२०८२ बैशाख २७ शनिबार

कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शनिबारदेखि

झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघ १३ गते (शनिबार) देखि झापाको भद्रपुरबाट संवाद यात्रा सुरु गर्ने भएका छन् ।

महामन्त्री थापाले बिहान ८ बजे मेची पुलमा झण्डोत्तोलन गरी यात्रा आरम्भ गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेले बताए ।

शुभारम्भ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, कोशी प्रदेशका पदाधिकारी, संघीय तथा प्रदेश सांसद एवं पूर्वसांसद, जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय, प्रदेश सभा, क्षेत्रीय कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, गाउँपालिका, नगरपालिका, वडा र भ्रातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने पाण्डेले बताए ।

‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समेतले संयुक्तरुपमा झण्डोत्तोलन गरी यात्रा शुभारम्भ गरिने कार्यक्रम तय भएको छ ।

पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन् । कांग्रेसले केन्द्रीय समितिबाट निणर्य गरी माघ १२ गतेदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ ।

महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन् । महामन्त्री थापा शनिवार बिहान ९ः३० बजेदेखि १० बजेसम्म झापा चोकमा चिया संवाद गर्नेछन् ।

थापाको संवाद यात्रा नेपाली कांग्रेसका नेता कार्यकर्ता मात्र भेट्ने नभएर आम नागरिकसँग संवाद गर्ने भएकाले सबैसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ ।

२०८० माघ १२, शुक्रबार प्रकाशित 0 Minutes 339 Views

ताजा समाचार