२०८१ बैशाख १६ आईतवार

चिकित्सकहरुद्वारा स्वास्थ्य सेवा बन्द गर्ने आन्दोलन स्थगित

 

चिकित्सकहरुले स्वास्थ्य सेवा बन्द गर्ने आन्दोलन स्थगित गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा भएको आन्दोलन सरकारसँग आज सिंहदरबारमा वार्ता भएसँगै छ बुँदे सहमति गरेर स्थगित भएको हो । वार्तामा चिकित्सक कुटिएको घटनाको एक हप्ताभित्र छानबिन गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको चिकित्सक संघले जनाएको छ । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने सहमति पनि दुई पक्षविच भएको छ ।

विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा स्वास्थ्य संस्था, विद्यालय लगायतका संवेदनशील क्षेत्रहरुमा असहजता नहुनेगरी विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ लाई परिमार्जन गर्न एक हप्ताभित्र सुझाव पेस गर्ने सहमति पनि भएको छ । सुझावलाई सरकारले कार्यान्वयनमा लैजाने प्रतिबद्धता सरकारले जनाएको छ । सहमति पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् । यसअघि आन्दोलनका क्रममा चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेपछि देशभरका अस्पतालमा सेवा प्रभावित भएको थियो ।।

२०७९ माघ २९, आईतवार प्रकाशित 1 Minute 136 Views

ताजा समाचार