२०८१ बैशाख १७ सोमबार

टर्कीको भूकम्पमा मृत्यु हुनेको संख्या २ हजारभन्दा बढी

काठमाडौँ । टर्कीको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजारभन्दा धेरै पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । साथै हजारौंको संख्यामा घाइते भएका छन् ।

सोमबार बिहान स्थानीय समय अनुसार ४ बजेर १७ मिनेट जाँदा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टामै दिउँसो अर्को शक्तिशाली भूकम्प गएको थियो ।

तर त्यसबीचमा सयौं परकम्प गएका थिए । सोमबार बिहानको भूकम्प १७.९ किमीको गहिराइसम्म पुगेको थियो । उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ ।

अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । यससँगै भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् ।

यद्यपि मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा विभिन्न मिडियाले सार्वजनिक गरेका तथ्यांक फरक देखिएको छ ।सीएनएनका अनुसार सिरिया र टर्कीमा मृत्यु हुनेको संख्या २३ नाघिसकेको छ । टर्कीमा मात्रै मृत्यु हुनेको संख्या १५ सयभन्दा धेरै पुगेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटिएको प्रतिक्रिया दिएका छन् । साथै प्रभावित रहेका ८ वटा प्रान्तका गभर्नरहरूलाई टेलिफोन गर्दै पछिल्लो अवस्थाको जानकारी लिन र उद्धारलाई तीव्र बनाउने निर्देशन दिएका छन् । साथै भत्किएका संरचनामा पुरिएका मानिसलाई तत्काल उद्धार गर्नु र उनीहरूलाई अस्पताल पुर्‍याउनु आफूहरूको प्रमुख प्राथमिकता रहेको पनि उनले बताएका छन् ।

टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा टर्की पनि एक हो । जहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो ।

यसैबीच टर्कीको भूकम्पमा परी घानाका फुटबलर क्रिस्चियन अत्सु बेपत्ता भएका छन् । घानाको राष्ट्रिय टोलीका खेलाडी क्रिस्चियन अत्सु सोमबार टर्कीमा गएको भूकम्पमा परी बेपत्ता भएका हुन् । ३१ वर्षीय खेलाडी क्रिस्चियन पाँच वर्षसम्म न्यु क्यासलबाट खेलेका थिए । भूकम्पमा परी बेपत्ता भएकाहरूको खोजी भइरहेको छ ।

२०७९ माघ २३, सोमबार प्रकाशित 0 Minutes 286 Views

ताजा समाचार