अहिले शहर बनिसकेका तराईका अधिकांश स्थानहरू पहिले जङ्गलले ढाकिएका थिए । नेपालको तराई क्षेत्रमा पर्ने पूर्वदेखि पश्चिमसम्मका सबैजसो स्थानमा जङ्गल नै थियो । राणा शासनसम्म पनि तराईका अधिकांश क्षेत्रमा ठूला बस्ती थिएनन् । प्रायः मानिसहरू पहाडतिर बस्थे । पहाडतिर बेलाबेला हुने हिंसात्मक घटना, बाढीपहिरो, बाघभालुको डर र व्यक्तिगत असुरक्षालगायतका कारणले उनीहरू बिस्तारै तराईतिर झर्ने चलन बढ्दै गयो ।
त्यो समय नेपालमा औलोको प्रकोप व्यापक थियो । नेपालको तराई क्षेत्रमा औलो उन्मूलन कार्यक्रम लागू हुनुपूर्व पूर्वी पहाडी क्षेत्रका साहु–महाजनहरू तराईका व्यापारिक नाकाहरूमा गएर व्यापार–व्यवसाय गर्ने गर्थे । वर्षा लागेपछि औलो, कालाज्वर, कलेराजस्ता रोगको प्रकोपले फेरि पहाडतर्फ उक्लन्थे ।
त्यो बेला राणा शासन, दरबारका भारदार र आसेपासेहरूले आफ्ना मान्छेहरूमार्फत वनजङ्गल फाँड्न लगाउने कार्य गर्न थालियो । जिम्दार, डिट्ठा, बैदार, विचारी, सुवेदारहरूमार्फत जङ्गल कब्जा गराएर काठ निकाल्ने र बिक्री गरेर आम्दानी खाने चलन चलाइयो । धेरै पछिसम्म नेपालको वन जागिरे, बिर्तावाल, राणा, दरबार, प्रशासक, सैनिकका उच्च अधिकारी र राजनीतिक ओहदाका मानिसहरूले निजी रूपमा उपभोग गरेका प्रशस्त उदाहरण छन् ।
पूर्वी नेपालको झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा परम्परागत रूपमा बसोबास गर्दै आएका केही आदिवासी समुदायका मानिसहरूबाहेक अधिकांश औलो, बिफरजस्ता घातक रोगको उन्मूलन हुँदै गएपछि र सरकारले त्यसरी वनजङ्गल फँडानी गर्न छुट दिएपछि आएका हुन् । औलो उन्मूलन र मानिसहरूको आवागमन सुरु भएपछि पहाडतिरबाट र पूर्वी भारततिरबाट यता आउने क्रम बढेको हो ।
तत्कालीन समयमा झापा र मोरङ जङ्गलैजङ्गलले भरिएको ठाउँ थियो । जसले गर्दा चोरीडकैतीको भय व्यापक थियो । यी क्षेत्रमा भयङ्कर औलोको प्रकोप थियो । यमद्वार पुगेपछि झापा पुगिन्छ । त्यहाँ प्रवेश गर्ने व्यक्तिको हातमा एक रुपैयाँ छ भने उसलाई जीवनभर खान मात्र होइन, मरेपछि काजकिरिया गर्न खर्च पनि पुग्छ भन्ने भनाइ थियो रे ! त्यो बेला झापालाई कालको घान पनि भनिन्थ्यो ।
०००
राणा शासनकालदेखि नै यो वस्ती अस्तित्वमा रहेको पाइन्छ । राणा शासनकाल (१९९३ देखि २००७ सालसम्म) मा झापाको काठमाल तथा बिर्तामालको लप्टनी र हाकिमीको पदमा रहेका भूपालमानसिंह कार्कीको नामसँग यसको सम्बन्ध देखिन्छ ।
यो बेला उनका कर्मचारीहरूले यहाँबाट कर उठाउने गरेका थिए । स्थानीय काठमालको काठ बिक्री र बिर्तामालको जग्गामा जिम्दारी, पटवारी र रैतीको व्यवस्था गरी आवाद गुलजार तुल्याउने काम उनले गरेको पाइन्छ । यो क्षेत्र श्री ३ चन्द्रशमशेरका बडामहारानी र उनका सन्तानहरूको बिर्ता भएका कारण यस ठाउँलाई अनारमनी बिर्ता भन्न थालिएको इतिहास छ ।
चन्द्रशमशेर, वीरशमशेर र जुद्धशमशेरका परिवारसँग मात्रै बिर्ताका रूपमा ३ लाख ६३ हजार बिघाभन्दा धेरै जग्गा थियो भनिन्छ । त्यसबेला दरबारका आसेपासे, राजगुरु, जसले शासकलाई खुसी बनाउन सक्थे, उनीहरूले धेरै जमिन बिर्ताका रूपमा पाउने गरेका थिए ।
अनारमनीमा रहेका बिर्ता जग्गा र जङ्गलका काठको व्यवस्थापनसम्बन्धी कार्यका अतिरिक्त आवश्यकताअनुसारका काम झापा गोश्वारामातहतमा हुने गर्थ्यो । बिर्ताबजारको पनि छुट्टै इतिहास छ । नेपाली भाषामा बिर्ताको अर्थ हुन्छ पेवा । यो क्षेत्र कसैलाई गरिखान पेवाका रूपमा दिइएको वा बहादुरी देखाएबापत उपहारका रूपमा प्राप्त गरेको तिरो तिर्नु नपर्ने जग्गा भएका कारण यो ठाउँको नाम बिर्ता रहन गएको हो पनि भनिन्छ ।
१९९३ देखि २००७ सालको मध्यसम्मको झण्डै १४ वर्षको समयावधिबीच काठमाडौंको सानो अवधिको काज जागिरकाल कटाएरै पनि निकै लामो अवधिसम्म झापामा रहँदा उनले एकातर्फ पैतृक र स्व–आर्जित आफ्नो जग्गाजमिनमा खेती र व्यापार–उद्योगका माध्यमबाट सुदृढ आर्थिक धरातलको रचना गरेको भूपालमानसिंह स्वयम्ले उल्लेख गरेका छन् ।
बिर्ताबजार राणा शासनको जिल्लाकै प्रशासनिक केन्द्र थियो । बिर्ताबजारमा प्रहरी चौकी, माल अड्डा, कचहरी र भूमिसुधारका जिल्ला कार्यालय थिए । त्यो समयमा एउटा गोलघरसमेत बनाइएको थियो, जहाँबाट प्रशासन चलेको थियो । त्यहाँ एउटा पुरानो इनार र ठूलो रुख पनि थियो रे ! त्यो अहिले छैन, मासिएको छ । पछि भूपालमानसिंहका छोरानातिहरूले यहाँको सम्पूर्ण जग्गा बिक्री गरेपछि अहिले त्यो प्रशासनिक केन्द्र भएको ठाउँ घना बस्तीमा रूपान्तरण भएको छ ।
०००
भारतको दार्जिलिङदेखि गलगलियाहुँदै विभिन्न ठाउँमा रेलमार्ग बनाउन थालिएपछि चन्द्रशमशेरले इस्ट इन्डिया कम्पनीसँग यताको जङ्गलबाट सालको काठ भारतलाई दिने सम्झौता गरेपछि उनका छोरा बबरशमशेरले इलामको पाटापुरदेखि जलथलसम्मको जङ्गल फँडानी गर्न लगाएका थिए । त्यही समयमा अहिलेको बिर्तामोड क्षेत्रमा काठको कारोबार गर्ने जिम्मा चन्द्रशमशेरका अर्का छोरा मोहनशमशेरलाई दिइएको थियो ।
बिर्तामोडको विकासक्रम र ऐतिहासिक तथ्यलाई केलाउँदा यस्तै देखिन्छ । यातायातका साधनको सहज उपलब्धता र जङ्गल फँडानीसँगै बसोबासको सहजताले यो ठाउँलाई अगाडि बढाउँदै लगेको देखिन्छ । अनि बिस्तारै अन्यत्रबाट यहाँ बसोबास गर्न आउनेहरूले भरिँदै गएपछि यो ठाउँ चर्चित बन्दै गएको देखिन्छ ।
२०४६ सालको परिवर्तनका लागि यो भूगोलले धेरै रगत बगाएको छ । पञ्चायती व्यवस्थाविरुद्धका संघर्षहरूमा यसअघिका जस्तै संलग्नता यो क्षेत्रको रह्यो । त्यो बेला बिर्तामोडकेन्द्रित सभा, सम्मेलन र आन्दोलन हुने गरेका थिए ।
यस समयमा भद्रपुर निकै चल्तीको ठाउँ थियो । झापाको सदरमुकाम भइसकेका कारण धेरैजसो सेवा र सुविधा भद्रपुरमै थियो । तर, बिस्तारै भद्रपुरले आफ्नो चमक गुमाउँदै गएपछि धेरै व्यापारीहरूले बिर्तामोडलाई कर्मथलो बनाएको पाइन्छ । त्यस्तै, इलामतिरबाट आएर धेरै मानिसहरूले बिर्तामोडलाई बसोबासको थलो बनाउँदै लगेको पाइन्छ ।
त्यो समयमा भद्रपुरबाट भारत जाने गलगलिया नाका निकै चर्चित थियो । अहिलेको जस्तो काँकरभिट्टाबाट भारततिर सहज रूपमा जानेआउने बाटो थिएन । जब भद्रपुरबाट महेन्द्र राजमार्ग नबन्ने भयो, तब व्यापारिक समुदायले बिर्तामोडलाई कर्मथलो बनाएको देखिन्छ । त्यतिबेला भद्रपुरबाट केही व्यापारी धुलाबारीतिर पनि सरेको पाइन्छ ।
खासगरेर व्यापार–व्यवसाय गर्ने मानिसहरूले यो ठाउँमा बाहिरबाट आएर बस्न लायक बनाएको तथ्य भेटिन्छ । ५० वर्षअगाडिसम्म बिर्तामोड अस्तित्वमा थिएन । त्यो बेला बरु भद्रपुर, शनिश्चरे, हँडिया बुधबारे, घैलाडुब्बाजस्ता बजारहरू प्रख्यात थिए । त्यसपछि मात्र अनारमनीको नाम आउँथ्यो । पुरानो आवतजावत गर्ने सडक, व्यापार गर्ने थलोका आधारमा ती स्थान अगाडि थिए । त्यो बेला सुर्ती, पाटालगायत लत्ताकपडा र खाद्यान्नका सामानका लागि ती बजारहरू चलेका थिए ।
राणा शासनको पालादेखि नै शासन प्रशासन गर्ने ठाउँका हिसाबले बरु हालको झापा बजारको नाम चलेको थियो । त्यो बेला झापाको सदरमुकाम त्यहीँ थियो । त्यो ठाउँलाई पछिसम्म टाघनडुब्बा भनिन्थ्यो । अहिले पुरानै नामकरण गरेर झापा गाउँ पालिका बनाइएको छ ।
अहिलेको महेन्द्र राजमार्ग बन्ने समयमा त्यसलाई अहिलेभन्दा केही उत्तरतिर शनिश्चरे बजार दक्षिणतिर बनाउने योजना थियो । त्यतिबेला धान खेत हुने जग्गा राजमार्गमा पर्ने र भोकमरी लाग्ने डरले विरोध भएपछि अहिलेको ठाउँमा ल्याइएको हो ।
०००
मुलुकको राजनीतिक इतिहासमा समय–समयमा हुने आन्दोलन र परिवर्तनमा झापा जिल्लाको विशेष योगदान रहने गरेको छ । त्यसमा पनि झापा जिल्लाको राजनीतिक केन्द्रको रूपमा रहेको बिर्तामोडले धेरैजसो आन्दोलन र परिवर्तनका लागि नेतृत्व प्रदान गरेको छ ।
बिर्तामोडमा प्रायःजसो सबै पार्टीका जिल्ला कार्यालय रहेका छन् । र, हरेक राजनीतिक आन्दोलनका क्रममा यहाँबाट नै विद्रोहको विगुल फुकिएको भेटिन्छ । त्यस प्रकारका आन्दोलन र संघर्षमा जिल्लाका राजनीतिक दलहरूले नेतृत्व गरेको पाइन्छ ।
पछिल्लो क्रान्तिकालको समय, २०६२/६३ सालमा गरिएको राजतन्त्रविरुद्धको संघर्ष होस् या माओवादी जनयुद्ध, ती सबैखाले राजनीतिक आन्दोलनमा झापाले विशेष भूमिका खेलेको छ । अझ बिर्तामोडकै केन्द्र भागमा रहने हरेक राजनीतिक क्रियाकलापले यो क्षेत्रलाई चिनाउन मद्दत गरेको छ । पञ्चायतविरुद्ध भूमिगत रूपमा तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेस (प्रनेका)ले चलाउने राजनीतिक अभियानदेखि २०२८/०२९ सालमा कम्युनिस्ट पार्टीका नाममा गरिएका एक्सनहरू हुन्, ती घटनाहरूमा पनि यो क्षेत्रको नाम अगाडि नै आउँछ ।
आजसम्मका राजनीतिक आन्दोलन र परिवर्तनका लागि भएका संघर्षका घटनाक्रमहरूलाई नियाल्ने हो भने प्रारम्भमा मूलतः राणा शासनविरुद्ध चालिएका कदमहरूबाट सुरु गर्नुपर्ने हुन्छ ।
२००७ सालको परिवर्तनका लागि तत्कालीन समयमा कांग्रेसले थालेको विद्रोह होस् वा नरेन्द्रनाथ बाँस्तोला, भैरवप्रसाद आचार्य, भैरवबहादुर श्रेष्ठहरूले गठन गरेको मुक्ति सेनाले पूर्वमा गरेका विभिन्न एक्सनहरू हुन् वा अरु राजनीतिक क्रियाकलापहरू, ती यसै परिधिवरपर भएका थिए, जहाँबाट यहाँको राजनीतिक आन्दोलनको जग बसेको मान्नुपर्ने हुन्छ ।
स्ववियु गठनको विषयमा २०२७ साल फागुन २८ गते बिर्ता हाईस्कुलको विद्यार्थी सम्मेलनविरुद्धको हस्तक्षेपका क्रममा सीपी मैनालीसहित एक दर्जन विद्यार्थी गिरफ्तारीमा परेका थिए । त्यसैबेला चर्केको विद्यार्थी आन्दोलन र चारपाने, घैलाडुब्बा, भुँडेसिमल, सुरुङ्गाजस्ता क्षेत्रमा भएका किसान विद्रोहले आन्दोलनको जग खडा गरेको थियो ।
नेपालको इतिहासमा झापा विद्रोह भनेर चिनिने २०२८/०२९ सालको काण्डको सुरुवात शनिश्चरेमा भएको भए पनि त्यसको बाछिटा हालको बिर्तामोडसम्म आइपुगेको थियो । खास गरेर २०२९ साल फागुन २१ गते सुखानीमा हत्या गरिएका पाँच शहीदहरू– रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठमध्ये रामनाथ दाहाल, नेत्र घिमिरे र कृष्ण कुइँकेल बिर्तामोडके बासिन्दा हुन् । साथै, त्यो विद्रोहमा संलग्न भएर लामो समयसम्म जेलजीवन बिताउने र निर्वासित जीवन व्यतित गर्नेहरू पनि धेरै जना बिर्तामोडकै छन् ।
२०३६ सालमा जनमतसंग्रहको माग गर्दै गरिएका आन्दोलनहरूमा यस क्षेत्रको पनि सक्रिय सहभागिता थियो । वरिष्ठ अधिवक्ता लीला उदासीका अनुसार २०३६ साल साउन ५ गते मनमोहन अधिकारीको उपस्थितिमा बिर्तामोडमा सभा गरिएको थियो । त्यो सभाले निकै हलचल मच्चाएको थियो ।
उता त्यही समयमा शनिश्चरेतिरका तत्कालीन युवाहरू लिलक सिटौला, वीरमणि ढकाललगायतको समूहले पञ्चायतविरुद्ध आवाज बुलन्द गरिरहेका थिए । २०३६ साल वैशाख १ गते तत्कालीन राजा वीरेन्द्रले जनमतसंग्रह घोषणा गर्दै राजबन्दीलाई आममाफीको ऐलान गरेपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा उमेश गिरी, दुर्गा सुवेदी, विजय गच्छेदारहरूले वैशाख ९ गते गरेको ऐतिहासिक प्लेन हाइज्याकमा चक्र बाँस्तोला पनि संलग्न थिए । चक्र बाँस्तोला नेपाली कांग्रेसको उच्च तहको नेतृत्वमा पुगेका व्यक्ति हुन् । उनी कांग्रेसभित्र वैचारिक नेताको रूपमा चिनिन्थे ।
२०४६ सालको परिवर्तनका लागि यो भूगोलले धेरै रगत बगाएको छ । पञ्चायती व्यवस्थाविरुद्धका संघर्षहरूमा यसअघिका जस्तै संलग्नता यो क्षेत्रको रह्यो । त्यो बेला बिर्तामोडकेन्द्रित सभा, सम्मेलन र आन्दोलन हुने गरेका थिए ।
मूलतः त्यो बेला बहुदलीय व्यवस्था स्थापनार्थ झापामै हुने गरेका आन्दोलनको नेतृत्व तत्कालीन संयुक्त जनआन्दोलन संयोजन समितिको तर्फबाट गरिएका थिए । यहाँ हुने हरेक दिनका आन्दोलनमा कांग्रेस नेता रामबाबु प्रसाईं, वामपन्थी नेताहरू द्रोणाचार्य क्षेत्री, लीला उदासी, भवानी घिमिरेहरूले नेतृत्व गरेका थिए । त्यस समयमा बिर्तामोडमा हुने आन्दोलनमा कांग्रेसका पुराना नेता टुङ्गबहादुर बस्नेतको महत्त्वपूर्ण योगदान थियो ।
२०४६ फागुन ७ गतेबाट देशव्यापी बनेको आन्दोलनका क्रममा जब चैत १४ गते मेची क्याम्पसमा विद्यार्थी राम थापाको छुरी हानेर हत्या भयो, यस घटनाले सेलाउन लागेको जनआन्दोलन झापालगायत देशैभरि झन् चर्कियो । बिर्तामोड निवासी राम थापाको हत्या भएपछि यो क्षेत्रमा ठूलाठूला आन्दोलनहरू भए, जसमा धेरैको सहभागिता थियो । अन्ततः चैत २६ गते पञ्चायत ढल्यो । तर, बिर्तामोडले होनहार युवा राम थापालाई गुमायो । शिलापत्रबाट
पत्रकार तीर्थ सिग्देलको बिर्तामोडः उद्भव र विकास पुस्तक अंश ।