुली, धारा महसुल १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार, विदेश भ्रमण गर्दा दैनिक १७५ अमेरिकी डलर र १० लाखको यात्रा बिमाको सुविधा रहेको छ । उनीहरूलाई सरकारी तथा सामुदायिक अस्पतालमा स्वास्थ्योपचार गरेको खर्चसमेत उपलब्ध गराउने कानुनी व्यवस्था छ ।

सभामुखलाई मासिक पारिश्रमिक ६२ हजार ५४०, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ४ हजार, आवास, गाडी, इन्धन १५० लिटर, मोबिल १० लिटर, बिजुली, धारा महसुल २ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार ५ सय, फर्निचर, अतिथि सत्कार ७ हजार, स्वकीय सचिव अधिकृत, सुब्बा, सूचना प्रविधिका लागि खरिदारसरह १/१ जना, श्रेणीविहीन प्रथम स्तरका सवारी चालक र कार्यालय र आवास सहयोगी २ जना उपलब्ध गराउने व्यवस्था छ । विदेश भ्रमण गर्दा दैनिक भत्ता २ सय अमेरिकी डलर र यात्रा बिमाको सुविधा रहेको छ ।

उपसभामुखलाई मासिक पारिश्रमिक ५९ हजार, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा, फर्निचर उपलब्ध गराउने र नभए एकमुष्ट २० हजार, सवारी, मासिक इन्धन १२५ लिटर, मोबिल ५ लिटर, बिजुली, धारा महसुल २ हजार, अतिथि सत्कार ५ हजार, दैनिक भ्रमण भत्ता २ हजार, स्वकीय सचिव सुब्बासरह, श्रेणीविहीन प्रथम स्तरका सवारी चालक र कार्यालय सहयोगी १/१ जना उपलब्ध गराउने व्यवस्था छ ।

प्रमुख प्रतिपक्षी दलका नेतालाई मासिक पारिश्रमिक ५९ हजार, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा २१ हजार, फर्निचरका लागि एकमुष्ट २० हजार, सवारी, मासिक इन्धन १२५ लिटर, मोबिल ५ लिटर, बिजुली, धारा महसुल १ हजार ५ सय, अतिथि सत्कार ५ हजार, दैनिक भ्रमण भत्ता २ हजार, स्वकीय सचिव सुब्बासरह, श्रेणीविहीन प्रथमस्तरका सवारी उपलब्ध गराउने व्यवस्था छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकलाई मासिक पारिश्रमिक ५७ हजार ८२०, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा १९ हजार, फर्निचरका लागि एकमुष्ट २० हजार, सवारी, मासिक इन्धन १२५ लिटर, मोविल ५ लिटर, बिजुली, धारा महसुल १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार, स्वकीय सचिव सुब्बासरह, श्रेणीविहीन प्रथम स्तरका सवारी उपलब्ध गराउने व्यवस्था छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकलाई मासिक पारिश्रमिक ५७ हजार ८२०, बैठक भत्ता दैनिक १ हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा १९ हजार, फर्निचरका लागि एकमुष्ट २० हजार, यातायात खर्च मासिक ७ हजार ५ सय, बिजुली, धारा महसुल १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार, स्वकीय सचिव सुब्बासरह उपलब्ध गराउने व्यवस्था छ ।

उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकले विदेश भ्रमण गर्दा दैनिक भत्ता १७५ अमेरिकी डलर र यात्रा बिमा १९ लाखको सुविधा रहेको छ । प्रतिनिधिसभाका सांसदभन्दा प्रदेश सांसदलाई बढी सुविधाबारे प्रदेश सरकारका कसैले बोल्न चाहेनन् ।

२०७९ पुष ४, सोमबार प्रकाशित 0 Minutes 399 Views

ताजा समाचार