२०८१ बैशाख १७ सोमबार

९० वर्षका विशेश्वर न्यायको खोजीमा, जग्गा एउटा देखाएर पास अर्को गरियो

मुक्ति पौडेल धुलाबारी । जिन्दगीभरको पसिनाको कमाईँ सपना एउटा सानो झुप्रोको, उमेरले ९० टेकेका विशेश्वर बैठा धोबीको जिवनको आफ्नै कथा र कहानी छ । धुलाबारीका धोबीलाई धेरैले धोका दिए फेरि पनि उनको एउटा सपना भने बाँचेकै थियो मर्ने बेलासम्ममा आफ्नो नाममा एउटा झुप्रोसम्म भए पनि तर उनको यो सपना धेरै वर्ष देखि न्यायको खोजीमा छ अर्थात आफु माथि भएको अन्यायको उजुरी लिएर विश्वेश्वर राजनीतिक दल, जिल्ला प्रशासन कार्यालयदेखि मेचीनगर नगरपालिकासम्म पटकपटक गए तर आजका दिनसम्म पनि उनले न्याय पाउन सकेका छैन ।

यस्तो छ उनको कथा
झापाको धुलाबारीमा बसेर लामो समयदेखि कपडा धुने व्यवसाय गर्दै आएका धोबी अहिले एक्लै छन् । अरुका लुगा धोएर जोडेको आनासुकी भेला गरेर उनले आज भन्दा ५ वर्ष अघि मेचीनगर-१० स्थित टिमाई पुल छेउको १० धुर जग्गा उनले ७ लाख ५० हजार रुपैयाँमा लिने सहमतिका साथ ५ लाख २५ हजार बैनासमेत गरेका थिए । तर, उनलाई जग्गा धनीले जुन जग्गा देखाएर  बैना र कागज गरियो पछिल्लो समयमा उनलाई भने बमोजिमको जग्गा नदिएर टिमाई खोला भित्रको जग्गा देखाएको धोबीको भनाइ छ । सुरुमा धोबीले जग्गा लिँदा निर्मल श्रेष्ठसँग बैनाको कागज गरेका थिए । बैनाको कागजमा धोबीलाई कित्ता नं १४३ को जग्गा दिने भनेर सहमती भएकोमा निर्मल श्रेष्ठको जग्गा सुनिल शाहले किनेपछि उनले धोबीलाई पहिला सर्त गरिएको जग्गा नदिएर कित्ता नं ७२ को जग्गा आफुलाई कित्ता नं १४३ भनेर झुक्याएर पास गरेको उनको आरोप छ । सो जग्गा अहिले टिमाई खोलामा पर्छ । बैनाको कागजमा उल्लेख गरिएको सर्त अनुसारको जग्गा नभएपछि धोबीले स्थानीय अगुवा, राजनीतिक दल, जिल्ला प्रशासन र मेचीनगरपालिकामासमेत पटकपटक गएर आफुमाथि भएको अन्यायका बारेमा बताउँदासमेत कसैले नसुनेको र कतैबाट न्याय नपाएको उनको दुःखेसो रहेको छ ।

डाँडामाथिको घाम जस्तै अवस्थामासमेत जिन्दगीभर आफुले अरुको लुगा धोएर खाईनखाई बचाएको पैसाबाट किनेको जग्गासमेत आफुले नपाउँदा कतैबाट न्याय पाउने आश हराएको धोबीको गुनासो छ । धोबीका अनुसार उनले पहिला जग्गा स्थानीय निर्मल श्रेष्ठसँग लिएका थिए र बैनाको कागज श्रेष्ठसँग गरिएको भएपनि पछि श्रेष्ठको जग्गा राकेश शाह हुदै सुनिल शाहसम्म पुगेको र सुनिलले आफुलाई कित्ता नं ७२ को जग्गा झुक्याएर पास गराएको र पछि आफुले थाहा पाएको उनको भनाई छ । जग्गा एउट देखाएर अर्का जग्गा पास गराएपछि आफुले सबैतिर हारगुहार गरेको तर कतैबाट आफुमाथि भएको जालसाचीका बारेमा सुनवाई नभएको धोबी बताउँछन् ।

मेचीनगरपालिका वडा नं १० का वडा अध्यक्ष नारायण खनालले धोबी माथि भएको अन्यायका विषयमा आफु गम्भीर भएको र यो अवस्था र उमेरका मान्छे माथि भएको अन्यायका विषयमा चुप लागेर नबस्ने बताए । धोबीलाई न्याय दिन र उनलाई झुक्याएर ठगी गर्नेहरुलाई कानुनी कारबाहीको दायरमा ल्याउन पहल गर्ने खनालले बताए । स्थानीय उमेश पोद्धारले धोबीमाथि अन्याय भएको उनलाई न्याय दिनुपर्ने बताए । पोद्धारले एउटा जग्गा देखाएर अर्को जग्गा पास गराउनु कति न्यायोचित छ उनको प्रश्न छ ।

२०७९ माघ ८, आईतवार प्रकाशित 1 Minute 1434 Views

ताजा समाचार