२०८३ श्रावण ५ मंगलवार

मेचीनगरमा सिटी सफारी र वन कार्यालयको स्कार्पियो ठोक्किँदा एक महिलाको मृत्यु, चालक नियन्त्रणमा

भद्रपुर। झापाको मेचीनगरमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। बिहान पौने एघार बजे मेचीनगर नगरपालिका–१५ कालिका स्थित भित्री सडकखण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ आउदै गरेको प्रदेश १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट जादै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेश ०१–००२ झ ७३६० नम्बरको स्कार्पियो एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा सिटी सफारीमा सवार मेचीनगर–१५ निवासी करिब ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा बिहान सवा एघार बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि स्कार्पियो चालक सवारीसहित फरार भएका थिए। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक निरेश चापागाईंको कमाण्डमा खटिएको टोलीले बिहान ११.५० बजे मेचीनगर–४ बाहुनडाँगीबाट स्कार्पियो र चालक भद्रपुर नगरपालिका–१० निवासी ५४ वर्षीय लिला श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सिटी सफारी चालक मेचीनगर–६ निवासी गम्भीर प्रसाद बातर प्रहरीको सम्पर्कमा रहेका छन् भने दुर्घटनाग्रस्त सिटी सफारी अस्थायी प्रहरी चौकी ज्यामिरगढीको नियन्त्रणमा राखिएको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

२०८३ श्रावण ४, सोमबार प्रकाशित 0 Minutes 27 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार