२०८३ भाद्र १८ बिहीबार

“कोशी कोरिडोर” का नाममा अघि बढाइएको योजना पुनरावलोकन गर्नुपर्छ – विशालकृष्ण

सर्वविदितै छ, बाहुनडाँगी लामो समयदेखि भारतबाट आउने जंगली हात्तीका कारण सधैँ त्रासदीपूर्ण जीवन बाँच्न बाध्य छ । हात्तीको आवागमन रोक्ने प्रयासहरू नगरिएका होइनन् । अलग अलग समयमा विभिन्न प्रयासहरू भए, तर ती खासै प्रभावकारी हुन सकेनन् ।


हाल मेची नदी किनारमा लगाइएको सोलार फेन्सिङ केही हदसम्म वैज्ञानिक र प्रभावकारी साबित भएको थियो । उक्त फेन्सिङपछि बाहुनडाँगीले केही राहतको सास फेर्न पाएको महसुस गरेको थियो । तर त्यसलाई पनि विफल तुल्याउने उद्देश्यले पटक पटक विभिन्न प्रयासहरू भए। कहिले तार काट्ने, कहिले ब्याट्री चोरी गर्ने जस्ता घटना भइरहे । यी सबै घटनाहरू कसले र किन ग¥यो भन्ने विषयमा बाहुनडाँगीवासीले नजिकबाट नियालिरहेका थिए र अहिले पनि नियालिरहेका छन् ।


बाहुनडाँगीको हात्ती समस्या विभिन्न कालखण्डमा राजनीतिक तथा विभिन्न संघ–संस्थाहरूको खेल मैदान बन्दै आएको देखिन्छ । त्यति मात्र होइन, बाहुनडाँगीका वास्तविक हात्तीपीडित नागरिकहरूको पीडालाई विभिन्न एनजीओ तथा आइएनजीओ समक्ष प्रस्तुत गरेर एउटा निश्चित स्वार्थ समूहले त्यसैलाई आफ्नो जीविकोपार्जनको माध्यम बनाउँदै आएको र हात्तीको आवागमनलाई …सहअस्तित्वÚको नाम दिएर यहाँका किसानहरूको पीडामा नुनचुक छर्ने काम भइरहेको स्पष्ट रूपमा देख्न सकिन्छ ।


त्यति मात्र नभई, यही स्वार्थ समूहको पहलकदमी तथा विभिन्न अन्य छलछामपूर्ण गतिविधिमा संलग्न संस्थाहरूका अवैज्ञानिक र असान्दर्भिक योजनाको प्रभावमा परेर वर्तमान सरकारले समेत आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा स्थानीयवासीसँग पर्याप्त छलफल नगरी तथा स्थलगत वस्तुस्थितिको यथार्थ मूल्याङ्कन नगरी घुमाउरो ढंगबाट “कोशी कोरिडोर”को योजना अघि बढाएको हाम्रो बुझाइ छ ।


हाम्रो दृष्टिमा यो योजना अत्यन्तै असान्दर्भिक, स्थानीय रैथाने कृषि भूमि विनाशकारी तथा स्थानीयवासीको स्वतन्त्र र सुरक्षित जीवनयापन गर्न पाउने अधिकारमाथि प्रतिकूल प्रभाव पार्ने खालको छ । त्यसैले यस्तो योजना हामीलाई मान्य छैन । सरकारले यो योजना तत्काल फिर्ता लिनुपर्छ ।
यस्ता जनविरोधी योजनाका विषयमा नागरिकलाई समेत जागरुक गराउँदै निरन्तर खबरदारी गर्नुपर्ने आवश्यकता महसुस भएको छ ।

यही उद्देश्यका साथ २०८३ भदौ १४ गते मेचीनगर–२, बौद्धमोडमा विशेषतः बाहुनडाँगीका हात्ती प्रभावित क्षेत्रका नागरिकहरू स्वतःस्फूर्त रूपमा भेला भई यस अभियानलाई संस्थागत रूप दिने निर्णय गरेका छन् । बाहुनडाँगीबाट प्रारम्भ भएको यस अभियानलाई कोशीटप्पु वन्यजन्तु आरक्षसम्मका हात्ती प्रभावित क्षेत्रका नागरिकहरूबीच पु¥याउँदै, जनविरोधी योजनाका विषयमा जानकारी गराउने, नागरिकलाई जागरुक बनाउने, मानवीय अस्तित्वको रक्षा गर्ने तथा हाम्रो कृषि भूमिको संरक्षण गर्ने उद्देश्यका साथ “कृषि भूमि तथा सुरक्षित मानव बसोबास बचाउ अभियान” प्रारम्भ गर्ने निर्णय गरिएको छ । यस भेलाले नागरिक समाज बाहुनडाँगीका अध्यक्षको अध्यक्षतामा यस अभियानलाई निर्धारित उद्देश्यसम्म पु¥याउने गरी आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।


हामी स्पष्ट छौँ, वन्यजन्तु र मानव समाजबीचको सहअस्तित्वको कुरा व्यवहारमा लागू गर्न सहज छैन । विशेषतः हात्ती जस्तो विशाल, शक्तिशाली र जोखिमपूर्ण वन्यजन्तुसँग मानव बस्तीभित्रको सहअस्तित्वको कल्पना गर्नु व्यवहारिक रूपमा अत्यन्त चुनौतीपूर्ण छ ।


हामी हात्ती मारिनुपर्छ भन्दैनौँ । हामी मानव बस्तीको विकासका नाममा हात्तीको प्राकृतिक वासस्थान मासिनुपर्छ पनि भन्दैनौँ । तर हामी स्पष्ट रूपमा भन्छौँ कि मानव बस्ती तथा कृषि क्षेत्रमा हात्तीको अनियन्त्रित प्रवेश रोकिनुपर्छ । र, वैज्ञानिक तथा प्रभावकारी उपाय अपनाउने हो भने यो सम्भव छ । त्यसैले स्थानीय सरकार तथा नेपाल सरकारले यस्ता कुनै पनि योजना ल्याउँदा त्यसको दूरगामी प्रभावका बारेमा स्थानीय प्रभावित क्षेत्रका बासिन्दासँग गहन छलफल गर्नुपर्छ । स्थलगत वस्तुस्थिति, स्थानीय नागरिकको वास्तविक समस्या र उनीहरूको जीवन तथा जीविकोपार्जनमाथि पर्ने प्रभावको यथार्थ अध्ययन नगरी हचुवाको भरमा कुनै योजना अघि बढाइनु हुँदैन । त्यसकारण “कोशी कोरिडोर”का नाममा अघि बढाइएको वर्तमान योजना तत्काल पुनरावलोकन गरी प्रभावित क्षेत्रका नागरिकसँग गहन छलफल गर्न तथा जनविरोधी र कृषि भूमि विनाशकारी प्रकृतिको योजना भए त्यसलाई तत्काल फिर्ता लिन हामी सरकारसँग जोडदार माग गर्दछौँ ।


यस अभियानमा हामीलाई सबैभन्दा पहिले स्थानीयवासीको साथ, सहयोग र ऐक्यबद्धताको अपेक्षा गर्दछौँ । साथै, स्थानीय सरकारले आफ्ना नागरिकको पीडादायी आवाजको नेतृत्व गर्दै उनीहरूको वास्तविक समस्या तथा मागलाई सम्बन्धित निकायसम्म पु¥याउन प्रभावकारी पहल गरोस् भन्ने हाम्रो अपेक्षा छ । मानवको सुरक्षित बसोबास, किसानको कृषि भूमि र स्थानीय नागरिकको स्वतन्त्र जीवनयापनको अधिकारको संरक्षणका लागि यो अभियान निरन्तर अघि बढ्नेछ ।


– विशालकृष्ण बास्तोलाको फेसबुक वालबाट

२०८३ भाद्र १५, सोमबार प्रकाशित 0 Minutes 428 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।