पूर्वाञ्चल दैनिक २७ औं वर्षमा

बिर्तामोड । लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका–१मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशन हुँदै आएको छ । पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २६ बर्ष पूरा गरी २७ बर्षमा प्रवेश गरेको हो । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो ।

संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल २७ वर्षमा प्रवेशको पूर्व सन्ध्यामा विज्ञप्ति जारी गरी अहिलेसम्मको यात्रामा साथ दिने, सहयोग गर्ने सबैलाई कृतज्ञता ज्ञापन गरेका छन् ।

२७ वर्ष प्रवेशसँगै पत्रिकाले विभिन्न जातिको भाषा लिपिको संरक्षण र विकासमा टेवा पु¥याउन विभिन्न भाषामा सामग्री प्रकाशन गरिरहेको छ । प्रदेश–१ मै पहिलोपटक पूर्वाञ्चल दैनिकले गत वर्षबाट किरात सिरीजङ्गा लिपिको सामग्री पाक्षिक रुपमा प्रकाशन गर्दै आएको छ ।

प्रदेश–१ का विभिन्न जिल्ला तथा भारतको केही स्थानमा समेत प्रत्यक्ष रुपमा पत्रिकाको विक्री वितरण हुँदै आएको पूर्वाञ्चल दैनिकले प्रविधिको विकाससँगै purwanchaldaily.com नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको छ । यसमार्फत ताजा अपडेट र रंगीन ई–पेपर मोवाइलबाटै पढ्न पाठकलाई सहज भएको छ ।