धनकुटा । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले खोल्नेमा ढुक्क रहन भन्दै उच्चस्तरीय समिति जरुरी नभएको बताएका छन् । अख्तियारसम्बन्धी ऐन कानुन बनाउन नेतृत्व गर्ने कांग्रेसले भ्रष्टाचारका फाइल खोल्न खुट्टा कमाउन नहुने उनले जोड दिए ।
कांग्रेस नीति तथा प्रशिक्षण शाखा धनकुटाले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले भ्रष्टाचार निर्मूल गर्ने कानुन बनाउने अनि भ्रष्टाचार गर्नेलाई नपक्रिने भन्ने नहुने बताए । ‘सम्पूर्ण भ्रष्टाचारको फाइल खोल्नु पर्छ,’ उनले भने, ‘जो–जो संलग्न छन्, सबैलाई जेलमा थुन्नुपर्छ ।’
भ्रष्टाचारको फाइल खोल्न सीआईबी हुँदाहुँदै उच्चस्तरीय समिति जरुरी नरहेको महामन्त्री शर्माले बताए । ‘नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण, दुई पूर्वप्रधानमन्त्रीलगायतलाई छानबिनको दायरामा ल्याउने सीआईबी हो,’ उनले भने, ‘कांग्रेसको कार्यकर्ता तहमा भ्रष्टाचार निर्मूल अभियानमा पार्टी लागेको छ भन्ने सन्देश जान जरुरी छ ।’
जनताका आवाज संसद्बाटै बोलिने भएकोले संसद् अवरुद्ध गर्न नहुनेमा पनि महामन्त्री शर्माको जोड छ । ‘जनताका आवाज टुँडिखेलमा बोल भनेको होइन,’ उनले भने, ‘संसद् अवरुद्ध गरेर आवाज बोलिँदैन ।’