
१९ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसदको भएको भन्दै अविलम्व संसद सञ्चालन हुनुपर्ने बताए ।

छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने उनले बताए ।
नेपाली कांग्रेसले भ्रष्टाचारको वर्ग, जाति, धर्म, सम्प्रदाय केही पनि नहुने र भ्रष्टाचार केवल भ्रष्टाचार हुने भन्दै कुनै मोलाहिजा नराखीकन सरकारले छानबिन गर्नु पर्ने ठहर गरेको उनले सुनाए ।
विमानस्थलबाट सरकारको कमजोरीका कारण सुन तस्करी भएको भन्दै सिनामंगल चोकमा सरकारले नै सुन समातेको उनले बताए ।