२०८२ बैशाख २८ आईतवार

लोकतन्त्रमाथि चौतर्फि प्रहार भइरहेको छ : प्रदेश सांसद तामाङ

काँकरभिट्टा । कोशी प्रदेशका सांसद गोपाल तामाङले गणतान्त्रिक व्यवस्थामाथि चौतर्फि प्रहार भइरहेकाले सचेततापूर्वक अघि बढ्न आग्रह गरेका छन् ।

प्रेस क्लव मेचीनगरको नवौं वार्षिक साधारण सभाको बिहीवार उद्घाटन गर्दै उनले आम नागरिकलाई यस्तो आग्रह गरेका हुन् । “राजनीतिक अस्थिरताले प्रदेश सरकार फेरबदल भइरहेको छ” सभाको उद्घाटन सत्रका प्रमुख अतिथि रहेका तामाङले भने, “जसका कारण चौथोपटक सरकार गठन हुन पुग्यो ।”

लोकतन्त्रभन्दा सर्वोत्तम विकल्प अरु हुनै नसक्ने ठोकुवा गर्दै उनले प्रदेश सरकारले अब गति लिनेमा आफू विश्वस्त रहेको बताए ।
प्रदेशको नामाकरण गर्न सक्नुलाई एउटा महत्वपूणर् उपलब्धिको रुपमा अथ्र्याउँदै उनले दोस्रो कार्यकालमा प्रदेशलाई स्थापित गर्ने योजना रहेको बताए ।

“प्रदेशबाट जनस्तरमा सेवा प्रवाह गर्ने तयारी अनुरुप कार्यसम्पादन भइरहेको छ” प्रदेशसभा सदस्य तामाङले भने, “त्यसका लागि सञ्चार क्षेत्रबाट सकारात्मक सहयोगको अपेक्षा छ ।”

सरकारको फितलो नीतिकै कारण स्वदेशमा उत्पादित कृषिजन्य उत्पादनले बजार पाउन नसकेकोप्रति चिन्ता प्रकट गर्दै उनले नेपाली कृषक मार खेप्न बाध्य भएका बताए ।

क्लवले नगरका सञ्चारकर्मीहरुको चौतर्फि हितका लागि स्थापना गरेको अक्षय कोषका लागि प्रदेश सांसद तामाङले व्यक्तिगत रुपमा १५ हजार रुपैयाँ सहयोग गर्ने वचनबद्धता व्यक्त गरे ।

त्यसक्रममा विशिष्ट अतिथि मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले पछिल्लो दशक पूर्वी नाकाको आयातको अवस्था धरासायी बनेको बताए ।

आयातमा चुलिएको संकट सुधारोन्मुख नभए देशको प्रमुख भन्सार नाकामध्येको काँकरभिट्टा नाकाले अबको २० वर्षपछि पशुपति भन्सारको नियति व्यहोर्न सक्ने बताए ।

सो अवसरमा मेचीनगर वडा नम्बर ५ का अध्यक्ष कनकबहादुर कार्की, ७ का अध्यक्ष प्रल्हादमणि ओली, ८ का अध्यक्ष गिरीराज धमला, क्लवका पूर्व अध्यक्ष मुक्ति पौडेल, ज्ञानेन्द्र निरौला, सन्तोष आचार्य, निवर्तमान अध्यक्ष लक्ष्मी उप्रेती, अग्रज पत्रकार जीएन शर्मा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) जिल्ला अध्यक्ष भूमिका सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

क्लवका अध्यक्ष एवं कार्यक्रमका सभापति डम्बर बरालले अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष जी.आर.धिताल र सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

कार्यक्रममा क्लवको अक्षय कोष वृद्धिमा सघाउ पुर्याउन वडाअध्यक्षहरु ओलीले ५ हजार, कार्कीले ५ हजार, धमलाले ५ हजार ५ सय ५५ र क्लवका उपाध्यक्ष धितालले ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।

कार्यक्रममा मेचीनगर वडा नम्बर ६ की सदस्य सीमा रसाइली, मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चौलागाईं, प्रेस चौतारी मेचीनगरका अध्यक्ष हेमन्त निरौला, नाइट चेस क्लवका अध्यक्ष विश्वविजय घिमिरे, काँकरभिट्टा खानेपानी संस्थाका अध्यक्ष राजकुमार पराजुली, होटल व्यवसायी संघ मेचीनगरका पूर्व अध्यक्ष अर्जुन सुब्बा, सशस्त्र प्रहरी नायव उपरीक्षक बीरेन्द्र खनाल, प्रहरी निरीक्षक अर्जुन पोखरेललगायतको आतिथ्यता थियो ।

यसैबीच, सभाको उद्घाटन सत्रमा अध्यक्ष बरालद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विनिशा शर्माद्धारा बन्द सत्रमा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

२०८० पुष २६, बिहीबार प्रकाशित 0 Minutes 224 Views

ताजा समाचार