२०८२ बैशाख २७ शनिबार

जन्मभूमिप्रति धनकिरणको मोह : भन्छन्, ‘एक दशकयता नगरको विकासमा तल्लिन छु’

काँकरभिट्टा । गोर्खा मेमोरियल फण्ड यूकेका अध्यक्ष धनकिरण गुरुङले एक दशकयता मेचीनगरको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योजना बनाइरहेको बताएका छन् ।

द गोर्खा मेमोरियल फाउण्डेशन नेपालद्वारा गोर्खा सांगीतिक साँझ–२ को तयारीबारे आयोजित पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।

“मेचीनगरमा आवश्यक योजनाबारे सोच्दैछु”, बेलायतको फोक्सटन सिटीका पूर्व काउन्सिलरसमेत रहेका गुरुङले भने, “केही त कार्यान्वयन भए, अपेक्षा धेरै छन्, एकै पटकमा सबै सम्भव पनि छैन ।”

सन् २००९ मा बेलायतमा गोर्खा मेमोरियल फाउण्डेशन स्थापना गरेका उनले फोक्सटन सिटीमा गोर्खा स्ट्याचु बनाए र, स्वदेशको शिक्षा, स्वास्थ्य र दैवीप्रकोपतर्फ सेवा गर्न ध्यान मोडे । गृहनगरबाटै सेवाको शुभारम्भ गर्ने मनशायले गुरुङले सन् २०१८ मा मेचीनगरका प्रबुद्ध वर्गबाट राय बुझ्न छलफलमा बसे ।

“हामी बेलायतमा विशुद्ध सामाजिक काम मात्र गर्छौं, राजनीतिलाई सामाजिक काममा मिसाउँदैनौँ” विगत स्मरण गर्दै उनले थपे, “त्योबेला अलि गाह्रो पनि भो, पछि यसलाई अघि बढाउन नेपाल–बेलायत कनेक्शन गराउनुपर्यो ।”

बेलायतले नेपालका विभिन्न क्षेत्रमा वार्षिक ४० मिलियन पाउण्ड खर्च गर्दै आएको बताउँदै उनले नेपाललाई सहयोग गर्न बेलायतले नेपालमा विभिन्न संगठन सञ्चालन गर्न अधिकार दिँदै आएको उल्लेख गरे ।

“त्यसमध्ये गोर्खा फाउण्डेशन नेपाल यूके पनि एक हो” गुरुङले भने, “बेलायतले न्यूनतम ५० वर्षको ‘भिजन’ तयार गरी अनुगमन गर्न एउटा संस्था खोज्छ, त्यो आधिकारीक संस्था फाउण्डेशन नेपाल हो ।”

गोर्खा मेमोरियल फण्ड यूकेले गोर्खा फाउण्डेशन नेपालमार्फत देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, दैवीप्रकोपलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।
बेलायतमा गरिएका विभिन्न च्यारिटी शोमार्फत संकलित रकम फण्डबाट देशका विभिन्न क्षेत्रमा लगानी हुँदै आएको छ ।

सन् २०२५ मा फण्डले धुलाबारी माविलाई ३०–३२ वटा कम्प्युटर प्रदान गर्ने योजना बनाएको छ । ल्याबसहितको कम्प्युटरको तयारीबारे बुझ्न आफू नेपाल आएको गुरुङले बताए । यसअघि फण्डले काँकरभिट्टा माविलाई ल्याबसहितको ३१ वटा कम्प्युटर उपलब्ध गराएको थियो ।

ती उपकरणको १ वर्षको इन्स्योरेन्स गरेको फण्डले कम्प्युटर शिक्षकलाई १ वर्षको तलबसमेत दिएको थियो ।

सन् २०१८ मा सुरु भएको अभियान अन्तर्गत सोही वर्ष फण्डले मेचीनगर नगरपालिकालाई एउटा दमकलसहित विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको थियो । फण्डले गरेको लगानीको सही सदुपयोग भइरहेको छ वा छैन भन्नेबारे कार्यक्रममा सञ्चारकर्मीले आयोजकसमक्ष जिज्ञासा राखेका थिए ।

सो अवसरमा सन् २०२५ मा बेलायतको फोक्सटन सिटीका प्रमुख र उपप्रमुख मेचीनगर नगरपालिकाको भ्रमणका लागि नेपाल आउने जानकारी दिइयो । बेलायत सरकारको निमन्त्रणामा यसअघि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, डेपुटीमेयर मीना उप्रेतीसहितको टोली फोक्सटन सिटी गएको थियो ।

त्यसक्रममा मेचीनगरको भ्रमणका लागि नगरप्रमुख बुढाथोकी नेतृत्वको टोलीले फोक्सटन सिटीका मेर र डेपुटीमेयरलाई औपचारिक निम्तो दिएको थियो । त्यहीबेला टोलीले मेचीनगरको विकास निर्माणबारे विभिन्न प्रस्ताव राखेको थियो ।

यसअघि दुई नगरबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन झापाको मेचीनगर नगरपालिका र बेलायतको फोक्सटन सिटीबीच भगिनि सम्बन्ध स्थापना भएको थियो ।

२०८० माघ १६, मंगलवार प्रकाशित 0 Minutes 308 Views

ताजा समाचार