बिर्तामोड । देशभर डेंगुको प्रभाव दिन प्रतिदिन बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि १३ हजार २९२ जनालाई डेंगुले बिरामी परेका छन् ।
स्वास्थ्य कार्यालय झापाको तथ्यांक अनुसार झापामा पनि डेंगुको अवस्था भयावह बन्दै गइरहेको छ । झापामा हालसम्म तीन हजार एक सय ७४ जनालाई परीक्षण गर्दा एक हजार ३३ जनामा डेंगु संक्रमित देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी चुडामणि लुइँटेलले जानकारी दिए । यसैगरी, हाल ६६ जना अस्पतालमा उपचाररत् रहेको उनले बताए ।
झापाका सबै पालिकामा डेंगुले प्रभाव पारिसकेको सूचना अधिकारी लुइँटेलले बताए । तर, जिल्ला स्वास्थ्य कार्यालयले भने अस्पतालहरुको आधारमा तथ्यांक संकलन गरेको छ । उनका अनुसार सबै झापाका पालिकाहरुका प्रमुख सरकारी अस्पतालका साथै केही संस्थागत अस्पतालहरुमा पनि डेंगु परीक्षण भइरहेको छ ।
आम्दा अस्पताल, दमक अस्पलात, दमक अस्पलात एन्ड रिसर्च सेन्टर, बिर्तामोड नगर अस्पताल, बुद्धशान्ति अस्पताल, गौरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र, हल्दिबारी आधारभूत अस्पताल, कनकाई अस्पताल प्रालि बिर्तामोड, कनकाई नगर अस्पताल, कोशी प्रादेशिक अस्पताल, निम्स अस्पताल प्रालि, ओम मेची अस्पताल प्रालि, ओमसाई पाथिभरा अस्पताल प्रालि भद्रपुर, शनिश्चरे अस्पताल, बनियानी प्राथमिक अस्पताल, शिवगञ्ज प्राथमिक अस्पताल, धुलाबारी प्राथमिक अस्पताल, लाइफलाइन अस्पताल दमकका साथै अन्य अस्पतालहरुले पनि झापामा डेंगी परीक्षण गरिरहेका छन् ।
डेंगुको संक्रमण सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ । कोशीमा १० हजार १८२ जना यसबाट संक्रमित भएका छन् । यस्तै, बागमती प्रदेशमा एक हजार ७९३, गण्डकीमा ५१०, सुदूरपश्चिममा ४१७, लुम्बिनीमा २६३, मधेसमा ९२ र कणर्ाली प्रदेशमा ३६ जनामा डेंगुको संक्रमण देखिएको महाखाले जनाएको छ । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेरमात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेंगुको संक्रमण बढिरहेको बताए । उनले दैनिक संक्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह समेत गरेका छन् ।
उनले भने, ‘दैनिक डेंगीको संक्रमण बढिरहेकाले सरसफाइसहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनुपर्दछ । डेंगी संक्रमण भदौ र असोजमा उच्च हुने जोखिम छ ।’ डेंगी संक्रमणबाट हालसम्म देशभर १० जनाको मृत्यु भइसकेको महाशाखाको तथ्यांकले देखाउँछ । नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको संक्रमण देखिएको थियो । सन् २०२२ मा ५४ हजार ७८४ जना डेंगुबाट संक्रमित भएका थिए भने यसबाट ८८ जनाको मृत्यु भएको थियो ।