२०८१ बैशाख १७ सोमबार

चिनियाँ नागरिकले भ्रमण गर्न पाउने देशको सूचीमा छैन नेपाल

२३ माघदेखि चिनियाँले विदेश घुम्न पाउने

काठमाडौं । कोरोना भाइरसको महामारीपछि पहिलो पटक चीनले आउटबाउण्ड टूरिजम खुला गर्दैछ । ६ फेब्रअुरी (२३ माघ)बाट विदेश घुम्न पाउने चिनियाँ नागरिकले भ्रमण गर्न पाउने देशको सूचीमा नेपाल भने छैन ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले २० जनवरीमा एक सूचना प्रकाशित गर्दै निकालेको चिनियाँ नागरिकहरु आउटबाउण्ड टूरिजममा जान पाउने देशको सूचीमा नेपाल समावेश छैन् ।

चिनियाँ पर्यटन मन्त्रालयले ६ फेब्रुअरी २०२३ बाट राष्ट्रिय ट्राभल एजेन्सी र अनलाइन ट्राभल कम्पनीहरुलाई चिनियाँ नागरिकका लागि सम्बन्धित मुलुकमा आउटबाउण्ड ग्रुप टूर, एयर टिक र होटेल व्यवसाय सञ्चालनको अनुमति दिइएको छ । साथै ती कम्पनीहरुलाई आफ्ना उत्पादन, प्रचार प्रसार र प्रवद्र्धन गर्न समेत खुला गरिएको छ ।

चीनले आफ्नो नागरिकलाई थाइल्याण्ड, इण्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, यूएई, इजिप्ट, केन्या, दक्षिण अफ्रिका, रुस, स्वीट्जरल्याण्ड, हंगेरी, न्यूजील्याण्ड, फिजी, क्युबा र अर्जेण्टिनामा मात्र जान अनुमति दिएको छ ।

दक्षिण एसियामा भारत र नेपाल चीनको सूचीमा अटाएका छैनन् । सामान्यतया आउटबाउण्डमा चिनियाँ सरकारले मुलुक नै तोकेपछि पनि नागरिक घुमफिरमा निस्कन भने पाउँछन्, तर ती मुलुकमा गएका नागरिकलाई राज्यले तोके अनुसार सहजीकरण भने गर्दैन । यो कम्युनिष्ट मुलुक भएका कारण राज्यलाई बढी विश्वास गर्ने गरिन्छ । जसले गर्दा स्वभाविक रुपमा नेपालमा अपेक्षा गरे भन्दा निकै कम मात्र चिनियाँ पर्यटक आउने सक्ने नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन् ।

चीनले सिमित मुलुकलाई आउटबाउण्ड टूरिजमका लागि खुला गर्दा नेपाललाई रोक्नु चाहीं नेपाली पर्यटन व्यवसायका लागि अर्को दुर्भाग्य हुने सरोकारवालाको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल चिनियाँ पर्यटक रोकिनु भनेको नेपाली पर्यटन व्यवसायमा ५० प्रतिशत व्यवसायको हिस्सा नै खस्किनु भएको बताउँछन् । ‘कोभिड अगाडी नेपालमा भारत र चीनको हिस्सा करीब बराबरी हो,’ उनी भन्छन्, ‘चिनियाँ पर्यटक नआउँदा बजारको ठूलो क्षेत्रमा रित्तता बाँकी रहन्छ ।’

उता, ट्रेकिङ एजेन्सीज एशोसिएन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष खुमप्रसाद सुवेदी यो निर्णय नेपालको अपेक्षा विपरीत भएको भन्दै यसले व्यवसायीमा थप निरासा ल्याउने बताउँछन् ।

व्यवसायीहरुका अनुसार नेपालमा चिनियाँ पर्यटक ग्रुपमा आउँछन् । कुनै कुनै बेला एउटा ग्रुपले पुरै होटेल बुक हुने अवस्था समेत हुन्छ । बोर्डका उपाध्यक्ष रिजाल भन्छन्, ‘चिनियाँ ठूलो समूहमा आउँछन्, उनीहरुले चहलपहल निम्याउँछन्, पर्यटन उद्योग एउटा किराना पसल जस्तै हो, जुन पसलमा बढी भिड हुन्छ, नयाँ मान्छे त्यही पसलमा जान खोज्छ ।’

अर्कोतर्फ नेपालमा चिनियाँ नागरिकका कारण ‘अलसिजन टूरिजम’को अवधारणामा गतिविधि हुन थालेका थिए । व्यवसायीहरुका अनुसार चिनियाँ नागरिक यूरोपियन र भारतीयजस्तो वसन्त ऋतु वा शरद ऋतु छानेर आउँदैनन् । अर्कोतर्फ चिनियाँ जनसंख्या धेरै भएका कारण समेत उनीहरु नआउनु पर्यटनमा ठूलो धक्का हुने रिजाल बताउँछन् ।

टानका पूर्व अध्यक्ष सुवेदीका अनुसार नेपालले कोभिड पछाडि यसवर्ष (सन् २०२३)मा पर्यटनमा बढी अपेक्षा राखेको छ । जसमा चिनियाँ पर्यटकप्रति अझै बढी भरोसा थियो । उनीहरु सहजै आउने अवस्था नहुँदा होटेल, यातायात, एयरलाइन्स, रोजगारी, कृषिदेखि पर्यटनसँग सम्बन्धित बहुआयामिक क्षेत्रमा प्रभाव पर्ने उनको भनाइ छ ।

कूटनीतिक पहल गर्न माग

व्यवसायीहरुले चीनको यो कदम सच्याउन नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । बोर्डका उपाध्यक्ष रिजाल भन्छन्, ‘सबै मुलुकलाई प्रतिबन्ध कायम हुँदा भन्ने बाटो थिएन, तर २० वटा देशमा खुला गर्दा नेपाल छुट्नु दुखदः हो, सम्भव भए राजदूत र सम्भव नभए परराष्ट्र मन्त्रालयबाट पहल गरी यो प्रतिबन्ध हटाउनु पर्छ ।’

उता, बोर्डका निर्देशक लामिछाने समेत नेपाल र चीनबीच समानतामा आधारित सम्बन्ध कायम राख्न सरकारले नै जोड दिनु पर्ने बताउँछन् । नेपालले चिनियाँ पर्यटकका लागि भिसा शुल्क लिँदैन ।

२०७९ माघ १२, बिहीबार प्रकाशित 0 Minutes 494 Views

ताजा समाचार