२०८२ जेष्ठ २४ शुक्रबार

सापकोटा र सांसद दोङमाथि अपहरण तथा ज्यान मुद्दामा अनुसन्धान गर्ने बाटो खुला

तत्कालीन प्रचण्ड र बाबुराम सरकारका निर्णय खारेज

न्युज अफ नेपाल

काठमाडौं ।

पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा तथा काभ्र्रे १ का माओवादी सांसद सूर्यमान दोङविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।१२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बुधबार सर्वोच्चको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गरेपछि सापकोटासहित पूर्वऊर्जामन्त्री एवं सांसद दोङविरुद्ध अनुसन्धान हुने भएको हो ।

अब प्रहरीले उनीहरूमाथि अनुसन्धान बढाउने छ । माओवादी द्वन्द्वकालको समयमा २०६२ साल वैशाख १६ गते माओवादी कार्यकर्ताहरूले काभ्रेको श्रीकृष्ण माविबाट अर्जुन लामालाई अपहरण गरेका थिए । असारको दोस्रो सातातिर बुढाखानी गाविसको चारकिल्ला भन्ने स्थानमा उनको हत्या गरेर शव गाडिएको अवस्थामा फेला परेको थियो । शान्ति प्रक्रिया शुरू भएपछि अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले माओवादी नेता सापकोटा, दोङलगायतविरुद्ध किटानी जाहेरी दिनुभएको थियो ।

तर, प्रहरीले राजनीतिक दबाबका कारण जाहेरी लिन अस्वीकार गरेपछि उहाँले २०६९ मंसिर ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । त्यसअघि सर्वोच्च अदालतले २०६४ सालमा जाहेरी दर्ता गर्न आदेश दिएको थियो । त्यससलगत्तै जिल्ला प्रहरी कार्यालय, काभ्रेमा जाहेरी दर्ता भई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरियो । तर, २०६५ साउन २६ गते तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले द्वन्द्वकालीन विषय भएकाले सो फाइल तामेलीमा राख्ने निर्णय ग¥यो । उक्त निर्णयविरुद्ध पूर्णिमायाले फेरि सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

तर, २०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि उक्त फाइल तामेलीमा राख्ने निर्णय गरेपछि अनुसन्धान अघि बढ्न सकेन । सर्वोच्चको बुधबारको आदेशसँगै तत्कालीन प्रचण्ड र बाबुराम नेतृत्वको सरकारले सो फाइल तामेलीमा राख्न गरेको निर्णय खारेज भएको छ ।सर्वोच्चले बुधबार यो मुद्दा अघि बढाउन उत्प्रेषण आदेश जारी गरेको हो । पूर्णिमायाका कानुन व्यवसायीका अनुसार सर्वोच्चको आदेशपछि अब सापकोटा, दोङलगायतलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन बाटो खुलेको छ ।

२०८२ जेष्ठ २३, बिहीबार प्रकाशित 0 Minutes 13 Views

ताजा समाचार