एक्सेल नेपालकै पहिलो प्रादेशिक बैंक बन्ने

बिर्तामोड । पाँच जिल्लामा कार्यक्षेत्र रहेको एक्सेल डेभलपमेन्ट बैंकले नेपालकै पहिलो प्रादेशिक बैंक बन्ने योजना सार्वजनिक गरेको छ ।

झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर गरी पाँच जिल्लामा रहेको बैंकको सेवालाई विस्तार गर्दै प्रदेश १ का चौधवटै जिल्लामा पुर्याउने बैंक सञ्चालकहरुले बताएका छन् ।

शनिबार बिर्तामोडमा आयोजित बैंकको १५ औं वार्षिक साधारण सभामा सञ्चालकहरुको तर्फबाट यस्तो प्रतिवद्धता सार्वजनिक गरिएको हो ।

सो सभामा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा वित्तीय विवरण स्वीकृत गरिएको थियो ।

सभामा बेल्दै बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दिनेश पोख्रेलले आफूहरु नेपालकै पहिलो प्रादेशिक बैंक बन्ने आकांक्षाका साथ अघि बढेको बताए ।

बैंकका कायम मुकायम सिइओ लेखराज कार्कीले बैंकले विगतको तुलनामा हाल ६० प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको बताए ।

वैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा रु १० अर्ब भन्दा बढी रहेको छ भने निक्षेप संकलन रु ११ अर्बभन्दा बढी रहेको अध्यक्ष महेन्द्रकुमार गोयलद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा समेटिएको छ ।

१ लाख ५० हजारबढी ग्राहकहरु बीचमा निक्षेप कोरोबार गरिरहेको बंैकले निकट भविष्यमा एक करोडबढीको व्यवसायीक लागानि अघि बढाइने जानकारी गराइएको थियो ।

सो अवसरमा सञ्चालक तथा पूर्व अध्यक्ष हेमराज ढकाल, संस्थापक सञ्चालक डा. रुपक खनाल, संस्थापक शेयर धनि सुवेशकुमार अग्रवाललगायतले बैंकिङ गतिविधिको चर्चा गरेको कार्यक्रममा स्वागत सञ्चालक सदस्य सुष्मा शर्मा तथा सञ्चालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।