२०८१ बैशाख १६ आईतवार

झापामा चेक बाउन्स मुद्दा : ६ महिनामा १२५ मुद्दा दर्ता

झापा । झापामा चेक बाउन्सको मुद्दा दर्ता बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा नै जिल्लामा १२५ वटा चेक बाउन्सको मुद्दा दर्ता भएको छ ।

‘जिल्लामा बाउन्स चेकको मुद्दामो तथ्यांक बढिरहेको छ’ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले भने । उनका अनुसार साउनमा १६, भदौमा २१, असोजमा ९ कार्तिकमा १४, मंसिरमा २९ र पुषमा ३६ गरी ६ महिनामा जम्मा १२५ वटा बाउन्स चेकका मुद्दा दर्ता भएका छन् ।

बैङ्किङ कसुरमा मुद्दा लागेका व्यक्तिलाई बिगो बराबरको जरिवाना र बिगो अनुसारको एकदेखि पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । पछिल्लो समय चेक काटेर दिदैमा केही पनि असर नपर्ने ठानेका कारण बाउन्स चेकको मुद्दा बढेको पाठकको भनाई छ । प्रवक्ता पाठकका अनुसार जिल्लामा तुलनात्मक हिसावले बिर्तामोड र दमकमा यस प्रकारका मुद्धा धेरै आइरहेको छ ।

बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले चेक बाउन्सका मुद्धा लिएर आउनेहरुलाई अधिकतम मेलमिलापका लागि प्रयास गर्ने गरिएको बताएका छन् । उनले कारोवारको प्रकृति अनुसार मात्रै चेक बाउन्सको मुद्धा प्रहरीले हेर्ने गरेको बताए ।

डिएसपी कुँवरले भने, शुरुमा दुवै पक्षलाई कारोवार मिलाउन भन्छौं । मिलाउने प्रयास गर्दा पनि व्यवहार मिलाइएन भने कारोवारको प्रकृति अनुसार मुद्धा अघि बढ्छ । उनले औपचारिक कारोवार मात्रै प्रहरीले हेर्ने गरेको बताए ।

पछिल्लो समय अनौपचारिक कारोवार गर्ने , कारोवारको कुनै प्रमाण नहुँदा हामीले मुद्धा हेर्न समस्या हुन्छ, डिएसपी कुँवरले भने – उजुरी लिएर आउनेहरुलाई कारोवारको प्रमाण, बैंक स्टेटमेन पनि ल्याउन भनिरहेका छौं । बिर्तामोडमा पछिल्लो समय बाउन्सको मुद्धा बढिरहेको उनको भनाई छ । व्यवसायिक साझेदारी, सरसापटी र व्याजमा लगाउनेहरु चेक बाउन्सको उजुरी लिएर प्रहरीसम्म पुग्ने गरेका छन् । २÷४ लाखको चेक बाउन्स आयो भने दुई पक्षलाई मेलमिलापका लागि सहजीकरण प्रहरीले गर्ने गरेको छ ।

उनले मिटरव्याजी कारोवारीहरु प्रहरीसम्म नपुग्ने गरेको बताए । हामीले चलनचल्ती ब्याजको कुरा गर्छौं, त्यसैले मिटरब्याजीहरु आइपुग्दैनन् । मिटरव्यानजीहरुले अनौपचारिक कारोवार गर्ने गरेको पाइन्छ । जसको प्रमाण नहुँदा प्रहरीसम्म उजुरी पुग्ने गरेको छैन ।

बिर्तामोडमा २ करोडसम्मको चेक बाउन्सको मुद्धा आएको डिएसपी कुँवरले जानकारी दिए । झापामा दर्ता भएका चेक बाउन्सका मुद्धामा उच्च अदालत इलामले हेर्ने गरेको छ । प्रहरीका अनुसार चेक बाउन्सको उजुरी परेपछि फोन सम्पर्क गर्दा सम्पर्क नआउने र सम्पर्कबाट भाग्नेको छिट्टो मुद्धा दर्ता हुने गरेको छ ।

के हो चेक बाउन्स ?
भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता भयो भने त्यो ‘चेक बाउन्स’ हुनु हो । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ । एउटै चेक धेरै पटक बाउन्स भएको खण्डमा त्यसलाई बैंकिङ कसुरका रुपमा लिने गरिन्छ ।

एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैंकमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुन सक्ने कानूनी व्यवस्था पनि छ । साथै, चेक बाउन्स भएको खातावालालाई जेलको सजाय पनि हुन्छ ।

चेक बाउन्स भए के गर्ने ?
बैंक तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी गराउँछन् । यसरी खातामा रकम अपर्याप्त भएका कारण फिर्ता भएको चेक पुनः बैंकमा भुक्तानीका लागि आयो र त्यतिखेर पनि अपर्याप्त रकमका कारण चेक फिर्ता गर्नुपर्यो भने कर्जा सूचना केन्द्रमा कारबाहीका लागि बैंक तथा वित्तीय संस्थाले उजुरी दिन्छन् । हरेक पटक चेक बाउन्स हुँदा बाउन्स रिपोर्ट भने माग्नुपर्छ ।

चेक बाउन्स हुँदा बैंकले बाउन्स रिपोर्टसहित चेक फिर्ता गर्दछन् । यसरी चेक बाउन्स भएपछि सम्बन्धित खातावालालाई बैंक आफैले जानकारी दिने गर्दछ । तीन पटकसम्म पनि चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले नै सो कुरा उल्लेख गरी प्रहरीमा उजुरी गर्नुपर्छ ।

कालोसूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न पाउँदैनन् ।

२०७९ माघ १८, बुधबार प्रकाशित 0 Minutes 288 Views

ताजा समाचार