वडा समितिले भन्यो, ‘जनताले विश्वप्रकाश खोजेका छन्’

मेचीनगर । नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मालाई पार्टीको केन्द्रीय महामन्त्री पदमा जिताउन मेचीनगर वडा नम्बर ९ समितिले सबै कांग्रेसीजनमा आह्वान गरेको छ ।

नेपाली कांग्रेस मेचीनगर वडा नम्बर ९ समितिका सभापति उद्धव बानियाँले प्रखर युवा नेता शर्मालाई कांग्रेसको महामन्त्री बनाउन अपिल गरेका हुन् । शर्माले बिहीवार नेपाली कांग्रेसको महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् । उनले सुन्दरीजलमा पुगेर आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

पार्टीका प्रवक्ता शर्मा मेचीनगर ९ निवासी हुन् । उनको गृह वडा समितिले कांग्रेस पार्टी हाँक्न सक्ने सक्षम युवा नेता शर्माको पक्षमा उभिन सम्पूर्ण कांग्रेसजनमा आह्वान गरिएको छ । ‘विश्वप्रकाश शर्मा महान् युवा नेता हुनुहुन्छ,’ वडा सभापति बानियाँले भने, ‘उहाँ हाम्रो मात्र होइन, देशकै गौरव गर्न लायक नेताको रुपमा परिचित हुनुहुन्छ । त्यसैले शर्मालाई महामन्त्रीमा जिताउन अपिल गर्दछु ।’

वडा सभापति बानियाँले देशको मुहार फेर्न र कांग्रेस पार्टीलाई थप सुदृढ बनाउन शर्माको जितको खाँचो रहेको औंल्याए । उनले कांग्रेस पार्टीले विश्वप्रकाश शर्माजस्ता ‘भिजन’ बोेकेका नेतृत्व खोजिरहेको स्पष्ट पारे ।

शर्माले महामन्त्री बनेर जनता र राष्ट्रको विकासमा परिवर्तन गरेको आम जनताले हेर्न चाहेको बानियाँले बताए । नेता शर्मा महामन्त्रीमा उठ्ने घोषणा गरेसँगै महाधिवेशनमा होमिएका छन् । यसैक्रममा उनी गृह जिल्ला झापा आउने कार्यक्रम तय भएको छ ।