परीक्षाको हाउगुजी

यतिष ओझा । चर्चा परीक्षाको अनि परीक्षा स्थगनको छ । कोभिड-१९ महामारीले शैक्षिक क्षेत्र पनि प्रभावित बनेको छ र शैक्षिक गतिविधि त लामो समयसम्म ठप्पजस्तै छन् । परीक्षा सञ्चालन नहुँदा विद्यार्थीको शैक्षिक वर्ष खेर जाने भएकाले जसरी पनि सञ्चालन गर्ने दाबी शैक्षिक निकायहरू गरिरहन्छन् ।

उता विद्यार्थीहरू भने आवश्यक स्वास्थ्य मापदण्डको अभाव र भ्याक्सिनको अनुपलब्धताका कारणले भौतिक उपस्थितिमा लिइने परीक्षा असुरक्षित भएको र त्यसलाई रद्द गर्नुपर्ने बताउँछन् । यस लेखमा कोभिड-१९ महामारी र स्वास्थ्य मापदण्डलगायतका विषयमा भन्दा पनि समग्र परीक्षा प्रणालीकै औचित्यमाथि चर्चा गरिएको छ ।

नेपालका विद्यार्थीलाई सबैभन्दा धेरै डर के को लाग्छ ? भनेर सोध्ने हो भने अपवादबाहेक सबैले दिने उत्तर हो-परीक्षाको । अझ भनौँ परीक्षा दिएपछि प्राप्त हुने परीक्षाफलको । परीक्षाको बुझाइ परिस्थिति र अवस्थाअनुसार फरकफरक हुन सक्छ । तर, नेपालमा परीक्षा भन्नेबित्तिकै अधिकांशको दिमागमा सबैभन्दा सुरुमा आउने प्रक्रिया हो- किताब वा नोटबाट शब्दहरू रट्ने, याद गर्ने र जाँचकापीमा उतार्ने ।

नेपालका विद्यालय र विश्वविद्यालयहरूले लिने परीक्षाले विद्यार्थीमा अत्यधिक डर र तनावको स्थिति सिर्जना गर्छ । भाषाको सुविधा, भौगोलिक अवस्थिति, लैङ्गिक, धार्मिक, जातीय पहिचानलगायतका संरचनात्मक लाभका कारणले शिक्षा प्राप्त गर्न कुनै समस्या व्यहोर्नु नपरेको विद्यार्थी पनि परीक्षादेखि डराएकै हुन्छ ।

शिक्षकले पढाएको कुरा बुझ्न र त्यसलाई जस्तोसुकै अवस्थामा आफ्नै तरिकाले व्यक्त गर्नलाई कहिल्यै समस्या नहुने विद्यार्थीको मुटुमा पनि परीक्षाले भने ढ्याङ्ग्रो बजाइदिन्छ । झन् सामाजिक संरचनाको पिँधमा रहेको समुदायका विद्यार्थी र फरक सिकाइ तरिकाको आवश्यकता भएका फरक क्षमताका विद्यार्थीलाई त यो परम्परागत परीक्षा प्रणाली हाउगुजी नै बनेको छ ।

विद्यार्थीले जतिसुकै पढेर सबैकुरा जानिसकेपछि पनि परीक्षा हलमा छिर्नुअघि कहिल्यै निश्चिन्त हुन सक्दैनन्, कताकता तनाव भइरहन्छ । कक्षा चढ्दै गएसँगै परीक्षाफलका अङ्कहरू भारी हुन थाल्छन् ।

नयाँ कक्षाको पहिलो दिन स्कूल जाँदा एउटा विद्यार्थीको त्यस वर्षको लक्ष्य वार्षिक परीक्षामा कसरी टप गर्ने वा राम्रो अङ्क ल्याउने, तुलनात्मक रूपमा अरुभन्दा अब्बल हुने इत्यादि हुन थाल्छ । शिक्षकले कक्षामा पढाइरहँदा अधिकांश विद्यार्थीको मुख्य चासो परीक्षामा के आउँछ ? भन्ने नै हुन्छ । परीक्षा पास गर्नु, त्यसमा राम्रो अङ्क ल्याउनु वा अझ भनौँ-टप गर्नु (प्रथम हुनु) सबै विद्यार्थीको एकमात्र र अन्तिम लक्ष्य हुन थाल्छ ।

बाल्यावस्था र विद्यार्थी जीवनमा कैयौँ महत्त्वपूर्ण पाटाहरू हुन्छन् । परीक्षा र त्यसको फलमा हुने अङ्कहरू त फगत एउटा पाटो मात्र हो । तर अहिलेको परीक्षा प्रणालीले एउटा विद्यार्थीको सिङ्गो व्यक्तित्व र भविष्य नै त्यही परीक्षाफलमा निर्भर गराइदिन्छ ।

निजामती सेवामा कर्मचारी भर्ना गर्नका निमित्त प्राचीन चीनबाट परीक्षाको चलन सुरु भएको मानिन्छ । उन्नाइसौँ शताब्दीमा ब्रिटिश निजामती सेवा परीक्षा सुरु गरेर र ‘क्याम्ब्रिज एसेस्मेन्ट फर स्कूल्स’ सुरु गरेर युरोपमा पनि परीक्षा लिने चलनको विकास भएको देखिन्छ ।

उन्नाइसौँ शताब्दीबाट एक्काइसौँ शताब्दीमा आइपुग्दा शैक्षिक विषयवस्तु र अवस्थामा आकाश पातालको भिन्नता आइसक्यो । तर अझै मूल्याङ्कनको आधार भने परम्परागत परीक्षा प्रणालीलाई नै बनाइरहनु दुर्भाग्यको कुरा हो । नेपालको परीक्षा प्रणालीलाई हेर्दा त परीक्षाले सिकाउने एक मात्र कुरा भनेको परीक्षामा राम्रो अङ्क कसरी ल्याउने भन्ने देखिएको छ ।

सन् २०११ मा इङ्ल्यान्डका परिक्षा बोर्डका प्रमुखहरू र परीक्षकहरू परीक्षाअगावै परीक्षामा आउने प्रश्नका बारेमा विद्यालयका शिक्षकहरूलाई सल्लाह दिएको आरोपमा निलम्बनमा परे । उनीहरूले कुन पाठमा बढी केन्द्रित हुने र विद्यार्थीको नतिजा कसरी राम्रो ल्याउने लगायतका विषयमा शिक्षकहरूलाई सिकाइरहेको भिडियो स्थानीय सञ्चारमाध्यममा प्रसारण भएको थियो । त्यसपछि उनीहरूलाई त्यहाँको संसद्ले स्पष्टीकरण पनि लिएको थियो ।

यो सिङ्गो घटनाको सम्बन्धमा ‘दि गार्जियन’मा मेहदी हसनले लेखेका छन्, ‘परीक्षाको प्रक्रियामा देखिएको यो भ्रष्ट्राचार त लक्षण मात्र हो, खासमा रोगचाहिँ परीक्षा प्रणाली आफैँ हो । विद्यार्थी र स्कूलमाझ हुने कृत्रिम र अस्वस्थ प्रतिस्पर्धा सिर्जना गराउने यो प्रणाली समग्रतामा प्रयोजनहीन छ ।’ सन् २००९ मा क्याम्ब्रिज विश्वविद्यालय रिभ्युले समेत प्राथमिक तहमा लिइने परीक्षालाई ‘पाठ्यक्रममा भएको हात्ती’को संज्ञा दिएको थियो ।

परम्परागत परीक्षाले जाँच्ने कुरा विद्यार्थीको किताबी ज्ञान मात्र हो । अझ ज्ञानभन्दा पनि किताबमा भएको सूचना कतिसम्म याद गर्न सक्छ भन्ने कुरा जाँचिन्छ । एउटा कोठामा बस्नु, स्मृतिमा रहेका कुराहरू कापीमा उतार्नु नै विद्यार्थीको मूल्याङ्कनको एक मात्र र प्रमुख आधार बनाइन्छ भने यसले कसैको विद्वता वा क्षमता कसरी जाँच्न सक्छ ?

मूल्याङ्कनका अनेकौँ विधि हुन सक्छन् । पाठ्यक्रममा विविध परिवर्तन आइरहेका छन्, पढाउने तरिका, पढ्ने विधि आदि सबै सम्बन्धित कुराहरू वैज्ञानिक र आधुनिक हुने बाटोतिर अघि बढिरहँदा मूल्याङ्कनका लागि चाहिँ ३ घण्टे परीक्षाबाहेक अन्य विकल्प नभएकै हो त ? कक्षाकोठाको व्यवहार, विषयको बुझाइ, कुनै विषयवस्तुमा दिइने प्रस्तुति, रिसर्च र प्रोजेक्ट वर्क इत्यादिमा संलग्नता र सक्रियता, पढेको विषयको रचनात्मक र सिर्जनशील प्रयोग र व्यावहारिक प्रयोगबारे ज्ञानलगायत मूल्याङ्कनका हजारौँ आधारहरू छन् । यति हुँदाहुँदै अवैज्ञानिक परम्परागत परीक्षा प्रणालीमा किन अल्झिरहने ?

वैकल्पिक मूल्याङ्कन विधि अपनाए विद्यार्थीले धेरै राम्रो अङ्क वा ग्रेड पाउन थाल्छन् र त्यसरी शिक्षाको गुणस्तर घट्छ भन्ने तर्क पनि सुनिन्छ । धेरै विद्यार्थीले राम्रो अङ्क पाउँदैमा शिक्षाको गुणस्तर घटिहाल्ने होइन । शिक्षाको लक्ष्य सबैलाई सिकाउने, सक्षम बनाउने हो कि एउटा समूहबाट एकदमै सीमित विद्यार्थीलाई छानेर तिमीहरू सर्वोत्कृष्ट अनि बाँकी अरूचाहिँ नीच भनेर वर्गीकरण गरिदिने हो ? शिक्षाको उद्देश्य सिकाइ हो कि शिक्षाचाहिँ मानव संशाधन छनौटको एउटा माध्यम मात्र हो ?

यसै पनि ३ घण्टे परीक्षा प्रणाली अपनाएको हाम्रो शिक्षाको गुणस्तर विडम्बनापूर्ण छ । विद्यार्थीको तनाव घटाउने, धेरै विद्यार्थीलाई सजिलो हुने र सिकाइलाई पनि प्रभावकारी बनाउने किसिमका वैकल्पिक मूल्याङ्कन विधि अपनाउन अत्यन्तै ढिला भइसकेको छ । जबजब पाठ्यक्रम सुधार वा शैक्षिक सुधारको कुरा आउँछ, ३ घण्टे परीक्षा प्रणालीलाई खारेज गरेर वैकल्पिक मूल्याङ्कन विधिबारे सर्वप्रथम सोच्नुपर्ने हुन्छ ।

यस परीक्षा प्रणालीको पक्षमा दिइने अर्कोतर्फ हो-यसले एउटा मानक तयार गरिदिन्छ, जसको आधारमा एउटै मापदण्डमा विद्यार्थीको तुलना गर्न सकिन्छ । यसमा बुझ्नुपर्ने कुरा के छ भने, आजको शिक्षाले बजारका लागि आवश्यक मेसिनरूपी मानिस मात्र तयार गरेर पुग्दैन । हाम्रा विद्यालय र विश्वविद्यालयहरूले बजारको आवश्यकताअनुरूप मापदण्ड बनाएर विद्यार्थी छनौट गर्ने आधार मात्र बनाएर पठाउनु विद्यार्थीको लागि अन्यायपूर्ण हुन जान्छ । शैक्षिक प्रणालीले सीमित उच्च वर्गीय सम्भ्रान्त मानिसहरूलाई बजारमा बिक्ने कागज मात्र दिएर पुग्दैन, सबै मानिसलाई शिक्षित र क्षमतावान बनाउने जिम्मेवारी पनि बोक्नैपर्छ, जुन यो परम्परागत परीक्षा प्रणालीबाट सम्भव छैन ।

प्रायः अभिभावक र शिक्षकहरू वैकल्पिक मूल्याङ्कनको कुरा सुन्नेबित्तिकै त्यसप्रति पूर्वाग्रही देखिन्छन् । उनीहरूले जीवनभर यस्तै परीक्षा दिँदै आएका छन् र यसैमा अभ्यस्त भएका छन् । अहिलेको शिक्षाले यस्ता परीक्षा बाहेक त अरू कुनै सत्य नै छैन भन्ने कुरा सिकाउँछ । चलिरहेको चलन र मान्यताका विरुद्ध परिवर्तनमा जाने कुरा, अथवा आफूले ठानेको सत्यको विरुद्धमा जाने कुरा स्वभावतः मानिसले स्वीकार गर्न गार्हो हुन्छ । बहुसङ्ख्यक मानिसहरूको परीक्षाप्रतिको आशक्ति त्यसैको उपज हो ।

अहिलेको शिक्षाले परीक्षाका लागि मात्र पढाउँछ । ‘आउटसाइड दि बक्स’ सोच्न सिकाउँदैन । सिर्जनशील र रचनात्मक बन्नलाई निषेध गर्छ । यसको एक मात्र लक्ष्य र उद्देश्य छ, त्यो हो रिजल्टमा राम्रो गर्ने । परीक्षाको यो हाउगुजी र राम्रो अङ्क ल्याउनैपर्ने दबाबले विद्यार्थीमा मानसिक तनाव, व्याकुलता, अनिद्रालगायतका अनेकौँ समस्या पनि निम्त्याउँछ । यसको उपाय भनेको परीक्षाको विकल्प खोज्नु नै हो । विद्यार्थीलाई परीक्षामा कसरी लेख्ने भन्दा पनि कसरी सोच्ने भन्ने कुरा सिकाउने शिक्षाको आवश्यकता छ । परीक्षालाई अन्तिम लक्ष्य रूपमा नभई सिकाइको एउटा माध्यमको रूपमा मात्र प्रयोग गर्ने प्रणाली विकास गर्नुपर्छ ।

हरेक विद्यार्थीको पढ्ने, सिक्ने र व्यक्त गर्ने तरिका फरक हुन्छन् । त्यसैले एक किसिमको रट्ने अनि रटेको कुरा कापीमा सार्ने परीक्षाको परिणामले सबैलाई कसरी न्याय गर्न सक्छ ?

यसअघि नै चर्चा गरिसकिएको परीक्षाको सुरुवात भएको चीनमा पनि आजकल शिक्षा सुधारको प्रक्रियामा परीक्षा प्रणालीलाई परिवर्तन गर्नेतर्फ धेरै कदम चलिरहेका छन् । बितेको एक दशकमा चीनमा शिक्षा सुधार कार्यक्रम अन्तर्गत अनेकौँ नीति तथा शैक्षिक प्रणालीका अवयवहरूको परिवर्तन र परिष्कार गरिएको छ, जसको एक प्रमुख लक्ष्यचाहिँ विद्यार्थीलाई हुने पढाइको बोझ घटाउनु रहेको छ । विश्वपरिवेश, भविष्य र आधुनिकीकरणलाई ध्यानमा राख्दै परम्परागत शिक्षा र परीक्षा प्रणालीले विश्वबजारमा चीनलाई प्रतिस्पर्धात्मक बनाउन नसक्ने निष्कर्ष निकाल्दै यस्ता सुधारका कार्यक्रमहरू थालिएको हो ।

चीनको साङ्घाइमा त वार्षिक परीक्षाहरू क्रमशः खारेज गरिँदै आएको छ । अहिले प्राथमिक तहमा गणित र चिनियाँ भाषाको परीक्षा बाहेक अरू कुनै पनि विषयको वार्षिक परीक्षा हुँदैन । शिक्षक र विद्यालयले नै आफैँ वैकल्पिक विधिद्वारा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । केहीदिन अघि मात्रै साङ्घाइमा विद्यालयमा अङ्ग्रेजी विषयको परीक्षामा प्रतिबन्ध लगाउने निर्णय भएको थियो, जुन निर्णयपछि विद्यार्थीले परीक्षा दिनुपर्ने विषय दुईवटा मात्र बाँकी भएका हुन् ।

शिक्षाको क्षेत्रमा विश्वमा नै उदाहरणीय मानिने फिन्ल्यान्डमा विद्यालय तहमा ‘हाइ स्टेक्स टेस्टिङ’ नै हुँदैन । अर्थात् त्यहाँका विद्यार्थीले माध्यमिक तह पढिन्जेल कुनै ठूलो परीक्षा दिनै पर्दैन । १५ वर्षका विद्यार्थीहरूमाझ गरिने अन्तर्राष्ट्रिय मूल्याङ्कन ‘पिसा’मा निरन्तर उत्कृष्ट नतिजा ल्याइरहेको फिनल्यान्डको यस उपलब्धिको प्रमुख कारण त्यहाँ परीक्षा नहुनु नै भएको क्यूपिअनन् (२००९) बताउँछन् । फिन्ल्यान्डमा माध्यमिक तहको अन्त्यमा उच्च शिक्षा अध्ययनका लागि मात्र एउटा परीक्षा लिइन्छ । एउटा विद्यार्थीले आफ्नो जीवनको पहिलो शैक्षिक परीक्षा नै १७-१८ वर्षको भइसकेपछि मात्र दिन्छ ।

प्राथमिक वा माध्यमिक तहमा वार्षिक परीक्षा नभए तापनि अनेक मूल्याङ्कन भने भइरहेका हुन्छन् । यस्ता मूल्याङ्कन शिक्षकले निरन्तर गरिरहेका हुन्छन् र यसको उद्देश्य विद्यार्थीको गुणस्तर जाँच्ने, तौलिने, उनीहरूको वर्गीकरण गर्ने भन्दा पनि सिकाइ सुधारका लागि प्रयोग गरिन्छ । त्यहाँ अभ्यास गरिने मूल्याङ्कनका विधिहरू विद्यार्थीका लागि प्रेरक र सहयोगी हुन्छन् ।

प्राथमिक तहमा एउटा मानक मूल्याङ्कन भने हुनेगर्छ जसमा विद्यार्थीको सम्भावित सिकाइ असमर्थता अथवा विशेष सिकाइको आवश्यकता आदिबारे पहिचान गरिन्छ । गेमरम्यान (२००८)का अनुसार फिनिश स्कूलहरूले विद्यार्थीको वर्गीकरण भने गर्दैनन् । कसानेन्, रेटी र स्नेलम्याम (२००३)का अनुसार फिनल्यान्डको राष्ट्रिय पाठ्यक्रमले अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहन गर्छ र विद्यार्थीमाझ सहयोग र सहकार्यको भावना विकास गर्न मद्दत गर्छ ।

विद्यार्थीको मूल्याङ्कन हुँदै नहुने चाहिँ होइन । विद्यार्थीको शैक्षिक गतिविधिमा प्रदर्शन हेरेर विषय शिक्षकले नै मूल्याङ्कन गर्छन् र विद्यार्थीलाई सुझाव प्रदान गर्छन् । कुनै श्रेणी वा वर्ग भने छुट्याइँदैन । माध्यमिक तहको शिक्षा पूरा गरेपछि अर्थात् उच्चशिक्षा अध्ययन गर्नुभन्दा अगाडि लिइने म्याट्रिकुलेसन परीक्षा नै त्यहाँको पहिलो औपचारिक परीक्षा हो ।

ग्रब (२००७)ले फिनल्यान्डको शैक्षिक र परीक्षा प्रणाली संयुक्त राज्य अमेरिकाले अनुसरण गर्न नसक्ने केही कारणहरू प्रस्तुत गरेका थिए । नेपाल पनि विविधतायुक्त देश हो र फिनल्यान्डको जस्तो थोरै र समजातीय जनसङ्ख्या भएको देशमा सफल भएको प्रणाली दुरुस्तै लागु हुनुपर्छ भन्ने हुँदैन । हेन्ड्रिकसन (२०१२) ले बताएजस्तो फिनल्यान्डको शिक्षाले प्रगति गर्नुमा निशुल्क स्वास्थ्य सेवा, निशुल्क खाना, विद्यार्थीलाई परामर्श, सबैलाई निशुल्क उच्चशिक्षालगायतका अन्य नीतिले पनि भूमिका खेलेको हुनसक्छ, जुन नेपालजस्तो देशमा तत्कालको अवस्थामा असम्भव देखिन्छ ।

फिनल्यान्डको शिक्षाबाट सिक्नुपर्ने कुराचाहिँ त्यहाँको पाठ्यक्रमले शिक्षकहरूको लागि सहयोगी वातावरण निर्माण गर्ने उद्देश्य राख्छ, शिक्षकको व्यवसायिकता र विशेषज्ञताको विकासमा विशेष ध्यान दिन्छ, र विद्यार्थीको मूल्याङ्कनसम्बन्धी तथा कक्षाकोठामा आवश्यक अन्य निर्णय लिन स्वतन्त्रता र अधिकार प्रदान गर्छ ।

जस्ताको तस्तै त्यहाँको प्रणाली अनुसरण गरेर सफल हुने ग्यारेन्टी त छैन । नेपालको परीक्षा प्रणाली परिवर्तन गर्नुअघि देशको माटो सुहाउँदो अध्ययन र गम्भीर विश्लेषण गर्नु जरुरी हुन्छ । शैक्षिक निकाय, परीक्षा बोर्ड तथा विश्वविद्यालयहरूले अहिलेको परम्परागत परीक्षा प्रणाली पूर्णतः असफल हुनुको कारण के हो र यसको विकल्प के हुनसक्छ भन्नेबारे अध्ययन गर्न ढिला भइसकेको छ ।

परीक्षा प्रणालीमा व्यापक परिवर्तन र सुधार नआउन्जेल तत्कालका लागि केही प्रगतिशील उपाय अपनाउन पनि सकिन्छ । उदाहरणका लागि अहिले परीक्षामा निश्चित प्रश्नहरूको समूहबाट प्रश्न सोध्ने गरिन्छ । प्रश्नहरू हरेक वर्ष दोहोरिरहन्छन् र दुई वर्षअघि आएको प्रश्न त यसपालि शतप्रतिशत आउँछ भनेर विद्यार्थीहरू ठोकुवा गरिरहेका भेटिन्छन् । अर्को शब्दमा भन्दा नेपालको परीक्षामा प्रश्न पहिल्यै आउट भइसकेको हुन्छ, त्यसैको उत्तर रटेर गएमा राम्रो अङ्क आइहाल्छ । तत्कालका लागि यसमा सुधारकाे खाँचाे छ ।

परीक्षा बोर्डहरूले पूर्वनिर्धारित निश्चित समूहबाट मात्र प्रश्नहरू दिने चलनको अन्त्य गर्नुपर्छ । व्यावहारिक, सिर्जनशील युक्ति र तर्कको आवश्यकता हुने र समीक्षात्मक आधारमा उत्तर लेख्ने खालका प्रश्नहरू समावेश गर्नुपर्छ । कक्षाकोठामा शिक्षकले लेखाएको नोट रटेर गएर जस्ताको तस्तै लेख्दा पनि उत्तर मिल्ने खालका प्रश्नहरू विद्यार्थीका दुश्मन हुन् । विद्यार्थीले आफूसँग भएको ज्ञान र सिकेको कुरा उनीहरूको आफ्नै भाषा र शैलीमा प्रस्तुत गरेर उत्तर दिने खालका प्रश्नहरू तयार गर्नुपर्छ ।

तत्कालको लागि, शिक्षामा आमूल परिवर्तन आउनुअघि, सबै वैज्ञानिक मूल्याङ्कनका विधिहरू प्रयोगमा आउनुअघि यही प्रणालीलाई सुधार गर्दै लैजानु पनि आवश्यक हुनसक्छ । तर सबै मूल्याङ्कनको आधार ३ घण्टे परीक्षा मात्रचाहिँ हुनुहुँदैन । रिसर्च सिकाउने विषयको परीक्षामा रिसर्चमा विद्यार्थीको संलग्नता, प्रस्तुति आदिलाई हेरेर मूल्याङ्कन गर्नुपर्छ । विषय र प्रसङ्ग तथा विषयवस्तुको उद्देश्यलाई आधार मानेर निबन्ध, वादविवाद लगायतका गतिविधिमा विद्यार्थीको प्रस्तुतिलाई आधार मानेर पनि मूल्याङ्कन गर्न सकिन्छ ।

सन् २०११ मा दुई अमेरिकी समाजशास्त्री रिचर्ड एरम र जोसिपा रोक्साले गरेको अध्ययनमा दुई वर्षको कलेजको अध्ययनपछि ४५% विद्यार्थीमा ‘क्रिटिकल थिङ्किङ’सम्बन्धी सीपमा वृद्धिविकास नै नभएको देखिएको थियो । नेपालमा कुनै उल्लेख्य अध्ययन नभएतापनि सिकाइको मतलब नगरी विद्यार्थीमा भएको सूचनालाई जाँच्ने प्रणाली भइन्जेल ‘क्रिटिकल रिजनिङ स्किल्स’को विकासको अवस्था एरम र रोक्साको अध्ययनमा देखिए भन्दा खराब हुनेमा दुईमत छैन ।

सूचना भण्डारण र त्यसैको प्रस्तुतिलाई मूल्याङ्कनको आधार बनाउने कि सूचना प्रशोधन गरेर ज्ञान र सीपमा परिणत गर्ने क्षमता विकास गर्ने प्रणाली बसाउने, निर्णय गर्न ढिला भइसकेको छ । सिङ्गो वर्ष वा सेमेस्टरभरि राम्ररी पढ्ने, दुःख गर्ने, सिक्ने विद्यार्थी अन्तिम परीक्षाको एक हप्तामा केही वाधा आइपरे ‘असफल विद्याथी’मा गनिने प्रणाली कतिन्जेल स्वीकार गरिरहने हो ?

परीक्षामा विद्यार्थीले लेख्ने उत्तर र गर्ने प्रदर्शन परिस्थितिजन्य हुन्छ । उसको भविष्य र ज्ञानको मूल्याङ्कन ३ घण्टे लेखाइले हुन सक्दैन । परीक्षामा बिरामी भएमा उसको मूल्याङ्कन कसरी गर्ने ? केही विकल्प छैन । यो परीक्षा अनावश्यक त छ नै, त्यसका साथै यो प्रणाली परीक्षक र शैक्षिक निकायका करौँते प्रवृत्ति विद्यार्थीमाथि थोपरेर दुःख दिने माध्यमको रूपमा पनि विकास हुँदैछ । शिक्षा र पाठ्यक्रम सुधारको पहिलो कदम नै यस्ता परीक्षा सधैँका लागि खारेज गर्नु हो । शिलापत्रबाट